Wednesday, February 1, 2017

माछा, जाँड र रुद्र खरेल - मातृका पोखरेल


२०४५ सालतिरको कुरा हो । भरखरै मात्र म तत्कालीन  रत्नराज्य कलेजमा बि.ए. पढ्न भर्ना भएको थिएँ । पढाई भन्दा राजनीति नै बढी प्राथमिकतामा थियो । सायद, दुधकाण्डको आन्दोलन चलिरहेको बेला थियो । त्यसै विषयलाई लिएर म लगायत दुई तिन जना साथीहरु मिलेर ल क्याम्पसमा पोस्टर टाँस्नु थियो । हिउँदको समय जस्तो लाग्छ । भरर्खरै मात्र भुईमा विहानको उज्यालो खस्न लाग्दै  थियो । हामी साथीहरु बाँडिएर पोष्टर टाँस्न हिड्यौ । म पोष्टर टाँस्दै ल क्याम्पसको चमेनागृह भित्र पसें । एउटा पोष्टर चमेनागृह भित्रै टाँस्न पनि । टेबुलमा बसेर दुई तीन जना मान्छेहरु चियाँ खाइरहनु भएको थियो । मैले टाँसेको पोष्टर हेर्न त्यही बसेर चिया खाने मध्ये एकजना उठेर आउनु भयो र पोष्टर हेर्नुभयो र फिसिक्क हाँस्नुभयो । ‘लु आउनुस् भाई चिया खाउँ ।” काठमाडौं भित्रिएपछि अपरिचित मान्छेले चिया खान बोलाएको यो पहिलो पटक थियो । एक कप चिया फोगटमा प्राप्त हुनु मेरा लागि ठुलै संयोग थियो त्यसबेला । चिया खाँदाखाँदै उहाँले फेरी सोध्नुभयो । “यहाँ यी बहिनीले मिठो सेल पकाउँछिन । ल भाई सेल पनि खानुहोस् ।” मेरो स्वीकृति लिन आवश्यक नठान्दै उहाँले सेलरोटी मगाई दिनुभयो । 
उहाँले मगाई दिएको चिया खाजा खाएँ र उहाँले मागे जसरी आफ्नो परिचय दिएँ ।  
एउटा अचम्मको मान्छेसँग भेट भयो ल क्याम्पसको चमेनागृहबाट बाहिरिदै गर्दा अरु कोठाबाट पोष्टर टाँसेर, फर्किएमा सहयात्री साथीहरुलाई भनेको थिएँ मैले ।
'मलाई अगि चिया खाजा ख्वाउने मान्छे ऊ उहाँ नै हो ।' पोष्टरहरु टाँसिसकेर ल क्याम्पसको प्राङ्गणमा छलफल गर्दा गर्दै उहाँ बाहिर निस्केको बेला मैले साथीहरुलाई देखाउको थिएँ ।
'उहाँ त यो कलेजको प्राध्यापक रुद्र खरेल हो । उहाँ साहित्यकार पनि हो ।' कुनै एक जना साथीले उहाँको बारेमा भन्नुभयो ।

साहित्यकार रुद्र खरेलसँग मेरो पहिलो भेट यसरी भएको थियो । त्यसपछि उहाँको मृत्युपर्यन्त म उहाँसँग कुनै न कुनै हिसावले  निकट रहन पुगें ।

हामी सिकारुहरुका लागि त्यसवेला साहित्य सन्ध्या एउटा महत्वपूर्ण मञ्च थियो । आफ्ना रचना सुनाउन कहिले साहित्य सन्ध्या आउला भनेर पर्खनुपर्ने अवस्था थियो । साहित्यकार रुद्र खरेलसँग साहित्य सन्ध्यामा निरन्तर भेट हुन थाल्यो । साथी राजेन्द्र अधिकारी र म साहित्य सन्ध्यामा निरन्तर जान्थ्यौं । त्यसबेला  राजेन्द्र अधिकारी आर . वस्तिको नामबाट कविता लेख्नु हुन्थ्यो । हामी तत्कालिन ने.क.पा. चौथो महाधिवेशनको बिध्यार्थी  संगठन अनेरास्ववियु मा संगठिन थियौ । ०४५ साल तिरकै कुरा हो भरखरै मात्र हामी दुबैले  तत्कालिन ने.क.पा. (चौ.म.) का नेता श्याम श्रेष्ठ मार्फत कम्युनिष्ट पार्टीको सदस्यता पाएका थियौं । म अनेरास्ववियु काठमाण्डौ जिल्ला समितिको अध्यक्ष थिए । साहित्यिक सन्ध्याको कार्यक्रम सकेर बाहिर निस्कदा हाम्रो बीचमा एउटा सूचना आइपुग्यो । अर्को महिना देखि माओ विचार पक्षीय साहित्यकारहरुले महिनाको तस्रो शनिवार प्रतिभा प्रवाह नामको कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । यो सूचना दिने मान्छे पनि रुद्र खरेल हुनुहुन्थ्यो । हामी समवयका साथीहरुले त्यसबेला बुझ्यौ कि  विभिन्न कित्तामा छरिएको वामपन्थी आन्दोलनमा उहाँ हाम्रै कित्तामा हुनुहुँदो रहेछ ।

एकातिर उहाँसँग हाम्रो भेट हुने ठाँउ साहित्य सन्ध्या त हुँदै थियो भने अर्को पनि थपियो प्रतिभा प्रवाह । हामी सिकारु कविहरुका लागि अर्को खुसीको कुरो थियो प्रतिभा प्रवाहको सञ्चालन । रुद्र खरेल प्रतिभा प्रवाहमा कुनै न कुनै भूमिकामा उपस्थित हुनुहुन्थ्यो र हामीलाई कविता सुनाउन उत्प्रेरित गर्नुहुन्थ्यो ।
०४८ साल देखि मैले रुद्र सरसँग वेदना साहित्यिक त्रैमासिकको सम्पादन मण्डलमा रहेर काम गर्ने अवसर पाँए । त्यो सम्पादन मण्डलमा निनु चापागाँई प्रधान सम्पादक हुनुहुन्थ्यो भने सम्पादकहरुमा रुद्र खरेल, खगेन्द्र संग्रौला, हरिगोविन्द लुइटेल र म थियौं । जिम्मेवारी लिएको काम दत्तचित्तका साथ गर्ने उहाँको बानी थियो । वेदना पत्रिकालाई स्तरीय बनाृन उहाँको ठूलो भूमिका थियो । राजनैतिक पीडित वापत राजयले दिएको केही नगद रकमको ठूलो हिस्सा पनि उहाँले वेदना पत्रिकामा हालेर आफ्नो उदार हृदय देखाउनु भयो । त्यसबेला सम्म म उहाँको करिवकरिव परिवारको सदस्य जस्तै भइसकेको थिएँ । उहाँ त्यसबेला कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहनु भएको थियो । कोटेश्वरमा घर बनाउदै हुनुहुन्थ्यो तर आर्थिक समस्याले उहाँ ग्रान्त हुनु हुन्थ्यो । यस्तो अवस्थामा पनि वेदना लाई सहयोग गर्नु सामान्य घटना छँदै थिएन । वेदना लाई आर्थिक देखि स्तरीय रचना खोज्ने सम्मको काममा उहाँको अग्रणी भूमिका थियो । उहाँसंगको निकट सङ्गतले पत्रिकालाई स्तरीय बनाउने र अन्य सम्पादन कला मनग्य सिक्न पाएको मैले बारम्बार महशुस गरेको छु । जिम्मा लिएको काममा उहाँ प्रतिवद्ध भएर लाग्नुहुन्थ्यो । वेदना पत्रिकाको प्रसङ्गमा उहाँसँग मेरो एउटा रोचक घटना छ । हामीले २०५२ सालतिर वेदनामा वीरगञ्ज चिनी कारखानाको एउटा विज्ञापन छाप्यौं । चिनी कारखानाले रक्सी उत्पादन गर्छ र भुक्तानी बापत हामीलाई रक्सी नै दिन्छ भन्ने कुरा हामीलाई थाहा थिएन । पत्रिकामा विज्ञापन प्रकाशन गरेपछि हामी बिल लिएर कारखानाको कार्यालय पुग्यौं । वीरगञ्ज चिनी कारखानाको अध्यक्षमा त्यसबेला बलराम बाँसकोटा हुनुहुन्थ्यो । बलरामजीको सदासयताकै कारण हामीले त्यो विज्ञापन छापेका थियौं । विज्ञापन वापत हामीलाई पाँचसय रुपैया बराबरको तीन चार बोतल रक्सी दिइयो । रुद्र सर र म जिल्लाराम पèयौं । रक्सी बाकेर हिड्न शिवाय हामीसँग अर्को विकल्प पनि थिएन ।
'कुनै पसलमा गएर यो रक्सी बेचौं भाई '! रुद्र सरले उपाय सुझाउनु भयो । 
त्यतिबेला वीरगञ्ज चिनी कारखानाको काठमाण्डौ कार्यालय बालुवाटारमा थियो । हामी केही पसलमा रक्सी लिएर घुम्यौं । हामीलाई दिइएको मूल्यमा कसैले रक्सी लिन चाहेनन् । कति पसलले त हामीलाई शंकाका दृष्टिले हेरे । 
'माइतीघरमा मैले चिनेको एउटा भट्टी पसल छ । त्यही गएर दिउँ ।' केही पसल चहाँरे पछि उहाँले अर्को उपाय सुझाउनु भयो ।
हामी रक्सीका बोतल झुण्डयाउँदै माइतीघर आइपुग्यौं । भाषा सम्पादकको रुपमा रुद्र सर नेपाल बार एशोसियशनमा काम गर्दा एउटा चिया खाने पसलसँग राम्रो चिनजान भएको रहेछ । त्यो चियापसल विस्तारै भट्टी पसलमा रुपान्तरित भएछ । हामी त्यहाँ पुग्दा घाम डुब्न लागि सकेको थियो । पसलभित्र हामी के छिरेका मात्र थियौं तीन चार जना मानिसहरु हड्बढाउदै उठ्न खोजे । रुद्र सरको ध्यान त्यता पुगेकै थिएन । मेरो मात्र त्यो दृश्यतिर ध्यान थियो । रुद्र सरले ख्याल नगर्दानगर्दै उनीहरुले आ–आफ्नो टेबलको गिलास, वियर रक्सीमा बोतलहरु टेबुल मुन्तिर लुकाए । त्यसपछि मात्र उनीहरुले भरखर देखेझैं गर्दै रुद्र सरलाई अभिवादन गरे । ती सवै रुद्र सरका बिध्यार्थी  रहेछन् । रुद्र सरले पसलवालालाई बोलाउनु भयो र रक्सी किनिदिन आग्रह  गर्नुभयो । उनिहरू  अचम्म मानेर मुखामुख गरिरहेका थिए । पसलवालाले त्यो रक्सी किनिदिने भयो । रुद्र सरका बिध्यार्थीहरुले के सोचेछन् भने उहाँ पनि रक्सी खानुहुने रहेछ । हामी पनि गएर उनीहरकै छेउमा बस्यौं । हामी बस्दाबस्दै उनीहरुले वरपर राखेका रक्सीमा गिलास र बोतलहरु निकाल्न थाले । त्यहाँ मध्येकै एउटाले दुईवटा ग्लास मगायो र हाम्रा अघिल्तिर रक्सी हालेर राखिदियो ।

'ओहो ! भाइ हामी यो जिनिस् खादिनौं त !' रुद्र सरले वरिपरिका गिलासहरु तिर नियाल्दै भन्नुभयो ।
'सरले रक्सी बेच्दै आए पछि हामीले पनि खानुहुँदो रहेछ भनेर सोच्यौं ।' रुद्र सरको अर्को बिध्यार्थीले अफ्ट्यारो मान्दै भन्यो ।
'लौ भाइहरुले अफ्ट्यारो नमानी खाँदा हुन्छ ।' उनीहरुको अफ्ट्यारोलाई  उहाँले बुझ्नु भयो र रक्सी बेच्न ल्याउनु परेको यथार्थलाई राखिदिनु भयो ।
हामीले एकएक कप चिया खाएर उनीहरुलाई एकएक वटा 'वेदना' दिएर हिड्यौं । 'वेदना' पत्रिकालाई अघि बढाउन रुद्र सर लाग्नु भएको थियो भन्ने एउटा सन्दर्भित घटना मात्र मैले यहाँ राखेको हुँ ।

२०५१/५२ साल पछि उहाँसँग धेरै संगठनमा सँगसँगै एउटै कमिटिमा बस्ने अवसर मलाई जुèयो । इन्द्रेणी सांस्कृतिक समाज, प्रगतिशील सांस्कृतिक संगठन, प्रगतिशील लेखक संघ, प्रतिगमन विरोधी स्रष्टाहरुको संयुक्त समिति, लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्च लगायतका संगठनमा म उहाँसँगै रहन अवसर पाएको छु । सबै  संगठनमा उहाँ केही पृथक भूमिका निर्वाह गर्न चाहनुहुन्थ्यो । अलिक बढीनै मध्यस्थ भूमिका निर्वाह गर्न चाहने व्यक्तिको रुपमा मैले उहाँलाई बुझेको छु ।
२०५१ सालमा इन्द्रेणी सांस्कृतिक समाजको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । त्यो सम्मेलनले निनु चापागाईको अध्यक्षतामा एउटा कार्यसमिति निर्माण गर्यो  । त्यस सम्मेलनबाट  रुद्र सर उपाध्यक्ष र म कोषाध्यक्षमा छानिएँ  । इन्द्रेणी सांस्कृतिक समाज तत्कालिन ने.क.पा. (एकता केन्द्र) को सांस्कृतिक मोर्चा भए पनि छरिएर रहेका र स्वतन्त्र जनसांस्कृतिक कर्मीहरुलाई पनि सकेसम्म सँगै लिएर जाने नीति बन्यो । त्यही नीति अन्र्तगत खगेन्द्र संग्रौला र गोविन्द वर्तमान पनि त्यहाँ रहनुभयो । एकताकेन्द्र छाडेपछि श्याम श्रेष्ठहरुले समाजवादी आन्दोलन नेपाल नामको एउटा सङ्गठन चलाउनु हुन्थ्यो । कम्युनिष्ट आन्दोलनलाई सांस्कृतिक मूल्यका आधारमा हेर्ने प्रयत्न उहाँहरु गर्नुहुन्थ्यो । इसासको त्यो कार्यसमितिमा समाजवादी आन्दोलन नेपालसँग सम्वन्धित साथीहरु हुनुहुन्थ्यो । कहिलेकाँही एकताकेन्द्रको पार्टी निर्णयहरु कार्यान्वयन गर्न खोज्दा त्यहाँभित्र एउटा अन्तरविरोध देखा पर्थ्यो  । मूलतः त्यो अन्र्तरविरोध एकता केन्द्रसँग सम्वन्धित सांस्कृतिक कर्मीहरु र समाजवादी आन्दोलन नेपालका सांस्कृतिककर्मीहरुका बीच चल्ने गर्थ्यो  । इसासका वैठकहरुमा गरमागरम बहस र छलफल हुन्थ्यो । त्यसबेला रुद्र सर भरसक मध्यमार्गी बाटो खोज्ने  प्रयत्न गर्नुहुन्थ्यो  । तर कैयौं विषयहरु यस्ता थिए, उहाँले एकातिर उभिनै पर्थ्यो  । अन्ततः उहाँ  एकातिर उभिनु हुन्थ्यो । त्यसरी एकातिर उभिनुपर्दा उहाँले महशुस गरेको पीडा घर फर्किदा बाटोमा मलाई सुनाउनुहुन्थ्यो ।
दुई दशकको निरन्तर संगतका कारण उहाँसँगका थुप्रै स्मृतिहरु मेरा अघिल्तिर आइरहेका छन् । उहाँको स्वभाव झल्किने अर्को एउटा संझना यहाँ राख्न उपयुक्त ठानेको छु । मलाई एकिन मिति याद भएन । ०५४/५५ साल तिरको कुरा हुनुपर्छ । साहित्यकार रुद्र खरेल त्यसबेला प्रगतिशील लेखक संघको केन्द्रिय सदस्य हुनुहुन्थ्यो भने म राष्ट्रिय परिषदको सदस्य थिएँ । प्रलेसको खोटाङ्ग शाखाले जिल्ला सम्मेलन गर्ने निर्णय गरेर हामीलाई निम्ता गèयो । त्यहाँका साथीहरुले हामी दुई जनाको नामै तोकेर निम्ता पठाउनुभयो । मेरा लागि दिक्तेल नयाँ ठाँउ थिएन तर रुद्र सरका लागि नयाँ ठाँउ थियो र उहाँसँगको पहाडी यात्रा मेरा लागि पनि नयाँ र रमाइलै थियो । हामी दिक्तेल जानका लागि कटारीको रात्री बस चढ्यौ । हामी विहानको चार बजेतिरै कटारी ओर्लियौं । उज्यालो खस्न पाएकै थिएन जमिनमा । 
'कटारी घुमेर हेर्ने मन थियो तर समयनै मिलेन ।' घुर्मी जाने बस बिहानै लागि रहेकोले हामी चिया पिएर चढ्ने वित्तिकै अँध्यारोमा बसको झ्यालबाट आँखा दौडाउँदै उहाँले भन्नु भयो ।
'फर्किदा हेरौंला '! मैले त्यसबेला भनेको थिएँ ।
'ठिकै छ, फर्कदा तपाईको गाँउ पनि हेर्दै आउने विचार छ ।' उहाँले मन बुझाउनु भएको थियो ।
घुर्मी पुग्दा बिहानको नौ बजिसकेको थियो । तलतिर बगिरहेको निलो सुनकोशी तिर हेरेर उहाँले अर्को प्रस्ताव राख्नु भयो । 'होइन भाइ ! सुनकोशीमा माछा चाख्न पाइदैन !'
एउटा पसलमा झोला थन्क्याएर म माछा खोजदै केही होटल चहारेैं । उहाँको माछाको रुची माथिल्लै डिग्रीको थियो । काठमाण्डौं मै पनि बेलुका भए पछि रुद्र सर मेरो कार्यालय नेपाल विद्युत प्राधिकरणमा आउनुहुन्थ्यो र हामी माछा किन्न खिचापोखरी जान्थ्यौं । रुद्र सर विद्युत प्राधिकरणमा जाने वित्तिकै त्यहाँका मेरा सहकर्मीहरु ठट्यौली गर्थे – आज माछा खाने दिन रहेछ ।
घुर्मीमा माछा खोज्दा खोज्दै एउटा पसलमा भरखरै कोशीबाट जाल हालेर ल्याएको आलो माछा भेटियो । उहाँलाई यो खवर सुनाउने वित्तिकै यति खुसी हुनुभयो कि उहाँको त्यसबेलाको अनुहार मेरा अघिल्तिर आदिले पनि नाचिरहेको छ । तर त्यहाँ मलाई एउटा फसाद आइलाग्यो । बिहानको साढे नौ बजेको छ । हामी हिडेर बेलुका बास बस्ने ठाँउ निकै टाढा छ । मेरो मावली घर खोक्सेली पुग्ने लक्ष्य थियो । पहाडी बाटोमा उहाँको हिँडाइ कस्तो छ ? मलाई थाहा थिएन । उहाँ त होटलवालालाई माछाको परिकार बनाउन पो सिकाउन थाल्नुभयो ।
हामी घुर्मीबाट एघार बजेतिर बाटो लाग्यौं । त्यसबेला दिक्तेल जान अहिलेको जस्तो मोटरबाटो थिएन ।
दिउँसो १२ बजेको घाम हिलेपानीको उकालो खल्दल्ती पसिना छुटिरहेको थियो । म अघिअघि थिएँ । रुद्र सर पछिपछि हुनुहुन्थ्यो । अलि माथि पुगेर हेरें रुद्र सर पछि ओरालो बाटोको तलैसम्म हुनुहुन्थ्यो । ढाकर बोक्नेहरुको ताँती अघि बढिरहेको थियो ।
मातृका भाइ ! मलाई चिन्नु भएन ? उहाँ त ढाकर बोकेर मेरा अघिल्तिर उभिँदा पो म छक्क परें ।
रुद्र सर ढाक्र्रे दाईको एउटा सानो छोराको ढाकर आफूले बोकेर सानो ढाक्रेलाई चकलेट खुवाउदै हिडिरहनु भएको मानिसले ढाकर बोकेकोमा उहाँ संवदनशील भइरहनु भएको थियो । सानो ढाकेको बाबुसँग उहाँ उसको पढाईको बारेमा कुरा गरेर हिढिरहनु भएको थियो । 
ढाक्रे साथीहरुको घर त्यहीं हिलेपानीको डाँडामा रहेछ । उनीहरुले हामीलाई आफ्ना घर जान कर गरे । हिलेपानीको भन्ज्याङबाट उत्तरतिरको पाखामा उनीहरुको घर रहेछ । हामी हिड्नुपर्ने बाटो लामो भएकोले मैले उहाँलाई ढाक्रे दाईको घर नजान आग्रह गरे ।

'आ ! भाइ ! बरु पुगिएन भने ओडारमै बास बंसुंला नि !' उहाँले सहज लिनु भयो ।
हामीलाई घरमा लगेर राई दाईले  जाँड छानेर एकएक कचौरा बाहिर लयाइदिए । रुद्र सर मलाई हेर्दै जोडजोडले हाँस्नुभयो । उहाँ हाँसेको देखेर राई दाई र राई दाईका परिवार पनि छक्क परे ।
'यो बाजेले जाँड खाँदैन कि के हो ?' राई दाईले अनुमान गरेर मलाई सोधे । 
'हामी खाँदैनौं ।' मैले यसो भन्ने वित्तिकै राई दाईले दुई डबका जाँड घरभित्रै लगे । घरभित्र पसेको पाँच मिनेट नबित्दै थात्रो कपडाको टालोमा आगो बाल्दै बाहिर निस्के र घर पछाडी लागे । उकछिन पछि सिलिबरको थालमा हाम्रा अघिल्तिर राई दाइले मौरीका ठूला ठूला दुई वटा सग्ला चाकाहरु ल्याएर राखिदिए । हामी मौरीको आलो मह खाएर जयराम घाट तिरको बाटो लाग्यौं ।
दूधको सीम ाझरे पछि हामी कदुवातिरको बाटो नगई कोशी किनारै किनार घोपटारबाट उकालो लाग्ने निधो गèयौं । रुद्र सरले फेरी दूधकोशीमा माझी दाईले जाल हान्दै गरेको देख्नुभएछ ।
ल भाई त्यहाँ गएर किनेर ल्याउँ । यसो भन्दै रुद्र सर त माछा मारेको ठाउँ तिर हिडिहाल्नु भयो । माझी दाई भरखरै मात्र जालमा एउटा दुई किलो जतिको माछा मारेका  रहेछन् ।
कतिमा बेच्नु हुन्छ माझी भाइ ! रुद्र सर माछा देख्ने वित्तिकै खुसी भइसक्नु भएको थियो ।
दुई सय रुपैंयाँ । माझी दाइले नसोची प्वाक्कै महंगो भाउ राखे ।
धेरै महंगो भन्नु भयो । मैले माछा हेर्दै के भनेको थिएँ रुद्र सरले दुई सय रुपैंयाँ तुरुन्तै दिनु भयो ।
माछा झुण्डाउँदै हामी दूधकोशी किनारै किनार हिड्यौं । जयराम घाटको केही पर पुगेपछि एउटा छाप्रोमा आगो बाल्न लगाएर हामीले त्यो माछा पोलेर खायौं । त्यस बखत प्रगतिशील लेखक संघको दिक्तेल, कार्यक्रममा जाँदा रुद्र सरसँगको यात्रा मलाई निकै रमाइलो महशुस भएको थियो । लामो हिडाइले गर्दा दिक्तेलबाट फर्कदा मेरो घर हेर्ने र मेरो बुवासँग भेट्ने उहाँको इच्छा पुरा हुन पाएन । उहाँका खुट्टाहरुमा हिडाइमा निकै पीडा भएकोले फर्कदा उहाँहरुलाई साथीहरुले लामिडाँडाबाट हवाइजहाजको प्रवन्ध मिलाइदिनु भयो । म कटारी हुँदै काठमाण्डौ फर्कें  । मैले यहाँ धेरै सम्झनाहरु भित्रबाट उहाँको स्वभाव झल्कने केही छानेर मात्रै राखेको हुँ । रुद्र खरेलको जीवन पुरै संघर्षको जीवन हो । त्यहाँ संघर्षको अनुभव र पाठले उहाँ आफ्ना समकालीनहरुका बीचमा बेग्लो र पृथक देखिनु भयो ।
रुद्र खरेलको जीवन स्वाभिमानको एउटा पहाड जस्तै अविचल थियो । उहाँसँग आततायी सत्ताहरुको डसाइका थुप्रै अनुभूति थिए । आततापी सत्ताहरुसँग सम्झौता गरेर मूर्दाशान्तिमा सुन्दर जीवन रच्ने घिनलाग्दा सपनाहरु उहाँले कहिलयै पनि पाल्नुभएन । पञ्चायतको जुठोपुरो खाएर राजा महेन्द्र महान् हुन भन्दै निरङ्कुश तन्त्रको पुराण लगाउन उहाँको चेतनाले मान्ने कुरै थिएन । शिक्षित भनिएका उहाँ समवयका केही साथीहरु त्यो कुकर्मतिर लागेको पनि भेटिन्छ । बरु, निम्न वर्गीय आर्थिक, दुरावस्थाले निम्त्याएका सङ्कटसँग लड्न उहाँले श्रमका शिखरहरु चड्नु भयो । कष्टसँग पराजित भएर विवेकलाई विक्री गर्ने कार्य गर्न उहाँले महिल्यै पनि चाहनु भएन । आफैंले लडेर लयाएको प्रजातन्त्र पछि पनि देश तोरी लाहुरे चोकमा रुपान्तरित हुँदै गएको देख्नु भयो र अग्रगामी परिवर्तनका लागि फेरी पनि लड्न प्रेरित गर्नुभयो ।
रुद्र खरेलको साहित्यिक यात्राले व्यक्तिवादलाई कहिल्यै पनि प्रश्रय दिएन । उहाँको लेखनको केन्द्रीय  विषय हाम्रो देशको आर्थिक, सामाजिक र सांस्कृतिक विषमता प्रतिको विद्रोहात्मक चेतद्वारा निर्मित भएको छ । रोचक र घोचक अभिव्यक्तिमा उहाँले आफ्नो लेखनीबाट समाज र व्यक्तिका अवगुण र दुर्वलता माथि छेडपेच गर्दै एउटा उद्देश्यमूलक बाटो निर्माण गर्ने प्रयत्न गर्नुभएको थियो ।
अन्ततः केही गर्न सक्ने उमेर वाँकी हुँदै उहाँको निधन हुन पुग्यो । उहाँलाई दिइने श्रद्धाञ्जली भनेको उहाँले गर्नु भएका  असल कार्यलाई अनुसरण गर्नु नै हो । उहाँको जीवन र कर्मबाट नयाँ पुस्ताले सिक्न लायक धेरै कुरा छन् । अवश्य  पनि उहाँ तिनै जीवनकर्मका कारण दीर्घ समयसम्म हाम्रो बीचमा बाँच्नुहुने छ । अझ भन्नुपर्दा उहाँ आफ्ना कृतिहरुको गुणात्मकताका कारण दीर्घ समयसम्म बाँच्नु हुनेछ । नेपाली ब्यङ्ग्य निबन्ध फाँटका शिखर व्यक्तित्व रुद्र खरेललाई फेरि  पनि श्रद्धाञ्जली !

सम्झनाको तरेलीमा हमाल सरहरू - मातृका पोखरेल


अहिले म जहाँ उभिएको छु, त्यो ठाउँमा उभ्याउनका लागि मेरा धेरै गुरुहरूको मिहिनेत परेको छ । मैले दस कक्षासम्म पढ्दा सातवटा विद्यालय चहार्नुपर्ने बाध्यता रह्यो । यतिबेला शिक्षकहरूको बारेमा सोच्दा मेरो अघिल्तिर झल्झल्ती मेरा शिक्षकहरूको एउटा ठूलै समूह देख्छु । केही शिक्षकहरूको बिम्ब मेरो अघिल्तिर बारम्बार आइरहन्छ । त्यसमध्ये पनि ईश्वरबहादुर हमाल र बलबहादुर हमालको छाप मेरो मानसपटलमा अत्यन्तै गहिरो गरी परेको छ ।

पढ्ने उमेर नहुँदै मैले आÇनो अगाडि एकजना शिक्षकलाई पाएको थिएँ । मेरो पहिलो शिक्षक हुनुहुन्थ्यो, ईश्वरबहादुर हमाल । बिहानै आँगनमा गुन्द्री ओछ्याएर काठको पिरामा माटो पिँध्न थाल्नुहुन्थ्यो उहाँ । कागज, कलम, सीसाकलम हाम्रो पहुँचभित्रका सामग्रीहरू थिएनन्, त्यसबेला । उहाँले धुलौटोमा कपुरी ‘क’, पेटफारो ‘ख’ भनेर सिकाइरहँदा ईश्वर सरसँगै मैले बुबाबाट असुनी, भरुणी, कृतिका, रोहिणी हुँदै मेष, वृष, मिथुन, कर्कटसम्मका ज्योतिषका प्रारम्भिक ज्ञानहरू पनि घोक्दै थिएँ ।

पढ्नका लागि विद्यालय जान नपाएको र खेल्ने पढ्ने उमेरमै गृहस्थ जीवनको भार बोक्न बाध्य भएको कारण ईश्वर सरसँग पनि पढाउने विषयको पर्याप्त ज्ञान थिएन । त्यतिबेला बुबाले कताबाट खोजेर ‘पहिलो नेपाली वर्णमाला’ नामको एउटा किताब ल्याइदिनुभएको थियो । आफैँ त्यो किताब पढेर केही सिक्दै ईश्वर सर मलाई पढाउनुहुन्थ्यो । त्यो वर्णमालाभित्र केही चित्रहरू थिए । ती चित्रहरू हेर्न साह्रै उत्सुकता जाग्थ्यो । ईश्वरबहादुर हमालले नै त्यही वर्णमालालाई आÇनो दरिलो शिक्षक बनाएर हामीलाई पढाउनुपर्ने भएपछि त्यो हामीले पढ्न पाउने कुरै भएन । शिक्षक नभएरै शिक्षक भइदिनुपर्ने बाध्यता थियो उहाँको । हामीलाई पढाउनु उहाँका लागि अत्यन्तै कष्टसाध्य काम थियो ।

नातामा ईश्वरबहादुर हमालको म काका थिएँ । त्यसैले म विद्यार्थी भए पनि उहाँले मलाई ‘काका’ र ‘तपाईं’ नै भनेर सम्बोधन गर्नुहुन्थ्यो । उहाँलाई त्यसबेला मैले राम्ररी नटेर्नुको एउटा कारण त्यो पनि थियो होला । अर्को कारण हाम्रो शिक्षक भए पनि उहाँ भर्खर किशोरवयमा पाइला टेक्दै हुनुहुन्थ्यो । ईश्वर हमालको भूमिका मेरा लागि शिक्षकको भन्दा साथीको जस्तो थियो । उहाँको पनि खेल्न मन पराउने उमेर नै थियो । आहालमा पौडी खेल्न जाने र जङ्गलमा ऐँसेलु टिप्न जाने काममा उहाँ मलाई हौस्याउनुहुन्थ्यो । उहाँसँग धेरै पटक वनतरुल खोज्न थुम्की पाखाको जङ्गल र गलेनी, फँडिर टिपेर खान काँसटार, वनडाँडा र खाल्लेपानी पुगेको सम्झना ताजै छ । पौडी खेल्न मैले उहाँबाटै सिकेँ ।

विद्यालय जाने उमेर भएपछि उहाँसँगसँगै ठानागाउँ जानुपथ्र्यौ । ठानागाउँ पढ्न जान थालेपछि हाम्रो लेख्य र पाठ्य सामग्रीमा बढोत्तरी भयो । काठको पिरामा माटो पिँधेर लेख्नु, पढ्नुपर्ने ठाउँमा कालोपाटी र कमेरो माटो घोलेर बनाइएको मसी प्राप्त भयो । बाँसको हाँगा काटेर बनाइएकोे कलम हुन्थ्यो । कालोपाटीलाई नियमित पोतेर राख्न एउटा झुम्रामा हाँडीको कालो भिजाएर राख्नुपथ्र्यो । ‘मसी’ अर्थात् कमेरो माटोको अभावले बेलाबेलामा सताइरहन्थ्यो । कमेरो माटो खानेपानीको कुवाका भित्री भागबाट निकाल्नुपथ्र्यो । पहिलो कुरो त थामखर्कमा खानेपानीको अभाव थियो, पानीपँधेरो धेरै टाढा थियो । पानी लिन खाल्लेपानी पुग्नुपथ्र्यो कि त धाप भन्ने पँधेरो । पानीपँधेरोमा पुग्नका लागि पौने घन्टा जति ओह्रालो जानुपथ्र्यो । फर्कंदा एक घन्टाजति उकालो । बिहानै खाने पानी बोक्ने सानासाना भाँडा बोकेर कमेरो माटो लिने उद्देश्यका साथ हामी पँधेरातिर जान्थ्यौँ । ईश्वर सर केही समयपछि आÇनो घर थुम्कीतिर जानुभयो । त्यसपछि हाम्रो घरमा रूपाटारबाट मोहनबहादुर बुढाथोकी शिक्षकको रूपमा आउनुभयो ।

ठानागाउँको विद्यालयमै पढाइ हुन्थ्यो पाँच कक्षासम्म । तर, चार कक्षापछि पाँच कक्षा पढ्न किन रूपाटार आइपुगेँ, मलाई अहिले त्यसको राम्रो जानकारी छैन । रूपाटारमा मोहनबहादुर बुढाथोकी सरकोमा केही महिना बसेपछि म बलबहादुर हमालको घरमा बस्न थालेँ ।

रूपाटारको विद्यालय ठानागाउँको भन्दा निकै अर्थमा आधुनिक थियो । ठानागाउँको विद्यालय धूलोमा बसेर पढ्नुपर्ने तर रूपाटारमा बेन्चहरूसम्म थिए । विद्यालयको अरू वातावरण पनि अलिक आधुनिकजस्तो । रूपाटार आएपछि मलाई माटोको मसी र कालोपाटीबाट मुक्त भएर एउटा टेको कलम हात प¥यो । थामखर्कमै हुँदा कलिलै उमेरमा बलबहादुर हमालको नाम खूबै सुन्थेँ । लामो समयसम्म बलबहादुर हमालले थामखर्कमै बसेर अध्यापन गर्नुभएको र उहाँसँग जोडिएका थुप्रै उपकथाहरू मैले पहिले नै सुनेको थिएँ । थामखर्कमै बसेर सीता दाइ (हाल सोलुखुम्बू जिल्ला न्यायाधीश), गोमा दिदी, लीला मामा, उमा भान्जी लगायतलाई उहाँले नै साक्षर दुनियाँमा पाइलो टेकाइदिनुभएको थियो । मैले थाहा पाउँदा बलबहादुर हमाल सर थामखर्क छाडेर रूपाटार आइसक्नुभएको थियो । बेलाबेलामा उहाँ थामखर्क गइरहनुहुन्थ्यो । पढाइकै बारेमा सोधीखोजी गर्नुहुन्थ्यो । एक प्रकारले भन्ने हो भने उहाँ हाम्रो परिवारको सदस्यजस्तै हुनुहुन्थ्यो ।

मेरा बुबा पनि बलबहादुर हमालको शैक्षिक योग्यताबाट निकै प्रभावित हुनुहुन्थ्यो । हमाल सर लखनउबाट आई.एस्सी पढेर आउनुभएको थियो । हमाल सरसँगको सम्बन्ध निकट हुनुमा उहाँलाई लखनउबाट नेपाल फर्काउने भूमिकामा मेरो बुबाको महŒवपूर्ण हात थियो भन्ने चर्चा अहिले पनि प्रशस्तै सुन्न पाइन्छ । थामखर्कमै हुँदा उहाँको बारेमा लखनउमा पढेर आएको, धेरै जान्नेजस्ता उपमाहरूले मेरो बालमस्तिष्कमा उहाँको बारेमा एउटा सकारात्मक धारणा बनिसकेको थियो । उहाँको घरमा बसेर पढ्नका लागि यसरी पनि मेरा लागि एउटा सहज वातावरण बनेको थियो । अर्को कारण पनि थियो । भक्तबहादुर ठकुरी, जसलाई हामी सबैले ‘कान्छो बुबा’ भनेर सम्बोधन गथ्र्यौं । कान्छो बुबा हमाल सरको ससुरा र मामा हुनुहुन्थ्यो । कान्छो बुबालाई हामीले परिवारको सदस्यभन्दा फरक र टाढा गरेर कहिल्यै हेरेनौँ । उहाँ बुबाको अनन्य मित्र हुनुहुन्थ्यो । मैले उहाँबाट सानैदेखि सान्निध्यपूर्ण व्यवहार प्राप्त गरेँ र अहिले पनि गर्दै छु । उहाँको घर अहिले पनि मलाई आÇनो ‘दोस्रो घर’ जस्तै लाग्छ । यो कारण पनि मलाई बलबहादुर हमाल सरको घरमा बसेर पढ्न वा भक्तबहादुर ठकुरी ‘कान्छो बुबा’ कहाँ बसेर बलबहादुर हमालको घरमा बसेर पढ्न सजिलो भयो । मैले थामखर्कको प्रकृतिमा जति बालक्रिडास्थल बनाएँ, त्यति नै रूपाटारको वल्लाटारमा बनाएँ । मलाई जति काँसटार, वनडाँडा, खाल्लेबारी, भुसभुसेप्रति आत्मीय पे्रम छ, त्यति नै गहते खोला, बडहरे खोला र त्यो वरिपरिको प्रकृतिप्रति पनि छ ।

सुयोग्य शिक्षकको पहिलो अनुभूति मलाई बलबहादुर हमालको सम्पर्कबाटै प्राप्त भयो । पढाउने शैली पनि बलबहादुर सरको आधुनिक थियो । आÇनो विषयमा उहाँको दक्षता अहिलेको धेरै शिक्षकहरूका लागि समेत मार्गदर्शक बन्नेछ ।

बलबहादुर सरले हामीलाई विज्ञान र गणित पढाउनुहुन्थ्यो । अङ्ग्रेजीमा उहाँको दख्खल धेरै राम्रो र उच्चारण पनि प्रष्ट थियो । त्यसबेला चक्रवर्तीको गणित किताब अत्यन्तै चर्चामा थियो । हाम्रो कक्षाअनुसार त्यो किताब हेर्दैमा डर लाग्ने । बलबहादुर सरले त्यो किताबका पाठहरूलाई मिहीन पाराले र बुफ्नेगरी पढाउनुहुन्थ्यो । त्यो समयका धेरै शिक्षकहरू तालिम प्राप्त गर्ने अवसरबाट पक्कै पनि टाढा हुन्थे होलान् । त्यही कारणले हुनुपर्छ, शिक्षक र विद्यार्थीको सम्बन्धमा हार्दिकपनाको प्रायः अभाव देखिन्थ्यो । अरू त के कम्युनिस्ट आन्दोलनमा लागेकाहरूसमेतमा यो समस्या टड्कारै देखिन्थ्यो ।

बलबहादुर हमाल सरमा विषयको दक्षता त छँदै थियो, विद्यार्थीहरूसँग सुमधुर सम्बन्ध राख्ने क्षमता पनि थियो । उहाँको सान्निध्यमा रहेर मैले आÇनो जगलाई निकै मजबुत बनाएँ भन्ने सचेत अनुभूति मलाई अहिले बारम्बार भइरहन्छ ।

करिब सत्तरी वर्षको उमेरमा पनि बलबहादुर सर आÇनो पुरानो र खारिएको ज्ञानलाई खोटाङको दुर्गमा गाउँ दाम्लीमा बसेर बाँडिरहनुभएको छ । उहाँले हुर्काएका हामीजस्ता थुप्रैथुप्रै बिरुवाहरू धेरै स्थानहरूमा छरिएर रहेका छौँ । आ–आÇनो गच्छेअनुसारको योगदान देश र समाजलाई दिइरहेका छौँ । कहिलेकाहीँ आफैँलाई मनमनै सोध्ने गर्छु– ज्ञान, विज्ञान र प्रविधिले सम्पन्न हुँदै गएको वर्तमान समयमा अहिलेका नयाँ विद्यार्थीहरूले धेरैधेरै सुविधा उपयोग गर्न सक्लान् तर बलबहादुर हमालजस्तो दक्ष शिक्षक भेट्टाउन ठूलै संयोग जुर्नुपर्ने हुन्छ । बलबहादुर हमाल मेरो शैक्षिक यात्राको पक्कै पनि कोसेढुङ्गा हुनुहुन्थ्यो भन्न मैले हिच्किचाइरहनुपर्दैन ।

ईश्वरबहादुर हमालले मलाई धुलौटोमा बाँसको सिन्काले कपुरी ‘क’ सिकाउँदा–सिकाउँदै मेरा पिताबाट सिकेको साधारण कानुनी शिक्षालाई आधार बनाउँदै अहिले पनि त्यही पेसामा आबद्ध हुनुहुन्छ । बलबहादुर हमाल आÇनो सम्पन्न ज्ञानलाई दुर्गममा क्षेत्रमा बसेर बाँडिरहनुभएको छ । ठानागाउँ र रूपाटारका तिनै दुईवटा विद्यालयहरूबाट मैले जन्मभूमिको सान्निध्यता प्राप्त गर्दै कक्षा सातसम्म अध्ययन गरेँ । मेरा शिक्षकहरूको ठूलो समूहमा ईश्वरबहादुर हमाल र बलबहादुर हमाललाई मैले परैबाट छुट्टिने गरी अझै पनि केही भिन्न देखिरहेको छु ।



युनिकोडबाट प्रितीमा रुपान्तरका लागि ---
http://unicode.shresthasushil.com.np 

मधेश आन्दोलन र भारतीय चासो - मातृका पोखरेल


मधेश आन्दोलन सामान्य तरिकाले टुङ्गिने कुनै छनक देखिएको छैन। नाकाबन्दीका कारण देशमा देखिएको मानवीय संकट प्रति आन्दोलनकारीहरुको कुनै सहानुभूतिसम्म देखिएन । युद्धको समयमामात्र लादिने यसखालको नाकाबन्दी प्रति सरकारले व्यवस्थित र समान धारणा पनि बनाउन सकेको देखिदैन। सरकारका प्रधानमन्त्री, उप-प्रधानमन्त्री र मंत्रीहरुनै बिद्यार्थी नेताहरुले जस्तो फरकफरक र आवेशात्मक कुराहरु गर्दै हिडिरहेका छन् । यो नाकाबन्दी प्रति सरकारको नेतृत्वनै रणभुल्लमा परेको छ भन्ने कुरा बुझ्न प्रधानमन्त्रीले ठाउँठाउँमा गर्दै हिडेको भाषणमा " यो तुरुन्त अन्त हुने जानकारी पाएको छु " भन्ने उदगारबाट प्रष्ट बुझिन्छ ।

धेरै टाढा जानै पर्दैन, गएको एक दशकमात्रका केही घटनाहरुको मूल्यांकन गर्ने हो भने पनि हामीप्रति भारतको कस्तो दृष्टिकोण छ भन्ने बास्तविकताको एउटा स्पष्ट चित्र हाम्रा अघिल्तिर आउछ ।

०६२ / ६३ को आन्दोलन पछि २०६४ सालको आरम्भतिर कथित मधेशी नेताहरुको आयोजनामा पटनामा भएको भेलामा रामराजा प्रसाद सिंहलाई स्वायत्त मधेश घोषणा गरेर राष्ट्रपति बनाउन प्रस्तावित गरिएको कुरा सिंहले नै एउटा अन्तर्वार्तामा खुलासा गरेका थिए । त्यो धेरै गम्भीर विषय थियो । त्यो विषयलाई हामीले त्यसबेला धेरै दिमाग खियाउन आवश्यक नै ठानेनौ । रामराजा प्रसाद सिंहलाई स्वायत्त मधेश घोषणा गरेर राष्ट्रपति बनाउन प्रस्ताव गर्ने मानिसहरु अहिले चलिरहेको मधेश आन्दोलनको अगुवाई गर्ने नेताहरु नै थिए ।

०६२ / ६३ को आन्दोलन पछि तराईमा नागरिकता वितरणको अभियान व्यापक पारियो । नागरिकता वितरणको त्यो अभियानमा 'भारतीय इन्ट्रेष्ट' ले काम गरिरहेको धारणा त्यसैबेला पनि उठेको थियो । अझ त्यो विश्लेषण कहाँ पुगेर सत्य ठहरियो भने , त्यसको केही समय पछि भारतको इकोनोमिक्स भन्ने पत्रिकाले २४ लाख भारतीयले नेपाली नागरिकता लिएको विवरण लेखिदियो ।

केही दिन अघिमात्र भारतको बहुचर्चित पत्रिका नवभारत टाइम्सले उत्तरप्रदेश राज्यस्थित महरागंज जिल्लामामात्र बीस हजार भारतीयसँग नेपाली नागरिकता रहेको समाचार लेख्यो ।


नेपालको तराई भूभाग प्रति भारतले हेर्ने आँखा कस्तो छ भन्ने बारेमा बेलाबेलामा भारतीयहरुकै खतरनाक धारणाहरु बाहिर आइरहेकै छन् । संबिधान - सभाबाट संबिधान जारी भएर मधेश आन्दोलन घोषणा भए पछि नेपाल सम्बन्धी जानकार मानिएका एक जना भारतीय रक्षा विशेषज्ञले बिबिसी नेपाली सेवासँगको एउटा अन्तर्वार्तामा सुनसरी जिल्ला र कैलाली जिल्ला मधेश प्रदेशमा राखे कुरा मिल्ने धारणा राखेका थिए ।

यतिबेला तराईमा देखिएको समस्या सामान्य विषयका रुपमा मात्र हेर्नु हुँदैन । भारत नेपालप्रति कस्तो धारणा राख्छ भन्ने तथ्य भारतीय गुप्तचर संस्था R&AW का पूर्व सिनियर अफिसर आर.के.यादवले लेखेको पुस्तक Mission R&AW मा राम्रोसँग उजागर गरेका छन् । आर.के.यादवले इन्दिरा गान्धीको शासनकालका R&AW को प्रमुख आर.एन.काओको हवाला दिएर उनले इन्दिरा गान्धीले सिक्किम पछि नेपालको तराई भागलाई भारतमा गाभ्ने योजना बनाउन निर्देशन दिएको उल्लेख गरेका छन् ।इन्दिरा गान्धीले इमरजेन्सी लगाएपछि भएको चुनावमा उनको पार्टी हार खायो । त्यसपछि गान्धीको योजना अघि बढ्न सकेन । तत्कालिन R&AW को प्रमुख आर.एन. काओले लेखेका तीन वटा पुस्तकहरु आफ्नो मृत्युको २५ वर्ष पछि प्रकाशन गर्न भनी काओले नेहरु मेमोरियल ट्रस्टमा उपलब्ध गराएका छन् । उनको सन २००० मा निधन भैसकेको छ । आर. के. यादवले लेखेको पुस्तकको यहाँ उल्लेखित सामाग्रीको अध्ययन गर्ने हो भने तराईमा अहिले उठिरहेको आन्दोलनमा भारतीय योजना सामेल नहोला भन्ने विश्वास कदापि गर्न सकिदैन ।

निश्चितै रूपमा हिजो मधेस उत्पीडनमा थियो । मधेशलाई हेर्ने दृष्टिकोण नेपालका शाषक बर्गको कहिलै पनि ठिक भएन । शाषक बर्गको गलत ब्यबहारको कारणबाट जन्मेको मधेशको मानसिकतालाई बेलैमा हामीले सच्याउन सक्नुपर्छ । मधेशले व्यहोरेको त्यो उत्पीडनको घाउलाई हामीले ठिक ढंगले सम्बोधन गर्न सक्नुपर्छ । त्यो भारतीयहरुको सरोकारको विषय होइन र बन्न पनि दिनु हुदैन । तर अहिले सिमाङ्कनका नाममा भारतले दिएको चासो यादवको पुस्तकमा उल्लेख भएझैं गलत नियतले आएको हो भन्ने बुझ्न कुनै कठिनाइ पर्दैन ।







कर्मसंस्कारबारे मेरा केही धारणाहरु - मातृका पोखरेल


यस महत्वपूर्ण विचारगोष्ठीका सभापतिज्यू, विचारगोष्ठीमा आफ्नो धारणा राख्न आउनुभएका अतिथि कमरेड एवम् सम्पूर्ण साथीहरु !
आजको यस गोष्ठीमा जुनजुन विषयहरु राखिएका छन् ती अत्यन्तै महत्वपूर्ण छन् । सांस्कृतिक आन्दोलनको एउटा कार्यकर्ता भएके नाताले यी महत्वपूर्ण विषयहरुमाथि छलफल गराएकोमा आधारशीला परिवारका साथीहरुलाई म विशेष धन्यवाद दिन चाहन्छु । 
मेरो र आधारशीलाका साथीहरुका बीचमा प्रगतिशीलकरण गर्न सकिन्छ भन्ने बारेमा मैले केही कुराहरु राख्ने भन्ने थियो । हाम्रा बीचमा छलफल भएअनुसार म त्यही बारेमा आफूलाई लागेका केही धारणाहरु राख्नेछु । यो विषयलाई अन्तरक्रियामुखी बनाउन सकियो भने अझ बढी प्रभावकारी बन्ने छ भन्ने मेरो धारणा छ । 
मैले यहाँ राख्न खोजिरहेको विषय हाम्रो सांस्कृतिक आन्दोलनभित्रै पनि अलिक बढी नै विवादित विषय हो । अलिक बढी संवेदशील विषय पनि हो । विगतमा पनि कर्मसंस्कारका बारेमा हामीले धेरै छलफल गरिसकेका छौं । यहाँ उपस्थित भएकामध्ये धेरै साथीहरुलाई थाहा छ, हामीले इन्द्रेणी सांस्कृतिक समाज र प्रगतिशील सांस्कृतिक संगठनमा बसेर काम गर्दा यस प्रकारका गोष्ठीहरु धेरै ठाउँमा ग¥यौं । त्यसबेला हामीले जतिजति ठाउँमा ग¥यौं ती सबै ठाउँहरुमा एउटा साझा निष्कर्ष निकाल्ने गरेका थियौं । त्यो निष्कर्ष थियो हामी आन्दोलनमा लाग्नेहरुले यी विषयहरुमा एउटा विकल्प तयार गर्नुपर्छ । कुनै विकल्प तयार गर्न सकिएन भने कर्मसंस्कारहरुलाई प्रगतिशीलकरण गर्ने हाम्रो अभियान प्रभावकारी बन्न सक्दैन । 
नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक समाजका भएको मुलुक हो । तर हामीले संस्कारको कुरा गर्दा पहाडिया खस ब्राह्मणहरुले अपनाएका संस्कारहरुको बारेमा मात्रै छलफल गर्ने गरेका छौं । यसको अर्थ सोह्रसंस्कार (सोडष संस्कार) को मात्र बढी चर्चा गर्ने गर्दछौं । अब त्यति मात्र छलफल गरेर पुग्दैन । तर अर्को कुरा के पनि सत्य हो भने खस ब्राह्मणहरुको शासकीय संस्कार अन्य जातिहरुमा जवरजस्ती थापरेपछि जनजातिहरुले आफ्ना संस्कारहरु छाड्दै तिनै सोह्रवटा संस्कारहरु सिक्न र बुझ्न लागेको देखिन्छ । यसरी सांस्कृतिक अतिक्रमण भइरहेको छ । 
अर्को पक्ष के छ भने हामी र हाम्रो समाजले मान्दै आएको संस्कारहरु मध्ये सबै संस्कारहरु धर्मसँग जोडिएर मात्र आएका छैनन् । हाम्रा सांस्कृतिक पक्षहरुसँग पनि जोडिएर आएका छन् । यसलाई छुट्याउन सक्यौं भने हामीलाई अगाडि बढ्न धेरै सजिलो हुनेछ । हामीले कर्मसंस्कारका बारेमा विगतमा धेरै छलफलहरु ग¥यौं तर यतिसम्म पनि निक्र्योल गर्न सकेका छैनौं । संस्हकारहरु मात्र होइन हाम्रा अन्य चालचलन रीतिथिति, जीवनपद्दति सबै विषयलाई कुन कोणले हेर्ने भन्ने बारे हामीसँग एउटा समुचित विचारको खाँचो छ । म अब अलिकति हामीले र हाम्रो समाजले अपनाउँदै आएका केही संस्कारहरुका बारेमा केही चर्चा गर्नेछ र जानेसम्म जनजाति समुदायका दाजुभाइहरुले मान्ने गरेका संस्कारहरुको बारेमा पनि संक्षिप्त चर्चा गर्नेछु । 
हिन्दू धार्मिक ग्रन्थहरुमा षोडश संस्कारलाई मानिसहरुले अपनाउनुपर्ने नियमको रुपमा अघि सारेको पाइन्छ । 
गर्भाधानं पुंसवनं सीमन्तो जातकर्म च । 
नामाक्रिया निष्क्रमोऽन्नप्राशनं वपनक्रिया ।।
कर्णवेधो ब्रतादेशो बेदारम्म क्रियाविधिः ।
केशान्तस्नानमुद्वाहो विवाहग्नि परिग्रहः।।
त्रेताग्नि संग्रहश्चेति संस्कारा ः षोडशस्मृताः।

यो नियमानुसार जन्मपूर्वका तीन संस्कारहरु (गर्भाधान, पुंसवन र सिमन्तोन्नयन) पर्दछन् । यी संस्कारहरु यतिबेला कट्टर ब्राह्म्ण परिवारमा पनि गरिँदैन । जीवनकालमै गरिने संस्कारहरु भनेर जातकर्म, नामकर्म, निष्क्रमण, अन्नप्रासन, कर्णवेध, विद्यारम्म, चूडाकर्म, उपनयन, वेदारम्म, केशान्त, समावर्तन र विवाह पर्दछन् । अन्त्येष्टि मृत्युपछिको संस्कार हो । यी संस्कारहरु मध्ये धेरै संस्कारहरुका बारेमा संस्कारहरुको पक्षमा वहस गर्ने कट्टर धार्मिक धार्मिक रुढीवादीहरुलाई समेत राम्ररी थाहा नहुनसक्छ । कट्टर भनिएका मानिसहरुले समेत न्वारान, पास्नी, छेवर, व्रतवन्ध, विवाह र अन्येष्टिमा केन्द्रित हुँदै गएको देखिन्छ । 
यो त भयो हिन्दू धर्मले निर्देशन गरेको कुरा ।
यसै गरी नेवारहरुले चौधवटा संस्कारहरुलाई पछ्याएको पाइन्छ । द्यो बजी नकः बनेगु भन्ने संस्कारमा गर्भवती छोरीलाई दही च्युरा खुवाइन्छ । मचा ब्यंकेगू भन्ने संस्कारअन्तर्गत छोरीलाई चार दिनमा र छोरालाई छ दिनमा न्वारान गरिन्छ । नां छुये– भनेको बच्चा जन्मिएपछि नामाकरण गर्नु हो मचाबु लहिके भन्नाले सुत्केरी पालन पाल्न लाने चलनलाई पनि नेवारी समुदायभित्र संस्कारकै रुपमा लिइन्छ । मचा जंको भन्नाले छोरीलाई पाँच महिना र छोरालाई ६ महिनामा अन्नप्रासन गराइन्छ । ‘न्हाययं खन्केगू’ भन्नाले बच्चाको कान छेड्ने संस्कार हो । ‘आख ः स्यनेगु’ संस्कार अन्तर्गत श्रीपञ्चमीमा अक्षारम्म गराइन्छ । यसै गरी बुसा खाकेगुको अर्थ छेवर गर्नु, क्युतापूजाकोअर्थ व्रतवन्ध, इही भन्नाले बेलविवाह, ब्राहा तयगु भन्नाले गुफा राख्ने, इहिपाको अर्थ विवाद पर्दछन् । यसै गरी बुढा जंको भनेको बुढो पास्नी र सिइज्या कर्मअनुसार मृत्युसंस्कार भनिन्छ । 
यसरी हेर्दा षोडश संस्कारहरु भन्दा यहाँ केही फरक र भिन्न देखिन्छ । हाम्रो देशभित्रकै अन्य जातिका संस्कारहरु भन्दा नेवारी समुदायका म्हःपूजा, बेल विवाहजस्ता केही भिन्न संस्कारहरु अलिक चर्चित छन् । 
साहित्यकार इमानसिंह चेम्जोङले किरात लिम्बु जातिका पाँच संस्कारहरु निरन्तर कायम रहेको उल्लेख गरेका छन् । पाँचवटा संस्कारहरुमध्ये जन्मपूर्व गरिने संस्कार पनि पर्दछ । जसलाई लिम्बू भाषामा ‘साप्पोक चोमेन’ भनिन्छ । यो संस्कार गर्भरहेको ५÷६ महिनापछि गरिँदो रहेछ । यो संस्कार केही प्रगतिशील संस्कार जस्तो देखिन्छ । यो संस्कारको अनुष्ठानको क्रममा गर्भवती महिलाले खान हुने र खान नहुने कुराहरु, गर्नु हुने र गर्नु नहुने विविध नियमहरु सिकाइँदोरहेछ । त्यो जातिमा जन्मपछि ‘याङदाङ फो ः ङ्मा’ भन्ने अर्को अनुष्ठान गरिँदोरहेछ । त्यसलाई हामीले ‘न्वारान’ को रुपमा पनि बुझ्न सक्ने रहेछौं । त्यसपछि किरात लिम्बू जातिमा ‘चाङ्वाःन् ले क्मा’ भन्ने अर्को संस्कारको अनुष्ठान आयोजना गरिन्छ । यसको अर्थ वस्त्र फेर्नु हो । यो संस्कारअन्तर्गत लिम्बु जातिको पुरोहितले उनीहरुलाई आ–आफना कर्तव्यहरु सिकाउँछन् । केटाको हकमा साइनो लाग्ने केटीसँग जिस्कन नपाइने र केटीको हकमा साइनो लाग्ने केटासँग जिस्कन नपाइने, फूलले हानाहान गर्न नपाइने जस्ता केही नियमहरु सिकाउँछन् । त्यस्तै उनीहरुको अर्को संस्कारअन्तर्गत विवाह पर्दछ । विवाहअन्तर्गत उनीहरुकोमा तीन प्रकारका विवाहहरु प्रचलित छन् । मागी विवाह, चोरी विवाह र जारी विवाह । यो जातीमा गरिने अर्को संस्कार अर्को मृत्यु संस्कार हो । 
यी त केही नेपाली जातीहरुमा प्रयोगमा रहेका संस्कारहरुका उदाहरणहरु हुन् । हाम्रो देशमा यस्ता थुप्रै जातिहरु छन् । सबैका आआ–आफ्नै संस्कारहरु छन् । मैले अघि नै माथि उल्लेख गरिसकेको छु धार्मिक शास्त्र वा परम्परागत अर्थमा धेरैवटा संस्कारहरुको चलन पहिल्यै पहिल्यै रहेको पाइए तापनि यतिबेला प्रायः सबै जातिहरुमा चार–पाँचवटा संस्कारहरु सम्म प्रयोगमा रहेको पाइन्छ । 
हामी नेपालीहरुमा प्रयोगमा रहेका संस्कारहरुमा एकरुपता पाइँदैन । जन्म, पास्नी, विवाह, मृत्यु आदिजस्ता संस्कारहरुको निकै भिन्न भिन्न रुपमा हाम्रा बीचमा चलनचल्तीका रुपमा छन् ।
राई जातिमा बच्चा जन्मिएको तीन वा चार दिनमा न्वारान गर्ने चलन छ । छोरीको न्वारान तीन दिनमा र छोराको न्वारान चार दिनमा हुन्छ । न्वारानजस्तै छोरा र छोरीको पास्नी पनि फरक फरक हुने गर्छ । छोरीको पास्नी पाँच महिनामा र छोराको पास्नी छ महिनामा गरिन्छ । 
राई जातिहरुको जस्तै लिम्बूहरुको पनि छोरीको न्वारान तीन दिनमै र छोराको भने चार दिनमा गर्ने चलन छ । न्वारानको दिन लिम्बूहरुको पुरोहित फेदाङ्माले जाँड र रक्सीले अभिषेक गरेर चोख्याउने चलन अहिले पनि आमरुपमै प्रचलित छ । धिमाल जातिमा शिशुको नाइटो झरेको दिनमात्र नामाकरण गरिन्छ । जन्मका अवसरमा गरिने धेरै संस्कारहरु राई जातिसँग धेरै मिल्दोजुल्दो छ । तर यो जातिमा छोरी जन्मदा हर्षबढाईं गर्ने प्रचलन देखिन्छ । 
नेवारी समुदायमा अनुष्ठान गरिने संस्कारहरु निश्चयरुपमा केही बढी नै छन् । अरुभन्दा निकै फरक विशेषता बोकेका संस्कारहरु पनि छन् । नेवारी समुदायमा छोरीलाई माइतमा सुत्केरी गराउन दिइँदैन । अरु जातिहरुमा भन्दा उनीहरुमो यो नियमलाई कडाईंका साथ लागू गरिन्छ । घरज्वाइँ भएका परिवारमा समेत अन्यत्र सारेर सुत्केरी गराइन्छ । पहिलो पटक बच्चा जन्मदा पाँच दिनमा र त्यसपछि चार दिनमा चोख्याउने पुरानो चलन छ । तर हिजोआज कतैकतै दशै दिन बार्ने गरेको चलन पनि सुन्न पाइएको छ । बच्चाको बोलाउने नाम फुफूले राखिदिने र अर्को नाम जोशी अर्थात् ज्योतिषीले राखिदिने केही फरक प्रचलन देख्न पाइन्छ । नेवार समुदायमा पास्नीलाई महत्वपूर्ण संस्कारका रुपमा लिइन्छ । यसलाई उनीहरु जङ्को भन्दछन् । पास्नीमा गच्छेले भ्याएसम्म ठूलै भोजको आयोजना गर्दछन् । 
यसरी जन्म संस्कारका बारेमा हाम्रो समाजमा फरक फरक नियमहरु छन् । हिन्दू धर्म र संस्कृतिलाई शासकीय संस्कृति बनाएका कारण धेरै जनजाति समुदायमा त्यसैको सिको गर्ने चलन बढेर गएको देखिन्छ । 
तीनवटा संस्कारका बीचमा सबै जातिहरुमा एकरुपता पाइन्छ । धेरै संस्कार गर्ने हक पनि अब विभिन्न बाध्यता र केही चेतनाका कारण छोड्दै गएका छन् । जन्म, विवाह र मृत्यु सबैको साझा संस्कार जस्तो बन्न पुगेको छ । तर यी संस्कारहरु सम्पन्न गर्ने अनुष्ठानहरुका बारेमा निकै विविधता हरु छन् । जन्मभन्दा पहिले गरिने संस्कार त अब धेरैले छाडिसकेका छन् । व्रतबन्ध संस्कार पनि अब शहरीया परिवेशमा केही कम हुँदै गएको देखिन्छ । भए पनि कुनै मन्दिरमा गएर त्यहाँको पुरेतलाई केही दानदक्षिणा दिएर गरिन्छ । सम्पन्न आर्थिक परिवारले यो संस्कारलाई ठूलाठूला भोजको आयोजना गरेर तडकभडकका साथ गर्ने चलन पनि बढ्दो छ । 
अब विवाह संस्कारका बारेमा थोरै कुरा गरौं । विवाहलाई जीवनमा सबैले आवश्यकताकै रुपमा बुझ्दछन् । विवाहका विषयलाई लिएर हाम्रो कम्युनिस्ट आन्दोलनमा धेरै चर्चा र छलफलहरु हुने गरेका छन् । विवाहका बारेमा पनि हाम्रो नेपाली समाजभित्र विभिन्न प्रकार र प्रथाहरु छन् । नेपालका धेरै जनजातिहरुमा हिन्दू धर्मले निर्माण गरेको वैवाहिक नियम भन्दा धेरै खुकुलो र सरल प्रचलनहरु रहेका छन् । हाम्रो राई जातिहरुमा मागी विवाहभन्दा चोरी विवाहको चलन केही बढी छ । तपाईंहरुलाई चोरी शब्दले केही अन्यथा लाग्न सक्ला । मैले यसलाई केही सजिलोको रुपमा लिन खोजेको हुँ । यसको अर्थ परिवारलाई अत्तोपत्ता नदिइकन गर्ने विवाह ।  मैले यो आफ्नो अनुभव नै सुनाउन खोजेको । म पनि माझ किरातको छेउमै हुर्किएको हुनाले त्यहाँका केही चलनहरु मलाई थाहा छ । माझ किरात भनेको के हो भन्ने पनि यहाँ साथीहरुलाई लाग्न सक्छ । यो त भौगोलिक कुरा हो । सुनकोशीदेखि लिखु खोलासम्मको भुभागलाई ओल्लो किरात, लिखुखोलादेखि अरुण नदीसम्मको भूभागलाई माझ किरात र अरुण नदीदेखि मेची नदीसम्मको भूभागलाई पल्लो किरात भनिन्छ । यो त अलिक प्रसंग बाहिरको कुरा भयो । तर माझकिरातको कुरा आएकोले मैले भनेको हुँ । म त्यही माझ किरातको पनि बीचको भभाग दूधकोशी नदीको किनार तिरै हुर्किएको हुनाले मलाई राई जातिका संस्कार र चलनहरुको बारेमा केही परिचित छु । मेरो गाउँघर नजिकै डढुवा, निबुवाटार भन्ने गाउँहरु छन् । डढुवा त किराता भाषाकै नाम भयो, त्यहाँ सबै राई जातिहरु नै बसोबास गर्दछन् । निबुवाटारमा केही राई जातिहरु छन् भने केही क्षत्री, नेवार र माझीहरु छन् । राई बाहेकका जातिहरुमा पनि राईकै संस्कृतिको प्रभाव परेको त्यहाँ राम्रोसँग देख्न पाइन्छ । ती गाउँहरुसँग म धेरै नजिक पनि छु । तर ती गाउँमा बस्ने समुदायमा मैले जम्माजम्मी दुईवटा विवाह समारोहमा सामेले हुने मौका पाएको छु । नत्र सत्र–अठार वर्ष नलाग्दै मन मिल्यो । एकदुई दिन वल्लाघर पल्लाघर लगेर लुकायो । समाजले तुरुन्तै स्वीकृति दिइहाल्छ । यो चलन करिबकरिब त्यहाँ आमचलन जस्तै छ भन्दा पनि हुन्छ । अझ कोशी पारी त त्यो चलन झन् फस्टाउने नै भयो । लिम्बू जातिमा पनि मागी विवाह, चोरी विवाह, प्रेम विवाह र जारी विवाह प्रचलित छन् । लिम्बू जातिमा वि.स. १८९६ भन्दा अगाडि सानीआमा अर्थात् सौतेनी आमा विवाह गर्ने चलन समेत थियो भन्ने कुरा चित्तरञ्जन नेपालीले ‘भीमसेन थापा र तत्कालीन नेपाल’ मा उल्लेख गर्नुभएको छ । १८९६ मा एउटा लालमोहर लागेपछि त्यो चलन खारेज भएछ । पछि लिम्बूहरुको एउटा प्रतिनिधि मण्डल आएर त्यो चलन चलाउन पाउँ भनेर माग पनि ग¥यो, तर लागू भएन । त्यो भन्दा पहिले सौतेनी आमा र आमाकी बहिनी सानिमा विवाह गर्ने चलन रहेछ । त्यो अहिले छैन । च्यो चलनलाई जनकलाल शर्माले मातृसत्तात्मक समाजको अवशेष भन्नुभएको रहेछ । यसबाहेक सहोदर दाजुको निधनपछि भाउजूमा देवरको हक लाग्ने चलन यो जातिमा पछिसम्मै रहेको पाइन्छ । 
मैले माथि पनि केही उल्लेख गरिसकेको छ कि नेवारी समाजमा ‘बेल विवाह’लाई ठूलो महत्वका साथ हेरिन्छ । बेल विवाहलाई ‘इही’ भन्ने चलन छ । यो पनि एक प्रकारको विवाह नै हो । नेवारी समुदायमा देउभाजु, कसाई, च्यामे, धोबी र डुइँया जातका नेवार बाहेक कन्याको रजस्वला हुनुभन्दा अघि बेलसित विवाह गराइन्छ । यो चलन नेवार बाहेक अरु जातिमा छैन । थारु जातिमा विधवा विवाहलाई अन्त्यन्त सहज तरिकाले हेरिन्छ । भाउजू विधवा भएपछि देवरसँग विवाह गराउने चलन छ । यदि देवर घरमा भएन भने पनि सासु–ससुराले नै अर्को केटो खोजेर विवाह गराइदिने चलन पनि छ । विवाहका लागि नेपालका अरु सबैजसो जातिको भन्दा मुसलमानहरुको धेरै फरक देखिन्छ । मुसलमानहरुमा केटाकेटी खोज्दा एउटै आमाको दूध खाएका दाजु र भाइ, दिदी बहिनीबाहेक अरु सबै प्रकारका दिदीभाइले दाजुभाइसँग विवाह गर्नुहुन्छ भन्ने मान्यता छ । यो समुदायमा प्रेम विवाहको चलन अत्यन्त कमजोर नगण्य मात्रामा भेटिन्छ । 
विवाह संस्कारका बारेमा नेपाली जातीमा धेरै रोचक र फरक चलनहरु भेटिन्छन् । थारु समाजमा दुलही लिन जन्ती गएको बेला दुलहीका साथीसंगीहरु जम्मा भएर बेहुला र जन्तीलाई जथाभावी गाली र्ने र सराप्ने एउटा रमाइलो चलन अझै पनि देख्न पाइन्छ । यो जातीमा बेहुली अन्माएर पठाउँदा डोलीभित्र बेहुलीलाई माइतीले एउटा सानो कचौरा हातमा राखिदिन्छन् । उनीहरुलाई यसको अर्थ सोध्यो भने बाटामा शत्रुबाट हमला भएमा आफ्नो सतित्व रक्षाका लागि विष पिएर मर्न सजिलो होस् भनेर त्यो कचौरा दिएको भन्ने कुरा बताउँछन् । दरै जातिमा पनि त्यस्तै रोचक पक्ष छ । बाबुआमाको अनुमति लिएर वा राजीखुसीका साथ केटा र केटीले दाम्पत्य जीवन अघि बढाए पनि दुलहीका आमा बाबुलाई दस्तुर नबुझाएसम्म त्यसले श्रीमान्–श्रीमतीको औपचारिक मान्यता पाउँदैन । 
हाम्रो देश संस्कार, चलन, प्रथा सबै कुरामा विविधता भएको मुलुक हो । हाम्रो समाजमा मृत्यु संस्कारका पनि विविध रुपहरु देख्न पाइन्छ । मानिसहरुले गर्ने अन्य संस्कारहरु भन्दा यो अलिक बढी संवेदनशील विषय पनि हो । हाम्रो वामपन्थी आन्दोलनमा मृत्यु संस्कारलाई कसरी पर्गेल्ने भन्ने विषयमा थुप्रै विवाद र वहसहरु भएका छन् । मैले माथि नै भनिसकेको छु कि हाम्रो देश बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देश हो । मृत्युसंस्ीकारका बारेमा पनि हाम्रो देशमा धेरै विविधताहरु छन् । हिन्दू धर्मले निर्देश गरेको नियम अनुसार संस्कार गरेन भने मृत्युपछिका कयौं समयसम्म पुर्खाहरु नर्कमा पर्नेछन् भन्ने गलत धारणाले ग्रस्त बनाएर हामीलाई त्यो कर्म गराउन बाध्य पारिन्छ । हामीलाई हिन्दू धर्मले सिकाएको छ कि यो लोकबाहेक अर्को परलोक छ । यहाँ मरेका मान्छेहरु ती लोकहरुमा जान्छन् । यहाँ धर्म गरेको छ भने ऊ स्वर्गलोकमा जान्छ नत्र नर्कलोकमा पुग्छ । यहाँ नियमपूर्वक संस्कार ग¥यो भने ऊ अर्को जुनीमा सुख प्राप्त गर्छ । हिन्दू धर्मले यसरी सिकाएको हुनाले मृतकका आफन्तहरु आफ्ना प्रियजनहरुहरु अर्को लोकमा गएर सुखी हुन् भन्ने चाहन्छन् । त्यसैले हिन्दू धर्मले निर्देश गरेका अमानवीय र पाखण्डपूर्ण संस्कारहरु गर्न बाध्य पारिन्छन् । हिन्दू धर्मले बताएअनुसार मानिसको मृत्युपछि ब्राह्मणहरुलाई प्रशस्त दान दियो भने त्यो मृतकले मुक्ति पाउने भन्ने जुन नियम बनाएको छ यो नियम पूरै शोषणमा आधारित छ । यही नियमअनुसार ब्राह्मणहरुले युगौंदेखि शोषण गर्दै आएका छन् । अर्कातिर यही धर्मलाई सिरोपर गर्ने निमुखाहरु निरन्तर आफूलाई नष्ट र अभावको भड्खालोमा जाकिरहेका छन् । मानिसको मृत्युपछि नियमित १३ दिनसम्म कठिन नियममा मासिक श्राद्ध र वर्षदिन पछि वार्षिक श्राद्ध गरे आफ्ना पुर्खालाई तार्न सकिन्छ भन्ने भ्रमबाट ग्रस्त छन् । यही धार्मिक कारण र कमजोर चेतनाका कारण मृत्युसंस्कार अत्यन्त ठूलो बोझ हुने गरेको छ । हिन्दू धर्मावलम्बीको भन्दा मुलिस्म समुदायको मृत्युसंस्कारलाई फरक ढंगले सम्पन्न गरिन्छ । हिन्दू धर्मअनुसार मृतकको शवलाई आगो लगाएर शब दाह गरिन्छ भने मुस्लिमहरुले मुर्दालाई धोइपखाली सफा गरेर कपुर, चन्दनलगायत अनेक प्रकारका सुगन्धहरु लगाएर चिहानमा लगेर गाडिदिन्छन् । आर्थिक रुपमा सम्पन्न हुनेहरुले चिहानमाथि स्मारक पनि बनाउँछन् । धिमाल र बोडो जातिले वर्खामा मरे जमिनमुनि गाड्ने र हिउँदमा भए जलाउने चलन पनि विद्यमान छ । नेपालभित्र मृत्युसंस्कारलाई सम्पन्न गर्ने कुरामा विविध चलनहरु छन् । पश्चिमका थारुहरुको लोग्ने मानिसको शवलाई उत्तानो पारेर गाड्ने र आइमाई मान्छेको शवलाई उत्तारो पारेर गाड्ने केही पृथक चलनहरु अध्यावधि कायम रहेको पाइन्छ । 
मृत्युसंस्कारलाई सम्पन्न गर्ने कुरामा राई जातिमा केही भिन्न जस्तो लाग्ने चलन छ । सबै राई जातीमा मुर्दालाई खाल्डो खनेर गाड्छन् । कुलुङ र खालिङ जातिका राईहरुले आफ्नै बारीको छेउमा मुर्दा गाड्छन् । एक महिनासम्म चिहानमा लगेर खाना चढाउँछन् । यसलाई उनीहरु ‘चिहान पाल्ने’ भन्दछन् । त्यस्तो बेलामा मृतकका परिवारले नाताकुटुम्ब सबैलाई निम्ता गरेर राँगाको मासु र जाँडसहितको भोज लगाएर पितृका लागि सुख होस् भनेर कामना गर्ने चलन छ । गुरुङ जातिमा सबैको भन्दा एउटा कुरा पृथक छ । उनीहरु ग्रह नक्षत्र हेरेर मात्र मुर्दालाई गाड्ने कि जलाउने निक्र्योल गर्छन् । तर उनीहरु पनि अन्य धेरै जातिहरुकै जस्तो तेह्रै दिन जुठो बार्ने र एक वर्षसम्म वर्षी बार्ने गर्दछन् । 
मैले अलिकति हाम्रो समाजमा प्रमुख संस्कारहरुलाई कसरी सम्पन्न गरिन्छ भनेर केही राख्ने प्रयत्न गरें । यहाँ मैले प्रस्तुत गरेका त केही उदाहरणहरु मात्र हुन् । जन्मदेखि मृत्युसम्मका संस्कारहरु सम्पन्न गर्ने क्रममा नेपाली समाजभित्र धेरै रोचक रोचक प्रचलनहरु कायम रहेका छन् । 
माक्र्सवादी आन्दोलनका हामी कार्यकर्ताहरुले यी संस्कारहरुका बारेमा कस्तो धारणा बनाउनुपर्दछ भन्ने हाम्रो आजको छलफलको केन्द्रीय विषय हो र हुनुपर्छ भन्ने मलाई लाग्छ । 
परम्परागत रुपमा रहेका धेरैवटा संस्कारहरुमध्ये केही त हाम्रो समाजबाट पूरै लोपजस्तै भइसकेका छन् । क्षवर, पास्नी र व्रतबन्धजस्ता संस्कारहरु अब चटक्कै छाड्ने हो भने पनि समाज र परिवारमा धेरै ठूलो संघर्ष र जोखिम उठाइहाल्नु पर्ने परिस्थिति पनि अब छैन । क्षवर, पास्नी, व्रतबन्धजस्ता संस्कारहरुमा यतिबेलाको चलनअनुसार धार्मिक अनुष्ठान भन्दा पनि निम्न मध्यम वर्ग र मध्यम वर्गका मानिसहरुले भोजसोज लगाएर आडम्बर प्रदर्शन गर्नेजस्तो देखिन थालेको छ । समाजमा कुनैबेला एउटा यस्तो शक्तिमा थियो, व्रतबन्ध नगरिकन कसैले विवाह ग¥यो र उसका सन्तान जन्मिए भने उसलाई जातबाट च्युत गरिन्थ्यो । मेरो गाउँनजिकैको गाउँमा मैले यस्तो घटना देखेको थिएँ । उनीहरु दाहालबाट भाट भएका थिए । पश्चिमतिर ‘भाट’ थर भएका मानिसहरु प्रशस्त छन् तर यो प्रक्रियाबाट भएका हुन् कि होइनन् मलाई जानकारी छैन । तर पूर्वी पहाडमा यस्ता उदाहरणहरु छन् । तर अब समाजले व्रतबन्धका बारेमा धेरै प्रश्न उठाउँछ भन्ने मलाई लाग्दैन । यो संस्कार पूर्णतः धार्मिक नियमअन्तर्गत सम्पन्न गरिने हुँदा हामी माक्र्सवादी आन्दोलनका कार्यकर्ताहरुले यसलाई पूर्णतः अस्वीकार गरेर जानुपर्दछ भन्ने मेरो धारणा हो । त्यस्तै हाम्रो समाजमा अहिलेसम्म प्रचलनमा रहिरहेको क्षवर र पास्नीजस्ता संस्कारहरुलाई हामीले सम्पन्न नगर्दा अब कुनै सामाजिक प्रश्न उठ्ने अवस्था पनि छैन । यसलाई पुर्णतः छाडिदिए केही फरक पर्दैन । 
मूलतः तीनवटा कुरामा हामी केन्द्रित भयौं भने अब पुग्छ भन्ने लाग्छ । जन्म एवम् न्वारानको संस्कार, विवाह संस्कार र मृत्युसंस्कार ।  
संस्कारहरुको परिवर्तन भौतिक परिवर्तनजस्तो सजिलै परिवर्तन गर्न सकिने र हुनसक्ने विषय होइन । यही गम्भीरतालाई मनन गरे चीनमा सांस्कृतिक क्रान्तिको आवश्यकतालाई माओले बढी जोड दिए । हाम्रै आन्दोलनमा जब संस्कारको व्यवहारिक प्रयोगको बेला आउँछ, आन्दोलनकारीहरुमै बोली र कर्मका बीचमा ठूलाठूला खाडलहरु पैदा भएको हामी देख्दछौं । भौतिक परिवर्तन आँखाअगाडि देख्दादेख्दै हुन्छ, तर यो संस्कारगत परिवर्तनका लागि धेरै ठूलो संघर्ष र प्रयत्नको खाँचो छ । 
यस छलफल कार्यक्रममा मैले त्यस्ता धेरै अग्रज कमरेडहरुलाई देखिरहेको छ, जो म जन्मिनुभन्दा अघि नै कम्युनिष्ट आन्दोलनमा हिँडिसक्नुभएको थियो । जीवन सबै कम्युनिस्ट आन्दोलनमा लगाउनुभएको छ । तर व्यवहारमा जाँदा हामीले उल्लेख्य प्रगति गर्न सकिरहेका छ्रैनौं । हामीलाई एउटा कुरा सिकाएर फर्किएका नेताहरु आफ्नो घरमा पुगेर अर्कै व्यवहार गरेका उदाहरणहरु हामीसँग अब प्रशस्त भइसकेका छन् । विकल्पका बारेमा हामीले केही छलफल गर्न सक्यौं भने यो समस्याबाट हामी केही मुक्त हुन सक्छौं भन्ने मलाई लागेको छ ।
संस्कारलाई प्रयोग गर्दा केही प्रगतिशीलकरण गर्न सकियो भने त्यसले समाजलाई अग्रगतितिर लैजना मद्दत पु¥याउँछ । यो विषय हामी कम्युनिस्ट पार्टीका समर्थक र सुभेच्छुकहरुले मात्र सोच्नुपर्दछ भन्ने विषय होइन । कम्युनिस्ट पार्टीमा नलागेका सचेत मानिसहरुले पनि यो बारेमा सोच्ने र चिन्तन गरेका छन् । यसको मतलब हामी कम्युनिस्ट पार्टीका मानिसहरुले अझ बढी सोच्नुपर्ने चिन्तन गर्नुपर्ने हो भन्ने मलाई लाग्दछ । बिपी कोइरालाले आफ्ना पिताको मृत्युसंस्कारलाई प्रगतिशीलकरण गरेका कारण पछिल्लो पुस्तालाई लागू गनै धेरै सहज भयो । कम्युनिस्ट आन्दोलनका धेरै नेताहरुले परम्परागत संस्कारलाई चुनौती दिनुभएको छ । त्यो सकारात्मक कुरा हो । तर केही कम्युनिस्ट नेताकै रुपमा कहलाइएका मानिसहरु परम्परागत कर्मकाण्ड गरिरहनुभएको छ । यो चेतनासँगै जोडिएको विषय रहेछ । हाम्रो आन्दोलनमा पनि त्यस्तै विशृङ्खलता देखिने गर्छ । मलाई भर्खरकै एउटा घटनाको याद आयो । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवम् कवि रोजन राईले केही महिना अघि प्रगतिशील विवाहको ब्यानर टाँगेरै विवाह गर्नुभयो । उहाँले एकजना दलित महिलासँग विवाह गर्नुभएको थियो । त्यो कार्यक्रममा उहाँले अतिथिको रुपमा मलाई पनि बोलाउनुभएको थियो । त्यस कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति सुशील कोइराला हुनुहुन्थ्यो । आफ्नो मन्तव्यको क्रममा कोइरालाले नेपाली कांग्रेसको इतिहासमा यस प्रकारका प्रगतिशील कामहरु प्रशस्तै भए तर अहिले आएर हाम्रा साथीहरु यसप्रकारका कार्यहरुबाट विमुख हुनथाल्नुभएको छ भनेर चिन्ता व्यक्त गर्नुभएको । कम्युनिस्ट आन्दोलनभित्रको सांस्कृतिक आन्दोलनको कार्यकर्ता भएकाले होला म त्यो कार्यक्रमबाट धेरै उत्साहित र प्रभावित भएँ । कर्मसंस्कारहरुलाई परम्पराको साङ्लोबाट फुकाउने आवश्यकता सबैतिर बढ्दै गइरहेको छ । यो विषयमा हामी अझ जिम्मेवार बन्न जरुरी छ । कम्युनिस्ट आन्दोलन भनेको नै सांस्कृतिक आन्दोलन पनि हो । धर्मसँग जोडिएका शोषणकारी प्रचनलहरुलाई हटाउन सकेनौं भने कम्युनिस्ट आन्दोलन पटक्कै अघि बढ्न सक्दैन । तर यो बारेमा हामी सचेत बन्न सकिरहेका छैनौं । मूलतः हामी कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले धेरै घोरिनुपर्ने र ध्यान दिनुपर्ने विषय हो यो । अघि भर्खरै मात्र घनश्याम दाइले ब्यङ्ग्यात्मक ढंगले यो कुरालाई उठाउनुभएको छ । कम्युनिस्ट पार्टीको पूर्णकालीक सदस्य हुँ भन्छ तर बाबुको श्राद्ध गर्न पाउँ भन्छ । घनश्याम दाइले हाम्रो विचलित हुँदै गएको आन्दोलनको एउटा चित्रलाई राखिदिने प्रयत्न गर्नुभयो । हाम्रो आन्दोलनको एउटा चित्र यस्तै छ अहिले । हाम्रो आन्दोलनको मान्छे हामीलाई देखाउन जनवादी विवाहको ब्यानर टाँगेर दिउँसो कार्यक्रम र फेरि मन्दिरमा गएर वा पुरोहित राखेर फेरि अर्को परम्परागत कर्मसंस्कारको शरणमा पर्छ । यस्तो दोहोरो जीवन हुनुभन्दा त आफूभित्र जे छ त्यही राखिदिए भइहाल्यो नि ! यो ढोङले हाम्रो आन्दोलन आक्रान्त छ । नाम जनवादी भनेर गरिन्छ तर काममा त्यस्तो कतै देखिएन । यसै बारेमा छलफल हुँदा कोही सांस्कृतिककर्मीले एक पटक यसलाई जनवादी नभनेर ‘किफायती विवाह’ भनौं भन्नुभएको थियो । एकातिर जनवादी भन्ने अर्कोतिर परम्परागत कर्मकाण्डिय विवाह पद्दति पनि छाड्न नसक्ने हो भने जनवादी शब्दको अवमूल्यन हुँदै जाने सम्भावना बढ्छ । त्यसले गर्दा त्यस्तो विवाहलाई किफायती विवाह भन्दा राम्रो हुन्छ । 
हामी आन्दोलनभित्रै रहेका मानिसहरुले आफ्ना छोराछोरीहरुले प्रेम सम्बन्ध राखे भने त्यसलाई सकारात्मक दृष्टिकोण नराख्ने गरेका घटनाहरु पनि प्रशस्तै सुन्दै आएका छौं । आखिर विवाह अनिवार्य आवश्यकता हो । त्यसलाई कसरी सम्पन्न गर्ने, कसरी सहज बनाउने, कसरी विज्ञानसम्मत बनाउने भन्ने बारेमा हामी आन्दोलनमा लाग्नेहरुले झनै सोच्न जरुरी छ । 
हामी संगठित भएको सांस्कृतिक आन्दोलन कुनै स्वतन्त्र, अमूर्त र निरपेक्ष आन्दोलन होइन । यो राजनीतिक आन्दोलनसँगै गाँसिएर आएको कुरा हो । यो आन्दोलनको एउटा कार्यकर्ता भएको नाताले मलाई के लाग्न थालेको छ भने माक्र्सवादी दृष्टिकोणअनुसार कर्मसंस्कारहरुलाई प्रगतिशीलकरण गर्ने काम सांस्कृतिक आन्दोलनमा लाग्नेहरुले नै हो भन्ने बुझिन थालेको छ । यो एकदमै गलत कुरा हो । माक्र्सवादी आन्दोलनमा लाग्ने सबैले समान ढंगले सोच्ने विषय हो यो । 
अर्को कुरा राजनीतिक आन्दोलन जतिजति बलियो हुँदै जान्छ, हाम्रो सांस्कृतिक आन्दोलन पनि बलियो हुँदै जान्छ । यतिबेला हाम्रो राजनीतिक आन्दोलननको नेतृत्वतहमा कर्म संस्कारहरुलाई सम्पन्न गर्ने क्रममा थुप्रै विचलनका समाचारहरु छ्याप्छ्याप्ती आउने गरेका छन् । राजनीतिक नेतृत्वले नै यस तर्फ पहल नगर्ने हो भने यी विषयहरु ओझेल पर्दै जानेछन् । नेपाली समाजलाई यो क्षेत्रबाट रुपान्तरण गर्न हामीलाई झनै कठिन बन्दै जानेछ । 
अब मृत्यु संस्कारका बारेमा केही छलफल गरौं । मैले पहिले नै अलिकति भनेको छु, यो अरु संस्कार भन्दा केही बढी नै संवेदनशील विषय हो । स्वाभाविकै रुपमा आफ्ना स्वजनहरुको मृत्यु त्यसै पनि दुःखदायी कुरा हो । यो बेलामा हामीले आफ्ना स्वजनहरुको मृत्युमा आफ्नो भूमिकालाई कसरी प्रस्तुत गर्ने भन्ने बारेमा गम्भीरतापूर्वक सोच्न जरुरी छ । हामीले परम्परागत रुपमा सम्पन्न गर्ने मृत्युसंस्कार भनेको कोरा बार्नु, ढिकुरो फोर्नु, क्रियापुत्री बस्नु, पिण्डपानी तर्पण दिनु, पुरतेलाई दानदक्षिणा दिनु, गरुण पुराण लगाउनु आदि हुन् । यी सबैको उद्देश्य मरेर गएको व्यक्तिलाई स्वर्गमा पु¥याउनु  नै हो । यी सबै क्रियाकर्महरु धार्मिक संस्कारसँगै सम्बन्धित छन् । मृत्यु संस्कारका यी धार्मिक प्रक्रियाबाट अलग हुन हामीले जरुरी छ । इन्द्रेणी सांस्कृतिक समाजले २०५७ सालमा काठमाडौंमा आयोजना गरेको ‘मृत्युसंस्कार र तिनको प्रगतिशीलकरणको प्रश्न’ विषयक गोष्ठीमा बोल्दै  प्राध्यापक माणिकलाल श्रेष्ठले सेता लुगा लगाउनु र कपाल काट्ने कार्य धार्मिक संस्कारसँग नजोडिएको कुरा बताउनुभएको थियो र उहाँले आफूले ती दुई विधिविधान गरेको कुरा उल्लेख गर्नुभएको थियो । यसतर्फ अझै केही अध्ययन गरेर मृत्यु संस्कारलाई वैकल्पिक व्यवस्थापन गर्न मद्दत पुग्छ भन्ने मलाई लाग्दछ । 
हामीले प्रचलनमा ल्याउने गरेका संस्कारहरु अब धेरै बोझिला भइसकेका छन् । मानिसहरु ती बोझिला संस्कारहरुबाट मुक्ति चाहन्छन् । तर उनीहरुलाई त्यसै छाड भन्न थालियो भने त्यो सम्भव छैन । यी धेरै संस्कारहरु मध्ये जन्म, विवाह र मृत्यु संस्कारका सम्बन्धमा एउटा वैकल्पिक धारणा प्रस्तुत गर्न सकियो भने त्यो हाम्रा लागि प्रगतिशील कदम हुन्छ । संस्कारहरुलाई धर्मबाट अलग्याउने र जटिल पद्धतिहरुलाई सरल बनाउन सकियो भने हाम्रो समाजका लागि त्यो निकै उपलब्धीपूर्ण हुन्छ । हाम्रा परम्परागत संस्कारहरु भित्र प्रसस्तै विशेषणकारी विधिविधानहरु छन् । महिलाहरुलाई उत्पीडित बनाउन मद्दत गर्ने शोषणकारी विधिहरु छन् । तिनलाई सचेततापूर्वक परित्याग गर्नुपर्दछ । 
मैले एक पटक आफूलाई लागेका केही कुराहरु सर्सर्ती राखें । आयोजक साथीहरुले यहाँ प्रस्तुत धारणाहरुका बारेमा फेरि अन्त्यमा केही छलफल चलाउने भन्नुभएको छ । यी विषयहरुमा तपाईंहरुका धारणाहरु सुनेर मैले थप धेरै कुराहरु सिक्न सक्ने छु । सकेसम्म तपाईंहरुका जिज्ञासाहरुसँग अन्तरक्रिया मार्फत परिस्कृत गर्ने कोसिस गर्नेछु । 
मैले तपाईंहरुसँग यो विषयको गम्भीरताका बारेमा उठानमै केही कुरा गरिसकेको छु । मूलतः हामी कम्युनिष्ट पार्टीका सदस्यहरुले धेरै घोरिनुपर्ने र ध्यान दिनुपर्ने विषय हो । अहिले हाम्रो आन्दोलनमा के देखिएको छ भने, कम्युनिस्ट छ तर आफू परिवर्तन गर्न मेहनत गर्दैन । परम्परागत रुपले जसरी चलेर आएको छ । हाम्रो आन्दोलनको सदस्यले पनि त्यसै गरी लागू गरिरहेको छ । संस्कारलगायत आफ्ना पुराना गलत कुराहरुलाई परिवर्तन गर्ने प्रयत्न गर्दैन । यसतर्फ यो गोष्ठीले पक्कै पनि केही मात्रामा झक्झक्याउन मद्दत पु¥याउने छ । आधारशीलाका साथीहरुलाई पुनः यस प्रकारको कार्यक्रम राखेकोमा धन्यवाद दिँदै बिदा हुन्छु । धन्यवाद । 

घनश्याम ढकालको साँस्कृतिक उचाइ - मातृका पोखरेल


नेपाली प्रगतिवादी साहित्य र संस्कृतिको क्षेत्रमा सक्रियतापूर्वक योगदान दिइरहेकै बेलामा २०६८ साल फागुन १ गते मोटरसाइकल दुर्घटनामा परेर वरिष्ठ प्रगतिवादी साहित्यकार घनश्याम ढकालको असामायिक निधन भयो । संगठनमा उहाँको सक्रियता, साहित्य लेखनमा निरन्तरता, माक्र्सवादी सौन्दर्य चिन्तनको क्षेत्रमा उहाँको अध्ययनका दृष्टिले हेर्ने हो भने उहाँको यो निधन अपुरणीय क्षति थियो ।
साहित्यकार घनश्याम ढकालसँग मेरो भेटघाट र चिनजान भएको पनि दुई दशकको समय बितिसकेछ । २०४८ सालभन्दा पहिले नै भेट भएको हुनसक्छ । तर मैले एकिन समय सम्झन सकिन । २०४८ सालमा कीर्तिपुरमा अखिल नेपाल जनसांस्कृतिक संघको राष्ट्रिय भेला भएको थियो । उहाँसँग त्यही कार्यक्रममा भेट भएको सम्झना मात्र मसँग छ । कवि कृष्ण सेन ‘इच्छुक’ त्यो भेलाबाट अध्यक्ष निर्वाचित हुनुभएको थियो । त्यो भेलामा घनश्याम दाइले आफ्ना केही विचारहरु राख्नुभएको मलाई राम्ररी सम्झना छ । त्यो भेलाबाट बनेको कार्यसमितिमा उहाँ पनि रहनुभएको थियो । त्यसयताका समयहरुमा उहाँसँग मेरो नियमित भेटघाट भयो । केही संगठनहरुमा उहाँसँग सँगसँगै काम गर्ने मौका समेत मिल्यो ।
त्यसबेलाको समयमा उहाँको मूल जिम्मेवारी सांस्कृतिक संगठनमा थियो तर मेरो चाहीं युवा संगठनको जिम्मेवारी थियो । हामी दुवैजना एउटै पार्टी अन्तर्गतका जनवर्गीय संगठनमा कार्यरत थियौं । तीनवटा पार्टीहरुको एकता पश्चात त्यसबेला भरखरैमात्र ने.क.पा. (एकता केन्द्र) बनेको थियो । घनश्याम दाई तत्कालिन ने.क.पा. (मशाल) हुँदै एकता प्रकृयामा आउनुभएको थियो । म तत्कालिन ने.क.पा.(चौ.म.) मार्फत आएको थिएँ । साहित्य र संस्कृतिको रुचीको कारण उहाँसँग सम्पर्क नजिकिदै गयो । 
केही समयको सहकार्यपछि हामी फेरि सँगसँगै रहन सकेनौं । २०५० सालमा एकता केन्द्रमा फुट आयो । म एकता केन्द्र तिरै रहें उहाँ माओवादी तिर । एकताकेन्द्रमा काम गर्ने हामी साथीहरुले ने.क.पा. (माओवादी)ले सशस्त्र संघर्ष सुरु गर्दाका आरम्भिक अवस्थामा उहाँ लगायत खुला क्षेत्रमा कार्य गर्ने साथीहरुका लागि खासै कष्टकर नभएको महशुस गथ्र्यौं । घनश्याम ढकालले आफू सहभागी भएका मञ्चहरुबकाट जनयुद्धको पक्षमा बहस गरेको मैले धेरै पटक सुनेको छु । तर उहाँ त्यहाँ भित्र देखिएका गलत पक्षहरुको आलोचना गर्न पनि चुक्नुहुन्न थियो । यो कारणले पनि हुनसक्छ, हाम्रा बीचको भेटघाट र छलफलका लागि कुनै असहजपन सिर्जना हुँदैनथ्यो ।
घनश्याम ढकाल भिन्न विचार भएका मानिसहरुसँग आफ्ना कुराहरु राखेर साझा विषयहरुमा सँगसँगै काम गर्ने क्षमता राख्नुहुन्थ्यो ।  २०५४ सालमा भएको प्रगतिशील लेखक संघको चौथो राष्ट्रिय सम्मेलनमा ने.क.पा. (एमाले) पक्षधरका साहित्यकार साथीहरुले साझा मञ्चको मान्यतालाई लत्याएर संघलाई एकलौटी बनाए । निनु चापागाईं, कृष्ण सेन ‘इच्छुक’ घनश्याम ढकाल लगायतका साथीहरु सहित हामीले उक्त सम्मेलन बहिष्कार गर्न बाध्य भयौं । एमाले निकट साहित्यकार साथीहरुलाई साझा मञ्चको गौरवमय मूल्यबाट टाढिएको प्रलेस चलाउनु र जनसांस्कृतिक मञ्च चलाउनुमा कुनै भिन्नता महशुस गर्ने करा थिएन । आफूले गल्ती गरेको महशुस गर्दै उनिहरु फेरि साझा मञ्चको मान्यताअनुसार  चलाउने आग्रहकासाथ हामीसँग छलफल गर्न आइपुगे । तीन वर्षे कार्यकाल पूरा नभई २०५६ सालमै प्रगतिशील लेखक संघको पाँचौ राष्ट्रिय सम्ेमलन सम्पन्न भयो । निनु चापागाईको अध्यक्षतामा बनेको उक्त कार्य समितिमा घनश्याम ढकाल उपाध्यक्ष र जीवेन्द्रदेव गिरी महासचिब बन्नुभयो । प्रगतिशील लेखक संघलाई साझा मञ्चको मान्यताअनुसार संचालन गर्न उहाँको ठूलो भूमिका रहयो । प्रलेसको छैठौं राष्ट्रिय सम्मेलनबाट उहाँ महासचिवमा निर्वाचित हुनुभयो । त्यो समय हामी परिवर्तनकारी स्रष्टाहरुका लागि सबैभन्दा कष्टकर थियो । राज्य आतङ्क तीब्र थियो । प्रगतिशील लेखक संघका कैयौं सदस्यहरु राज्यद्वारा बेपत्ता बनाइएका थिए । राज्यले परिवर्तनकामी साहित्यकारहरुमाथि क्रुर दमन र हत्याको ऋंखला अघि बढाएको थियो । माओवादी निकट सांसकृतिक संगठन अखिल नेपाल जनसांस्कृतिक संघको उपाध्यक्ष भएको कारणले घनश्याम ढकाल राज्यको आँखामा झनै ठूलो बैरी हुनुहुन्थ्यो । एकातिर प्रगतिशील लेखक संघको महासचिव भएर देशभरिका प्रगतिशील साहित्यकारहरुलाई नेतृत्व प्रदान गर्नुपर्ने अर्कोतिर राज्यको गिद्धे दृष्टिबाट बच्नुपर्ने जस्तो त्रासद अवस्थाबाट उहाँले काम गर्नुपर्ने बाध्यता थियो । प्रगतिशील लेखक संघको महासचिव र अखिल नेपाल जनसांस्कृतिक संघको उपाध्यक्ष रहेको कारणले ने.क.पा. (माओवादी)ले पनि उहाँलाई उपत्यकामै रहने गरी पार्टीको जिम्मेवारी दिएको बुझिन्थ्यो । त्यसबेला उपत्यकाको पार्टी काम पटक्कै सहज नभएको हामी जनयुद्धबाट टाढा रहेकाहरु अनुमान गर्ने गथ्र्यौं । एकदिन साँझमा उहाँ मेरो कोठामा आइपुग्नुभयो र सेल्टरको समस्या परेको करा बताउनुभयो । सेल्टरको अपठ्यारोले उहाँ केही दिन मेरो कोठामै बस्न चाहनुहुन्थ्यो । माओवादी जनयुद्धबाट पृथक र जनयुद्धप्रति आलोचनात्मक धारणा राख्ने हामी जस्ता लेखकहरु समेत राज्यका लागि खतरनाक नै थियौं । हामीप्रति पनि एक प्रकारको निगरानी छ भन्ने सूचनाहरु कतै कतैबाट हामीसम्म आइपुग्थ्यो । त्यसैले मेरो कोठा दाइका लागि उपयुक्त नहुनसक्छ भने मैले । त्यस रात उहाँ मेरो कोठामा बसेर टेलिफेनबाटै अस्थायी सेल्टरको व्यवस्था गरेर भोलिपल्ट बिहान हिड्नुभएको थियो । 
घनश्याम ढकाललाई त्यसबेला काठमाडौंमा रहेर काम गर्नु अत्यन्त चुनौतीपूर्ण थियो । अपठ्यारा र जटिलताहरुसँग सामना गर्न सहज नभएरै होला एक दिन टेलिफोन गरेर उहाँले जनएकता साप्ताहिकको कार्यालयमा भेटेर केही कुरा गर्न चाहेको बताउनुभयो । आफू जनयुद्धभित्रै रहेको तर खुला रुपमा काम गर्न अपठ्यारो भएकाले प्रतिकृयावादीहरुको आँखा छल्नका लागि जनएकता पत्रिकामा आफूले एउटा वक्तव्य प्रकाशन गर्न खोजेको बताउँदै वक्तव्यको ड्राफ्ट देखाउनु भयो । त्यो वक्तव्यका बारेमा उहाँले धेरै साथीहरुसँग सल्लाह गर्नुभएछ । आखिर जनएकतामा त्यो वक्तव्य प्रकाशीत भयो । आन्दोलनको दृष्टिले हेर्दा त्यो वक्तव्य एउटा सानो कमजोरी थियो । जुनसुकै तरिकाले भए पनि घनश्याम ढकाललाई सिध्याएर आफूमाथि उक्लिन सकिहालिन्छ कि भन्ने भ्रम पालेका केही साथीहरुले त्यो वक्तव्यलाई लिएर आकाश खसेकै जस्तो गरेर प्रचार गरे । तर त्यही कमजोरीमा टेकेर उहाँ सिद्धिएको टिप्पणि गर्नु जायज छँदै थिएन । एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रीय समितिले आयोजना गरेको श्रद्धाञ्जली सभामा कमरेड चैतन्यले भने झैं उहाँ एक महान क्रान्तिकारी हुनुहुन्थ्यो । जनएकता साप्ताहिकमा उहाँको वक्तव्य प्रकाशित भइसकेपछिका कैयौं भेटघाटहरुमा मैले घनश्याम ढकाललाई जनयुद्धप्रति त्यतिकै आस्था र विश्वास भएको एउटा सचेत स्रष्टाका रुपमा पाएको थिएँ । जीवनका कैयौं सांस्कृतिक मूल्यहरुलाई आधारित मानेर उहाँको मूल्याङ्कन गर्ने हो भने उहाँ जनवादी सांस्कृतिक आन्दोलन भित्र बिरलै मात्र पाइने व्यक्तित्व हुनुहुन्थ्यो । 
साहित्यकार घनश्याम ढकाललाई मैले केही साहित्यिक सांस्कृतिक प्रसङ्गहरु मार्फत नजिकैबाट बुझ्ने र अध्ययन गर्ने अवसरहरु प्राप्त गरेको छु । पुरस्कार र सम्मानको विषयलाई लिएर मैले घनश्याम ढकालको उन्नत पक्षका बारेमा नजिकैबाट अध्ययन गर्ने मौका पाएको छु । हाम्रो देशका साहित्यकारहरुले पुरस्कार र सम्मानका लागि मरिहत्ते गर्ने गरेका घटनाहरु हामीले बारम्बार पढ्ने सुन्ने र देख्ने समेत गर्ने गरेका छौं । पुरस्कार दाताहरु कहाँ चाकरी गर्न जाने साहित्यकारहरुको सूची बेलाबेलामा हामीले अखबारहरुमा पढ्ने गरेकै छौं । त्यसो नहुँदा पनि पुरस्कारको आसा गर्नेहरु प्रसस्त हुनेनै भए । तर घनश्याम  यो जमातका बीचमा धेरै पृथक हुनुहुन्थ्यो । यस्तै विषयको एउटा प्रसङ्गमा घनश्याम दाइसँग म पनि जोडिएको छु । २०६४ सालमा साहित्य सन्ध्याले साहित्य सन्ध्या पुरस्कार सिफारिस गर्न एउटा समिति बनाएको थियो । वरिष्ठ साहित्यकार आनन्ददेव भटको संयोजकत्वमा बनेको उक्त छनौट समितिमा कवि अनिल पौडेल र मलाई पनि राखिएको थियो । छनौट समितिको पहिलो बैठकमा हामीले एउटा सूची तयार ग¥यौं । त्यो सूची करिब सात आठ जनाको थियो होला । त्यो सूचीभित्र घनश्याम ढकालको नाम पनि परेको थियो । कवि अनिल पौडेलले भनिहाल्नुभयो–‘यो सूचीमध्ये सबैभन्दा उपयुक्त नाम त घनश्याम ढकाल हो ’ अनिल पौडेलको कुरासँग मैले तुरुन्तै सहमति जनाएँ । आनन्ददेव भटले पनि तुरुन्तै थपिहाल्नु भयो –‘उहाँले पुरस्कार ग्रहण गरिदिनुभयो भने त त्योभन्दा उपयुक्त मात्र अर्को को हुन्छ र ।’
हामी सबै मत सतप्रतिशत मिल्यो । तर हामी सबैमा एउटा शंका बाँकी थियो घनश्याम ढकालले यो पुरस्कार ग्रहण गर्नुहुने हो कि होइन भन्ने विषयमा हामी सबैले शंका गथ्र्यौं । केही वर्ष पहिले उहाँले राष्ट्रिय प्रतिभा पुरस्कार अस्वीकार गर्नुभएको थियो । यही शंकाका कारण साथीहरुले घनश्याम ढकालको अनुमती लिएर निर्णय गर्ने जिममा मलाई दिनुभयो ।
साँझमा घर गएर घनश्याम ढकाललाई मेले फोन गरें । उहाा त्यसबेला पोेखरामै हुनुहुन्थ्यो । मैले सबै कुरा भनिसकेपछि निर्णय गर्न मसँग एक दिनको समयावधि माग्नुभयो । उहाँले भनेकै समयमा भोलिपल्ट साँझमा फोन गरेर मसँग पनि साहित्य सन्ध्या पुरस्कार लिन उपयुक्त हुने हो कि होइन भनेर राय माग्नुभयो र मुस्किलैले ल हुन्छ नि त भन्नुभयो ।
यतिबेला पुरस्कार र सम्मान दिने कतिपय संस्थाहरु विकृतिको उद्गमस्थल जस्ता बन्न थालेका छन् । कुन पुरस्कार ठिक र कुन पुरस्कार बेठिक भनेर छुट्याउने धारणा पनि हामीले निर्माण गर्न सकिरहेका छैनौं । बीस हजार चन्दा दिएर दश पुरस्कार हात पार्दै समाचारहरुमा छाउन लोभ गर्नेदेखि लिएर नगद पुरस्कार घोषण गर्दै पुरस्कृतहरुलाई खाली खाम दिने सम्झौता गर्ने दाताहरुको नेपाली साहित्यिक बजारमा उल्लेख्य उपस्थिति छ । यो बजारभित्र घनश्याम ढकाल जस्ता मानिसहरु पनि थिए भन्दा हामीलाई अचम्म लाग्न सक्छ । पुरस्कार र सम्मानका बारेमा चर्चा हुँदा म बारम्बार घनश्याम ढकालको यो प्रसङ्गलाई सम्झने गर्छु । पुरस्कार र सम्मानका बारेको उहाँको धारणालाई हामी सबैले आत्यसात गर्न जरुरी छ । 
मैले घनश्याम ढकाललाई बुझ्न पाएको अर्को पाटो पनि छ । मेरो त्यो बुझाइले उहाँ सांस्कृतिक रुपमा सम्पन्न मानिस हुनुहुन्थ्यो । घनश्याम ढकालका पछिल्ला दिनहरु धेरै अभावमय थिए । उहाँको आर्थिक दुरावस्थाका बारेमा कवि बलराम तिमिल्सिना, कवि गणेश भण्डारी, मलगायतका केही साथीहरु राम्ररी परिचित थियौं । एकातिर उहाा आर्थिक कठिनाइ भोगिरहनुभएको थियो अर्कातिर उहाँलाई प्रस्तावित गरिएको नेपाल टेलिभिजनको अध्यक्ष पद अस्वीकार गरिरहनुभएको थियो । उहाँका अगाडि यस्ता थुप्रै सम्भावनाहरु थिए । आफ्नै विचार अनुकूलको सरकार थियो । सरकारमा बस्नेहरुले उहाँलाइ राम्ररी चिन्दथे । सरकारले नियुक्त गर्ने र घनश्याम दाईलाई अनुकूल हुने अध्यक्ष तथा महाप्रबन्धक आदि पदहरु प्रसस्तै थिए । तर उहाँले त्यतातिर लोभी आँखा लगाएको मैले कहिल्यै सुन्न पाइन । बरु, मैले पछिल्लो समयमा पार्टीमा समावेश भएकाहरु तर आन्दोलनमा कुनै लामो योगदान नभएकाहरुले केही पाइएन भनेर गुनासो गरेको मैले थुपै्र पटक सुनेको छु । तर घनश्याम ढकाल यस्को अपवाद हुनुहुन्थ्यो । तीन वर्षअघि जनयुद्धबाट आएका साहित्यकारहरु मात्र सहभागी बन्ने आन्तरिक नीति बनाएर नेपाल प्रज्ञा प्रतिष्ठान लगायत अन्य दुईवटै प्रतिष्ठानमा प्राज्ञहरुको एउटा सूची घोषणा गरियो । त्यो नियुक्तिमा पनि घनश्याम ढकालको नाम पारिएन । जसरी भए पनि आफू मात्र खाने नाममा जनयुद्धको खोलभित्र जनआन्दोलनका विरोधी मण्डलेहरुलाई अटाइयो । साथीहरको बुद्धि पुगेको भए प्रज्ञा प्रतिष्ठानको त्यो कार्यकाललाई घनश्याम ढकाल जस्ता स्रष्टाहरुको सहभागितामा धेरै सम्भ्रान्त र उन्नत बनाउन सकिन्थ्यो । तर, आफ्नो स्तरको भेउ नपाएका साथीहरुको लोभले प्रज्ञाको त्यो सानो गाइ जात्रा पर्व आखिर विघटन भएरै छोड्यो । यस्ता विषयहरुमा घनश्याम ढकालले आफू नपरेको गुनासो कहिल्यै गनुभएन । यस प्रकारका विषयहरुभन्दा समग्र सांस्कृतिक आन्दोलनमा देखिएका समस्याहरुमा उहाँ छलफल गर्न रुचाउनुहुन्थ्यो । घनश्याम ढकालबाट हामी र नयाा पुस्ताले सिक्नुपर्ने एउटा महत्वपूर्ण पाटो यो पनि हो । घनश्याम ढकाललाई सम्झदै गर्दा मलाई जहिल्यै पनि अर्को एउटा सानो घटना बारम्बार याद आइरहन्छ । प्रगतिशील लेखक संघको आयोजनमा ५५÷५६ सालतिर इटहरीमा एउटा गोष्ठी भएको थियो । घनश्याम ढकाल त्यसबेला प्रगतिशील लेखक संघको उपाध्यक्ष हुनुहुन्थ्यो । हामी काठमाडौं पन्ध्र बस्जना इटहरी गएका थियौं । इटहरीको कार्यक्रमको व्यवस्थापनामा कवि अनिल पौडेल लाग्नुभएको थियो । अनिलजी त्यसबेला प्रलेसको केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो । केन्द्रबाट गएका साहित्यकारहरुलाइृ आउने जाने खर्च र खाने बसने प्रवन्ध आयोजक स्थानीय समितिले नै मिलाउने चलन प्रगतिशील लेखक संघमा पाहिले पनि थियो र अहिले पनि छ । कार्यक्रम सकिएपछि साहित्यकार रुद्र खरेल र म झापातिर जाने भयौं । निनु दाई, घनश्याम दाइलगायत अरु साथीहरु काठमाडौं फर्कने हुनुभयो । अनिलजीले सबैलाई बस भाडा र खान खर्च दिनुभयो तर घनश्याम दाईले मसँग पुग्ने पैसा छ किन लिने ? भनेर लिनुभएन । घनश्याम दाईसँगको यो विषयले पनि मलाई कहिले काहीं निकै सोचमग्न बनाउँछ । हेर्दा यो घटना सानो लाग्छ, तर यहाँभित्र जीवन मूल्यको उचाई निकै अग्लो थियो भन्ने मलाई बारम्बार लागिरहन्छ ।
आन्दोलनमा धेरै मानिसहरु लहैलहैमा आएका छन् । नबुझिकन लहैलहैमा लागेकाहरु मध्ये केहीले आफूलाई रुपान्तरण समेत गरेका छन् तर केहीले भने आन्दोलनमा सरिक हुनु पूर्वको सांस्कृतिक अवस्था जस्तो थियो त्यस्ता कुनै परिवर्तन गर्न सकेका छैनन । कतिपय अवस्थामा उनीहरु आफूलाइृ कुनै रुपान्तरण नगरिकन नेतृत्व तहमै पुगेका छन् । नेपालको कम्युनिष्ट आन्दोलनभित्र पहिले पनि यो समस्या थियो । यो समस्या झन बढ्दै गएको छ । घनश्याम ढकालको जीवन पढ्दा उहाा कम्युनिष्ट आन्दोलनमा लहैलहैमा लाग्नुभएको थिएन । उहाँ पहिले नेपाली कांग्रेस निकट तरुण दलमा आबद्ध हुनुहुन्थ्यो । त्यसपछि तत्कालिन के.क.पा. (माले) मा संगठित हुनुभयो । मालेमा रहँदा तत्कालिन सोभियत संघलाई हेर्ने दृष्टिकोणमा उहाँको फरक विचार रह्यो । तत्कालिन सोभियत संघलाई हेर्ने दृष्टिकोमा मालेमाभन्दा उहाँले आफूलाई तत्कालिन ने.क.पा. (चौम) को नजिक रहेको पाउनुभयो र उहाा चौमतिर लाग्नुभयो । अध्ययनकै क्रममा उहाँले आफूलाइृ वैचारिक रुपले रुपान्तरित गर्दै लैजानुभयो । त्यतिमात्र होइन, सिद्धान्त र विचारअनुसार आफू स्वयंलाइृ रुपान्तरणको प्रकृयामा लानुभयो । यस अर्थमा घनश्याम ढकाल आम कम्युनिष्ट कार्यकर्ताभन्दा पृथक हुनुहुन्थ्यो । 
घनश्याम ढकाल साहित्यिक अभियन्ता र स्रष्टा दुवै क्षेत्रमा समान रुपमा सक्रिय हुनुहुन्थ्यो । यी दुईमध्ये कुनैमा पनि उहाँलाई घटिबढि गर्न सकिदैनथ्यो । लेखनमा पनि उहाँ त्यतिकै सक्रिय हुनुहुन्थ्यो । संगठनात्मक काम र सम्पादनमा उहाँको सक्रियता पनि उल्लेखनीय थियो । जहिलेदेखि उहाँ कम्युनिष्ट आन्दोलनमा आबद्ध हुनुभयो, त्यो बेलादेखि नियामित रुपमा आफूले लिएको जिम्मेबारी इमानदारीताका साथ पूरा गर्नुभयो ।
सांस्कृतिक संगठनका बैठकहरुमा उहाँ आन्दोलनकै साथीहरुमा कमजोर हुँदै गएको सांस्कृतिक पक्षहरुका बारेमा निकै कुराहरु उठाउनुहुन्थ्यो । आफूलाई समर्थन गरे सबै थोक राम्रो, समर्थन नगरे सबैथोक नराम्रो भन्ने वामपन्थी आन्दोलनभित्र हुर्किएको प्रवृतिप्रति उहाँ निकै आक्रोश व्यक्त गर्नुहुन्थ्यो । राजनैतिक पार्टीका नेताहरु र सांस्कृतिक आन्दोलनका नेताहरुमा आदर्श जीवन बिताउने क्षमता हुनुपर्छ भन्ने उहाँको धारणा थियो । घनश्याम ढकालले सिद्धान्त र विचारलाई गफ गर्ने विषयका रुपमा मात्र लिनुभएन त्यसलाई आफ्नो जीवन र कर्ममा ढाल्न पनि प्रयत्न गर्नुभयो ।
माघ २८ गते बिहानै फोन गरेर घनश्याम दाईले केही कुरा गर्न चाहेको बताउनुभयो । त्यसपछि उहाँ साढे दस बजेतिर म काम गर्ने कार्यालयमा आउनुभएको थियो ।
‘नेताहरुले हामीलाई टुक्राटुक्रा पारेर खाँदैछन् कि भन्ने लाग्न थालेको छ ।’ भेटघाटको सामान्य भलाकुसारी समेत सकिन नपाउँदै उहाँले वर्तमान राजनैतिक दृश्यप्रति चर्को आक्रोश पोख्नुभयो ।
नेतृत्वमा विकसित हुँदै गएको जीवनशैली र कार्यशैलीप्रति पहिले पहिले पनि उहाँ निकै आलोचना गर्नुहुन्थ्यो । तर त्यसदिन उहाँको आलोचना अझ कडा थियो । उहाँको छोरो सहिद विजय ढकाल विश्वासको सहादत पछि त्यो क्रम पहिले पहिलेको भन्दा अझै बढेको महशुस गरेका थियौं हामीले । आन्दोलन र पूर्णकालीनकै नाममा मोजमस्तीपूर्ण जीवन बिताउने साथीहरुको ठूलो हिस्सा झल्झली देख्नुभएको थियो उहाँले । उहाँले अत्यन्तै अभावपूर्ण जीवन बिताइरहनु भएको थियो । प्रगतिशील लेखक संघ र अखिल नेपाल लेखक संघको अध्यक्ष जस्तो गरिमामय जिम्मेवारी बोकेको उहाँ जस्तो एउटा प्राज्ञिक व्यक्तिले कीर्तिपुरको भान्सा पनि सँगसँगै भएको एउटा चिसो छिडिमा जीवन निर्वाह गरेर बस्नुपर्ने बाध्यता थियोे ।
त्यसदिनको भेटमा हाम्रा बीचमा बामपन्थी आन्दोलनभित्र हुर्कदैगएको कमजोर सांस्कृतिक पक्षको बारेमा निकै चर्चाहरु भए । उहाँको निधन हुनभन्दा दुईदिन अघि मात्र सांस्कृतिक विषयहरुमा हामीले धेरैबेर छलफल गरेका थियौं ।
२०६८ सालको फाल्गुण १ गते जनयुद्ध दिवस मनाउने तयारीमा थियौं हामीहरु । पौने एघार बज्न लाग्दै थियो । कार्यालयको टेलिफोनबाट कुनै साथीसँग कुरा गरिरहेको थिएँ । मोवाइलको घण्टी बज्यो । कवि अमर गिरीको रहेछ । कार्यालयको टेलिफोन राखेर अमरजीको फोन रिसिभ गरें ।
‘घनश्यामजीलाई के भएको हो ?’ उहाँले नै यसरी मलाई पहिलो प्रश्न गर्नुभयो ।
‘को घनश्याम ?’ उहाँको कुरालाई मैले अझ पुष्ट्याउन खोजें ।
‘घनश्याम ढकाल क्या घनश्याम ढकाल ।’ उहाा अलि आत्तिएको स्वरमा बोलिरहनुभएको थियो । ‘के भयो र उहाँलाई मलाई केही पनि थाहा छैन ।’ 
दुर्घटनामा परेर उहाँलाई वीर अस्पतालको इमर्जेन्सीमा ल्याइएको छ रे । ल तपाईं कुदिहाल्नुस त ।’ यसपछि अरु केही थाहा नभएको कुरा गर्नुभयो उहाँले ।
वीर अस्पताल नजिकै थियो मेरो कार्यालय । अस्पतालका लागि कुद्दै गर्दा बाटैबाट मैले पहिलोफोन घनश्याम दाइकै छोरी बन्दनालाई गरें र दोस्रो फोन बलराम तिमिल्सिनालाई । बन्दनाले दुर्घटनाको सूचना पाइसकेकी रहिछन् र ट्याक्सीमा आफू अस्पताल आइपुग्नै लागेको जानकारी दिइन । दुर्घटनाबाट विस्तृत जानकारी उनलाई पनि थाहा रहेनछ ।
वीर अस्पतालको इमर्जेन्सी दृश्य वार्डमा प्रवेश गर्ने बित्तिकै मैले सोच्दै नसोचेको दृश्य देखें । बन्दना आफ्ना पिता घनश्याम ढकालको मृत शरिरलाई छाँद हालेर रोइरहेकी थिइन् । साथीहरु आउने क्रम शुरु हुँदै थियो ।
मानिस जिवितै रहेको बेलामा उसको अनुपस्थितिले पार्ने प्रभावका बारेमा सोचिंदो रहेनछ । वरिपरिको वातावरणले घनश्याम ढकालको निधन अपुरणीय क्षति हो भन्ने निश्कर्ष निकाल्न झनै हौस्याइरहेको छ । आफैसँग हिडिरहेका साथीहरु हेर्छु । काम र कुराका बचिमा नाघ्नै नसकिने खाडलहरु फाट्दै गएका छन् । केही साथीहरु अभाव र पीडाका बीचमै क्रान्ति र परिवर्तनको क्षितिज नियालिरहनुभएको छ । तर यस्ता साथीहरुको संख्याभन्दा जुनसुकै तरिकाले अवशर हत्याइहालुँ भन्ने साथीहरुको संख्या बढिरहेको छ । घनश्याम ढकालको निधनका दिनहरु जतिजति बित्दै छन् उहाँको अभाव झनै खट्किदो छ । 

साँच्चैका जनकवि केवलपुरे किसान – मातृका पोखरेल


केवलपुरे किसानसँग भेट भएको पनि अढाइ दशक पुग्न लागिसकेछ । २०४४÷४५ सालतिरको कुरा हो । त्यसबेला एउटा साहित्यिक पत्रिकाले केवलपुरे किसानको एउटा अन्तर्वार्ता प्रकाशित गरेको थियो । त्यसबेला त्यो अन्तर्वार्तानिकै चर्चित थियो । सायद त्यो साहित्यिक पत्रिका ‘लहर’ हुनुपर्छ । त्यो अन्तर्वार्ता बढो रोचक थियो । सबै प्रश्नका उत्तरहरु कवितामै दिइएका थिए । म भर्खरभर्खर स्नातक पढ्न काठमाण्डू आएको थिएँ । महाभारत, रामायणका श्लोकहरुबाट प्रभावित भएको मलाई केवलपुरे किसानको त्यो कवितात्मक अन्तर्वार्ताले निकै रोमाञ्चित बनाएको थियो । मैले त्यसलाई कण्ठस्थ बनाएको थिएँ । अन्तर्वार्ताको उत्तर यसरी सुरु भएको थियो :

नौवटा प्रश्न सोधेको मलाई निकै दिन भएछ
जवाफ दिन्छु भन्दैमा पनि महिनौ गएछ

हुर्काउने मलाई केवलपुर डाँडो आजै नि उस्तै छ
गाउँको साहू खोजेर दाउ गरिब चुस्तै छ

चीललाई ख्वायो मासु कस्तो रैछ काठो
थाहा पाइनस्, ल्वाँठे बाहुन मै हुँ भन्थिस् बाठो

पाकशालाबाट म निकालिँदा काशीमा प¥यो बास
काशीमा पनि झ्याउरेले मलाई छोडेन खसोखास

यस्तैयस्तै थियो उहाँले त्यसबेला दिएको कवितात्मक अन्तर्वार्ता । त्यो अन्तर्वार्ताबाट उहाँको जीवन पूरै बुझ्न सकिन्थ्यो । मन परेको कविता कण्ठ हुन्थ्यो मलाई । यो पनि त्यसै गरी कण्ठ भयो ।
केवलपुरे किसानलाई देख्नुअगाडि नै म उहाँका कविताको ‘फ्यान’ भइसकेको थिएँ । साहित्य–सन्ध्याको एउटा कार्यक्रममा उहाँलाई देख्ने मौका जु¥यो । मञ्चमा उहाँलगायत अरु पनि साहित्यिक व्यक्तिहरु हुनुहुन्थ्यो । युद्धप्रसाद मिश्र, पारिजात, मोदनाथ प्रश्रित, रामचन्द्र भट्टराई आदिआदि । पारिजात दिदीलाई म पहिले नै चिन्दथेँ । त्यसबेला त्यो कार्यक्रममा कविताजस्तो  थियो उहाँको अभिव्यक्ति पनि त्यस्तै मिठासपूर्ण थियो । केवलपुरे किसान आएको साहित्य सन्ध्या खुब जम्थ्यो त्यसपछिका दिनहरुमा पनि । उहाँ नआएको कार्यक्रममा अलिक खल्लो लाग्थ्यो । उहाँका रचनाहरु म खोजीखोजी पढ्थेँ ।

दुई हजार छ सालको फागुन हो मैना
तेइस गते बिहीबार तिथि थाहा छैन
हलो जोत्न हुन्छ भन्दै गोरु मैले नारेँ
लामीडाँडा केवलपुरमा दिउँसै रात पारेँ

हल्लाखल्ला ठूलो चल्यो धादिङ जिल्लाभरि
पुरेत र पण्डित मलाई हेर्थे आँखा तरी
देवीप्रसाद उल्लू रैछ भन्थे बडा ठालु
बाहुन भै हलो जोत्ने बाँदर हो कि भालु

उहाँको यो कविता र जीवनयात्राले मलाई भित्रैदेखि छोयो । धेरै छुनका पछाडि पनि एउटा कारण थियो । म सानै छँदाको एउटा घटना हो यो । त्यो कारणले पनि होला उहाँको यो कविता मलाई बिछट्टै मन पथ्र्यो । त्यो घटनाको सम्झना अहिले पनि मलाई बारम्बार आइरहन्छ । साथीहरुसँग खेल्दै जाँदा एक दिन मगर बाले जोतिरहेको ठाउँमा पुगिएछ । उहाँ हाम्रो घरको हली हुनुहुन्थ्यो । हामी खेल्दै त्यहाँ पुग्दा नारिरहेको हलगोरुलाई बारीमै रोकेर मगरबा डिलमा बसेर कोदाको भुक्के रोटी खाइरहनुभएको थियो । मैले कुद्दै गएर अनौ समातेछु र गोरुलाई धपाएछु । मगरबा कुद्दै आएर ‘ल बाहुन नानी आजदेखि तिम्रो जात गयो, अबदेखितिमी हामीजस्तै भयौ’ भन्नुभयो र अनौ आफ्नो हातले समात्नुभयो । म त आतङ्कित भएँभएँ मसँग खेल्न आएका साथीहरु पनि खुबै डराए । खेल्न आएका अरु साथीहरुलाई पनि यसको जात गयो भन्ने लागेछ । म खुबै रोएँ । मसँगसँगै मेरा साथीहरु पनि रोए । हाम्रा छेउमा फेरि मगरबा आएर ‘कसैलाई पनि नभन्नू, कसैले पनि थाहा नपाएपछि जात जाँदैन’ भनेर सम्झाउनुभयो । हामीले पनि साँच्चैजस्तो ठान्यौँ । मेरो बालमस्तिष्कमा त्यसबेला त्यो घटनाले ठूलो प्रभाव पारेको थियो । मैले बिस्तारैबिस्तारै थाहा पाएँ– त्यो ठाउँमा बाहुनहरुले हलो जोत्न थालेको पनि धेरै भएको रहेनछ । कट्टर ब्राह्मण वा पुरेत पण्डितले त्यसबेलासम्म पनि हलो जोत्दैनथे । केवलपुरे किसानको हलोकाण्डको यो कविताले मलाई निक्कै प्रभाव छाडेको थियो ।
साहित्यिक जगत्सँगको मेरो सम्बन्ध विस्तारै बढ्दै गयो । ‘वेदना’ पत्रिका हुँदै साहित्यकार रुद्र खरेल र प्रगतिशील लेखक सङ्घको माध्यमबाट केवलपुरे किसानसँगको घनिष्टता बढ्दै गयो । फुर्सद भएका बिदाका दिनहरुमा साहित्यकार रुद्र खरेलसँग अग्रज पुस्ताका साहित्यकारहरुकहाँ जाने अघोषित चलनजस्तै बनेको थियो । त्यही सिलसिलामा धेरैपटक भवानी घिमिरे, श्यामप्रसाद शर्मा, केवलपुरे किसान, आनन्ददेव भट्ट, गोविन्द भट्ट आदिकहाँ पुगिन्थ्यो । भेट नभएको धेरै भएको थियो भने केवलपुरे किसान टेलिफोन गरेरै बोलाउनुहुन्थ्यो ।
केवलपुरे किसान साँच्चै जनकवि हुनुहुन्थ्यो । उदयपुरका पुराना कम्युनिस्ट कार्यकर्ता गौरबहादुर देवकोटा एकदिन मेरो कोठामा आउनुभएको थियो । सायद त्यो शनिबारको दिन परेको थियो । प्रज्ञा भवनको सानो हलमा त्यस दिन कुनै साहित्यिक समारोहको आयोजना हुँदै थियो । किसान दाइ त्यो कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो । म र देवकोटाजी त्यो कार्यक्रममा पुगेका थियौँ । किसान दाइको कविताहरुसहितको मन्तव्य सकिएपछि देवकोटाजीको उदयपुरका गाउँवस्तीमा उहाँलाई पु¥याउन सके हुन्थ्यो भने र कार्यक्रम सकिएपछि उहाँसँगै प्रस्ताव राख्नुभएको थियो । यो एउटा सानो उदाहरणमात्र हो । साँच्चैको जनबोलीमा उहाँले आफ्ना रचनाहरु सिर्जना गर्नुहुन्थ्यो र अरुसँग पनि त्यस्तै आग्रह गर्नुहुन्थ्यो । २०४८ सालको चैत्र महिनाको ‘जनता’ पत्रिकामा युद्धप्रसाद मिश्रको सम्झनामा श्रद्धाञ्जलीस्वरुप किसान दाइको एउटा कविता प्रकाशित भएको थियो । उहाँले मिश्रको श्रद्धाञ्जलीमा लेखिएको त्यो कवितामा मिश्रज्यूका कविताको भाषामा सरलताको कमी रहेको प्रसङ्ग उठाउनुभएको थियो ।

भाषाचाहिँ अली सरल भइदिए सुनमा सुगन्धै हुने
गाउँका सब ती किसानहरुको यस्तै गुनासो सुनेँ
केही सत्य भनेर घोटिन पुगेँ साँचा रहेछन् कुरा
तिम्रा ती कविता पढून अघि बढ्न भञ्ज्याङ लेक टाकुरा

मिश्रज्यूको श्रद्धाञ्जलीमा लेखिएको कवितामा पनि उहाँको यस्तो आग्रह थियो । यसले पनि साहित्य जनताले बुझ्ने र ग्रहण गर्न सक्ने हुनुपर्छ भन्ने उहाँको प्रष्ट मान्यता रहेको बुझिन्छ ।
पछिल्लो समयमा अस्पतालबाट घर लगेपछि उहाँसँग मेरो भेट भएको थिएन । एक दिन बिहान गोरखापत्र संस्थानका तत्कालीन अध्यक्ष एवम् साहित्यकार हरिगोविन्द लुइँटेलले ‘आज केवलपुरे किसानलाई भेट्न जाऊँ’ भनेर टेलिफोन गर्नुभयो । शनिबारको दिन थियो । म पनि अत्यन्त खुसी भएँ । हरिगोविन्द लुइँटेल, नरनाथ लुइँटेल र म उहाँको घर ललितपुरको हात्तीवन पुगेका थियौँ ।
त्यसबेला केवलपुरे किसान शारीरिक रुपले निकै अस्वस्थ हुनुहुन्थ्यो । तर उहाँ आफ्नो स्वभावअनुसार हामीलाई स्वागत गर्न बाहिर गेटमै आइपुग्नुभयो र कविताबाटै हामीलाई स्वागत गर्नुभयो ।

झगडाले सीमा नाघ्यो देशै अन्त दगुर्छ कि
यो देशको सगरमाथा अर्कैले पो भकुर्छ कि ।

यसो भन्दै आफ्नो स्वभावअनुसार जिब्रो निकाल्दै हाँस्नुभयो उहाँ । त्यसबेला पनि उहाँलाई देशकै चिन्ता थियो । देशका, राजनीतिका, साहित्यका, राष्ट्रियताका धेरैधेरै कुराहरु भए त्यसबेला । राजनेताहरु स्खलित हुँदै गएको चर्चाहरु भए । नेताहरुप्रति जनताको विश्वास घटिरहेको कुरा गर्नुभयो किसान दाइले । गोरखापत्रका लागि एउटा अन्तर्वार्ता लियौँ हामीले । हिँड्ने बेलामा उहाँले हामीलाई बाहिर गेटसम्मै आएर बिदा गर्नुभयो त्यसैगरी–

जखमले बोको भरखरै फुको लौरोले छेकौंला
कालले भाँजो हालेन भने म फेरि भेटौंला ।

साँच्चै, त्यसपछि उहाँलाई कालले भाँजो हालिहाल्यो । उहाँसँग मेरो अन्तिम भेट पनि त्यही रहेछ । दसैँ बिदामा उदयपुर गएको बेलामा उहाँको निधन भएको खबर गाउँमै सुनेँ ।
केवलपुरे किसानकै शब्दमा उहाँ कुनै पनि कम्युनिस्ट पार्टीको सदस्य हुनुहुन्नथियो । तर विचार र क्रान्तिप्रतिको प्रतिबद्धता धेरै माथिल्लो थियो उहाँको । केवलपुरे किसान साँच्चै जनताका कवि हुनुहुन्थ्यो । उहाँका समकालीनहरु थुप्रैले आपूmलाई बेचे र महलको सुख सयलमा डुबे । तर उहाँले त्यसो गर्नु भएन । उहाँलाई पनि त्यो अवसर प्राप्त थियो । आफ्ना विवेक र इमानदारितालाई नबेचिकन प्रतिबद्ध जीवन बाँचेर उहाँले नयाँ पुस्तालाई सुन्दर बाटो देखाइदिनुभएको छ । केवलपुरे किसानबाट नयाँ पुस्ताले सिक्ने महत्वपूर्ण कुरा यही हो । विचारको प्रवाहमा उहाँ कहिल्यै पनि विचलित हुनुभएन । केवलपुर गाउँमा जन्मेको कारणले उहाँ केवलपुरे हुनुभयो । किसानहरुप्रति पक्षधरता व्यक्त गर्न किसान उपनाम थप्नुभयो । नामबाट नै उहाँले जन्मभूमिप्रतिको आस्था र वर्गीय पक्षधरता जाहेर गर्नुभएको छ ।
किसानका सिर्जनामा जागरणको एउटा चेतना भेट्टाइन्छ । त्यो चेतनाले जहिले पनि हामीलाई इमानदार र कर्तव्यप्रति प्रतिबद्ध बन्ने प्रेरणा दिइरहन्छ ।
केवलपुरे किसान अब हाम्रा बीचमा रहनुभएन । तर, उहाँका कृतिहरुले धेरै लामो कालसम्म हामी र हाम्रा सन्ततिका मस्तिष्कहरुलाई चेतना सम्पन्न बनाउने प्रयत्न गरिरहनेछन् । साँच्चै जनताका प्रिय कवि केवलपुरे किसानलाई पुनः श्रद्धाञ्जली व्यक्त गर्दछु ।