Saturday, September 16, 2017

बाढीको आवाज – मातृका पोखरेल

चुरे जङ्गलको बीच भागमा थियौं हामी । .मध्य वर्षाको समय हुन लाग्दा पनि पानी पर्न सकेको थिएन । खडेरीको कारण प्रकृतिको अनुहारै नरमाइलो थियो । पातहरु झरेर रुखहरु नाङ्गै थिए । लामै समय भइसक्यो खडेरी परेको । पश्चिमतिरको कमला नदीको बगरमा एक कुलो पानी बगे जस्तो सानो एउटा हरीयो धर्सो देखिन्थ्यो । 
‘कमला नदी पनि सुक्छ कि क्या हो ?’ बसभित्रका यात्रुहरु पनि खडेरीले पारेको प्रभावका बारेमा बेलाबेलामा चर्चा गरिरहेका थिए । 
कमरेड प्रताप नौलो मानेर सबैतिर हेरिरहेको थियो । ऊ पूर्वतिर आएको यो पहिलोपटक हो । ऊ नयाँ ठाउँको भूगोल बुझ्ने प्रयत्न गरिरहेको थियो ।
कमरेड प्रतापसँग मेरो विवाह भएको एक वर्ष पनि पुगेको थिए । ऊ दलित पृष्ठभूमिबाट आएको थियो । उसको वास्तविक नाम थियो भीमबहादुर विश्वकर्मा । म भने ब्राह्मणकी छोरी थिएँ ।
“तिम्रो घर जाँदा मलाई कुन दृष्टिले हेर्छन् ? तिमीलाई अप्ठ्यारो पनि हुन सक्छ”, मेरो माइतलाई ऊ ‘तिम्रो घर’ भन्थ्यो । यता आउने कुरा भएपछि ऊ सशङ्कित भएर मसँग यस्ता प्रश्नहरु गरिरहन्थ्यो ।
“मेरो परिवार र आफन्तहरु त्यस्ता छैनन्”, उसलाई म सहज जवाफ दिन्थें ।
पश्चिम कैलाली उसको घर भन्नु मात्रै हो । उसको वास्तविक घर थिएन । आफ्नो बासस्थान पहिरोले बगाएपछि ऊ बच्चै भएको बेलामा उसलाई गाउँलेले उद्धार गरेर बचाएछन् । उसका हजुरबा, हजुरआमा, बाबु, आमा, दाजु, दिदीहरु सबैलाई पहिरोले खाइदियो । तर, ऊ बच्यो गाउँलेहरुको प्रयासमा । उसलाई सबैको झझल्को मात्र बाँकी छ । गाउँलेहरुको संरक्षणमा हुक्र्यो । अर्काको घरको काम गरिदिएर दुई छाक खानुपर्ने, पढ्न पाउने कुरै थिएन । ऊ तेह्रचौध वर्षको हुँदा माओवादी जनयुद्ध सुरु भयो । ऊ पनि हिँड्यो लहैलहैमा । त्यसरी हिँड्न पाउँदा उसले आफूलाई ठूलै भाग्यमानी सम्झिएको थियो ।
सहिद परिवारकी छोरी भनेर हुनसक्छ, कमरेड प्रतापले निकै सम्मान गरेको बोध हुन्थ्यो मलाई ।
पाँच–छ वर्षजति हामी दुवैले जनमुक्ति सेनाको  सिपाही भएर काम ग¥यौं । शान्ति प्रक्रयासँगसँगै सैनिक क्षेत्र छाडेर हामी पनि राजनीतिक क्षेत्रतिर आयौं, हाम्रो आफ्नै इच्छामा । जनमुक्ति सेनामा पनि त्यही क्षेत्रमा काम गरेको हुनाले प्युठान जिल्लामै बसेर हामीले राजनीतिक कार्य गर्ने निर्णय गरेका थियौं ।
“तिम्रो घर भएकै जिल्लामा पार्टीको जिम्मेवारीलाई सार्ने हो कि त ?”, एकदिन कमरेड प्रतापले मसँग कुरा राख्यो ।
मेरा लागि त्यो खुसीको कुरा थियो । घरमा एक्ली हजुरआमा थिइन् । आफन्तहरुको संरक्षणमा बसेकी । हामी दुवैजना पार्टीको जिल्ला कमिटीमा थियौं । हामी दुवैले गरेको आग्रहअनुसार पार्टीले हाम्रो जिम्मेवारीलाई स्थानान्तरण गरिदिने निर्णय ग¥यो । दलितसँगको मेरो दाम्पत्य जीवन हजुरआमाले सजिलै स्विकार्नुहुन्छ भन्ने मेरो विश्वास थियो । मेरा मावली र केही आफन्तहरु पनि त्यति धेरै रुढिग्रस्त थिएनन् । हाम्रो विवाहलाई लिएर गाउँघरमा कुरा काट्नेहरु थिए भन्ने खबर कहिलेकाहीं मेरो कार्यक्षेत्रमै पुग्थ्यो ।
साथीहरुको आग्रहमा विवाह गरेका थियौं हामीले । हामीभित्र प्रेमको भावना अङ्कुराएको कुरा साथीहरुले छनक पाएछन् । त्यसपछि उनीहरुले ढिपी नै गर्न थाले । पार्टीले हामीलाई विवाहको बारेमा सोध्यो । हामीले हुन्छ भनिदियौं । त्यसको केही दिनमै पार्टीकै आयोजनामा हामीले विवाह ग¥यौं क्रान्ति र मुक्तिको सपथ लिएर ।
बस आफ्नै गतिमा गुडिरहेको थियो । मैले गाईवस्तु हेरेर बाल्यकाल बिताएको ठाउँ हो यो । पहिलेपहिले घर आउँदा यो ठाउँ आइपुग्नेवित्तिकै म निकै भावुक हुन्थें । तर, आज मलाई त्यस्तो भनुभूति भइरहेको छैन । झल्झल्ती बाबा र ममीको अनुहार मात्रै अघिल्तिर नाचिरहेको छ । कमला नदीको बगर म देख्दादेख्दै झस्किन्छु । हिजो आफंैले खेलेर हुर्केको ठाउँ । त्यही ठाउँ आज कति विरक्तलाग्दो छ । 
घर पुग्न लाग्दा म झन्झन् हतारिएकी थिएँ हजुरआमालाई भेट्न । पश्चिमतिर घाम डुब्ने तरखरमा थियो । बाबाआमाको सम्झनाले अलिक बढ्तै भावुक बनेकी थिएँ आज ।
“हाम्रो बाबालाई हत्या गरेको ठाउँ त्यही हो”, मैले प्रतापलाई कमला नदीपारिको काँसघारीमा देखाएँ ।
कमरेड प्रतापले त्यो ठाउँभन्दा टाढाको बस्ती र अझै परको जङ्गलसम्मै आँखा पु¥यायो । 
“घर आउनै लाग्यो ?”, उसले सोध्यो । 
“हो, नजिकै छ”, मैले छोटो उत्तर दिएँ । बसका केही मान्छेहरु हामीतिर हेरिरहेका थिए । कसैले चिनेका पनि थिए होलान् । तर, मैले कसैलाई खुट्याउन सकिनँ । 
घर नआएको पनि झन्डैझन्डै सात वर्ष पुगिसकेको रहेछ । ०५५÷०५६ सालतिर राज्यले चलाएको ‘किलो सेरा टु’ नामको अपरेसनले गाउँ पूरै आतङ्कमा डुबेको थियो । बाबा शिक्षक जागीर खानुहुन्थ्यो । पार्टीप्रति वैचारिक आस्था राख्नुहुन्थ्यो । आस्था राखेकै भरमा प्रहरीहरुले बाबालाई अनावश्यक दुःख दिन थाले । गिरफ्तार गर्ने, यातना दिने, अनावश्यक रुपमा तारिखमा राखिदिने जस्ता प्रहरीहरुको व्यवहारले उहाँ जागीर छाडेर भूमिगत हुन बाध्य हुनुभयो । बाबा भूमिगत भएको केही समयपछि नै प्रहरीहरुले गिरफ्तार गरेर उहाँको हत्या गरे । प्रहरीहरुले त्यसपछि पनि हाम्रो परिवारमाथि दमनको सिलसिला कायम राखे । प्रहरीहरुले हजुरआमा, आमा र मलाई पनि अनावश्यक रुपमा गिरफ्तार गर्ने र यातना दिन थाले ।
“छोरी तँ पनि भूमिगत जा”, अति भएपछि एकदिन आमाले मुटु बलियो पारेर मसँग भन्नुभयो । प्रहरीहरुबाट बारम्बार पाइरहने यातनाहरुबाट सोझी आमा पनि निकै परिपक्वजस्तै भइसक्नुभएको थियो ।
“सधैंको यो तनाव झेल्नुभन्दा बरु भूमिगत जानै ठीक हो । त्यो मेरो आस्थाको पनि कुरा हो”, आमाको प्रस्ताव मलाई आखिरीमा ठिकै लाग्यो ।
कक्षा नौको पढाइ बीचमै छाडेर म पनि कष्टकर बाटो रोज्न बाध्य भएँ । मेरा लागि घरमा हजुरआमा र आमालाई एक्लै छाडेर हिँड्न पक्कै पनि सजिलो थिएन । म हिँड्दा बाबाको हत्या भएको छ महिना मात्र भएको थियो । गाउँमा प्रहरी आतङ्क व्याप्त थियो । मुटु दह्रो पारेर म पनि अग्निपथमा दौडिएँ ।
केही महिना मलाई पार्टीले आफ्नै क्षेत्रवरिपरिको काममा खटायो । त्यही बीचमा सेनाले गिरफ्तार गरेर आमालाई अत्यन्त पाशविक ढङ्गले हत्या ग¥यो । गिरफ्तार गरेकै रात सैनिक क्याम्पको चौरमा आमालाई नै रातभरि खाल्डो खन्न लगाएर विहानपख त्यही खाल्डोमा जिउँदै पुरेर हत्या गरिएछ । यो कुरो एक कान, दुई कान मैदान हुँदै सबैतिर पुग्यो । साथीहरुले मलाई थाहा नदिने प्रयत्न गर्दागर्दै पनि मैले सुनें । मेरा लागि त्यो घटना सामान्य छँदै थिएन । पूरै आकास खसेर म पुरै थिचिए जस्तो महशुस भयो । सुरक्षाको कारणले पार्टीले मलाई पश्चिमको प्यूठानतिर पठाउने निर्णय ग¥यो । हजुरआमाको उचित व्यवस्थापनको जिम्मा लिने निर्णय ग¥यो पार्टीले । हजुरआमालाई खबर पठाएर म पनि पश्चिमतिर हिडें ।


हामी आउने खबर गाउँमा पहिले नै पुगिसकेको रहेछ । बसभित्रैबाट देखें, बसपार्कमा मेरा साथी र आफन्तहरुको भीड लागिरहेको थियो ।
“अब हाम्रो घर आइपुग्यो”, मैले प्रतापलाई बसको अघिल्तिर देखाएँ । 
बसबाटै भीडमा आँखा घुमाएँ मैले । हजुरआमा हुनुहुन्नथ्यो । माझघरे भाउजू र जिज्ञासा भीडमा सबैभन्दा अघिल्तिर थिए । जिज्ञासाको घरमै बस्नुहुन्थ्यो हजुरआमा । तर, त्यो भीडमा त जिज्ञासा मात्रै छन् । मनभित्र चिसो पस्यो ।
“करुणा आइपुग्यौ ?”, बसबाट ओर्लनेवित्तिकै भक्कानिएर रोइन् माझघरे भाउजू ।“जिज्ञासा, खै त हजुरआमा कहाँ हुनुहुन्छ ?”, माझघरे भाउजूको कुनै उत्तर नदिइकन म जिज्ञासातिर मोडिएँ । भीडको पछिल्तिर उभिइरहेको थियो दिनानाथ । अहिले ऊ हाम्रै पार्टीको स्थानीय नेता भएको छ । हिजो कति दुःख दिएको थियो । उसको विगत सम्झेर मन कटक्क काटियो । दिनानाथवरिपरि उसका आसेपासेहरु पनि थिए । ती सबै अहिले हाम्रै पार्टीका कार्यकर्ता भएका थिए । “हजुरआमाको के कुरा गर्नु ? म पछि गरुँला”, जिज्ञासाको अनुहारमा विषादपूर्ण छायाँ देखियो ।
भीडतिर आँखा डुलाएर हेरें । अहँ कतै हुनुहुन्न हजुरआमा । म आउने खबर सुन्नेवित्तिकै पक्कै दोडेर आउनुहुन्थ्यो । तर, यहाँ हजुरआमा हुनुहुन्न किन ? मभित्र विभिन्न शङ्काउपशङ्काका तरङ्गहरु प्रवाहित भइरहेका थिए । “पहिलेपहिलेको भन्दा दुब्ली भइछस् नि”, मेरो ध्यान यी सबै कुराहरुमा थिएन । म हजुरआमालाई भेट्न चाहन्थें । मलाई त्यहाँ उभिएर आफन्तहरुसँग भलाकुसारी गरिरहन मन लागेन । त्यहाँबाट जिज्ञासाको घर नजिकै थियो । हजुरआमा त्यहीं बस्नुभएको थियो ।
साँझ पर्नै लागेको थियो । आफन्तहरुसँग विदा माग्दै म बसस्टैडबाट घरतिर दौडिएँ । जिज्ञासा र माझघरे भाउजू पनि मलाई पच्छ्याउँदै आए ।


“किन बाँचेकी त आफू मात्रै ?”, अस्वाभाविक हाँसो हाँस्दै हजुरआमा घरबाट बाहिर निस्किन् । उनको भनाइ र हँसाइबाट कमरेड प्रताप पनि अचम्मित भयो । हजुरआमा हाँस्दै पल्लाघरतिर लागिन् ।
मैले जिज्ञासाको अनुहारतिर हेरें ।
“हजुरआमाको मानसिक सन्तुलन ठीक छैन”, जिज्ञासाले हाम्रो मौन प्रश्नको जवाफ दिई ।
“मानसिक सन्तुलन !”, प्रताप अकमकियो ।
“मलाई त यसबारेमा कुनै जानकारीनै थिएन”, म पनि जिज्ञासातिर फर्किएँ ।
“तिम्रो कामलाई डिस्टर्ब होला भनेर हामी सबैको सल्लाहअनुसार तिमीलाई जानकारी नदिएको । हजुरआमालाई हामी सबैले सम्भव भएसम्मका उपचार गरिरहेका थियौं । काठमाडौं र पटना सबैतिर पु¥यायौं । आखिर योभन्दा बढी गर्न तिमीलाई पनि सम्भव थिएन”, जिज्ञासाले मैले सोधेभन्दा वढतै स्पष्टीकरण दिइन् ।
“ऊ त्यहीं थियो हाम्रो घर । आमाको हत्यापछि शाही सेनाले आएर हाम्रो घर आगो लगाइदियो”  आगोले खाएर खण्डहर भएको घरतिर देखाउँदै कमरेड प्रतापलाई भनें ।
कमरेड प्रताप आगोले डढेर भत्किएको भग्नावशेषतिर हेरेर टोलाउन थाल्यो ।
पहिलेझैं पारिपट्टि कमलाको बगर लम्पसार परेर सुतिरहेको थियो । त्यसको पल्लापट्टि चुरे जङ्गल अजिङ्गर लडेझैं डङरङ्ग लडिरहेको थियो । पहिलेपहिलेझैं अज पनि कमलाको बगरबाट चराहरु चिरबिर गर्दै बास बस्न आइरहेका थिए । यी सबै कुराहरु देखेर आज मलाई कुनै रमाइलो अनुभूति भइरहेको थिएन ।
हजुरआमा फेरि अफ्नो कोठाभित्र पस्नुभयो । हामीप्रति कुनै मतलब राख्नुभएन ।
“हजुरआमा, ऊ करुणा दिदी आउनुभयो”, जिज्ञासाले हजुरआमाको ध्यान हामीतिर तान्ने प्रयत्न गरिन् । तर, हजुरआमा कोठाभित्र बसेर मौन हुनुभयो । 
“आमालाई हत्या गरेको ठाउँ कता हो ?”, कमरेड प्रताप एकैसाथ धेरै कुरा बुझ्ने प्रयास गरिरहेको थियो ।
“यहाँबाट पूर्व पर्छ । ताराघारी भन्ने ठाउँ । त्यहाँ सैनिक क्याम्प छ”, मैले हातको इसाराले पूर्वतिर देखाएँ ।
प्रताप मसँग अरु धेरै सोध्न खोज्दै थियो । तर, मलाई प्रतापको कुराभन्दा हजुरआमाको विरामीको चासो बढिरहेको थियो । म हजुरआमाको कोठातिर पसें ।
म जे कुरा सोध्थें । हजुरआमा अर्कै कुरा गर्नुहुन्थ्यो ।
“के डाक्टरले हजुरआमालाई ठीक हुनसक्दैन भनेको छ ?”, मैले कोठैबाट जिज्ञासालाई सोधें ।
“डाक्टरले केही औषधिहरु दिएको छ । कहिलेकाहीं राम्रो हुन्छ । अत्यन्तै होसका कुराहरु गर्नुहुन्छ । कहिलेकाहीं यस्तै हुन्छ”, जिज्ञासाले पनि खिन्नता प्रकट गरी ।
“हजुरआमालाई कहिलेदेखि यस्तो भयो ?” मैले जिज्ञासालाई  सोधेँ । 
“काकीको हत्यापछि उहाँको अवस्था असामान्य हुँदै गयो ।” जिज्ञासा बिस्तारै बोली । 
मेरी आमालाई जिज्ञासा काकी र वावालाई काका भनेर सम्वोधन गर्थि । मेरा लागि हजुरआमाको यो अवस्था जानकारीभन्दा टाढा थियो । बाहिर आँगनमा भेट्न र हेर्न आउनेको भीड क्रमशः बढ्दै थियो । भेट्न आउनेहरुले हजुरआमाको अवस्थाबारे बताइरहेका थिए । जिज्ञासा पनि बोलिरहेकी थिइन् । पहराको मूलबाट निस्किएको पानीझैं मेरा आँखाबाट निस्किएका आँसुहरु अनुहार छिचोलेर भुइँमै झरिरहेका थिए । सबैका कुरा सुनेर नजिकै बसेको प्रतापले पनि आफूलाई सम्हाल्न सकिरहेको थिएन । ऊ पनि भुइँतिर निहुरिएर घुँक्कघुँक्क रोइरहेको थियो ।
कुनैकुनै बेला हजुरआमा सहज हुनुहुन्थ्यो र मलाई सुम्सुम्याएर रुनुहुन्थ्यो ।
“अन्न हालेझंै मान्छेलाई बोरामा कोचेर लगे असतीहरुले... उसैलाई खाडल खन्न लगाएर त्यही ज्युँदै पुरेर मारे । मान्छे पनि त्यति अपराधी हुन सक्दोर’छ”, ठीक भएको बेला मलाई सुम्सुम्याउँदै बारम्बार भन्नुहुन्थ्यो ।

भेटघाट, कुराकानी र हजुरआमाको स्याहारसुसारमा हाम्रा केही दिन बिते । राम्रो घर बनाउन सक्ने अवस्था थिएन । आफन्त र स्थानीय पार्टीको सहयोगले पुरानो घडेरीमा एउटा कटेरो उभ्यायौं । दुःखजिलो गरेर त्यसैमा बस्न सक्ने स्थितिसम्म भयो । केही थोरैतिनो जग्गा थियो । त्यसलाई आफैंले सँगाल्यौं । दलितसँग विवाह भएकाले केही आफन्तहरु हामीसँग टाढै रहन चाहन्थे । उनीहरुको मनोविज्ञान हामी दुवैले राम्रैसँग बुझेका थियौं । त्यसैले पनि हामी त्यस्तो सोचाइ राख्ने आफन्तहरुको घर जाँदैनथ्यौं । गए पनि बाहिरबाटै बिदा हुन्थ्यौं । मभन्दा यो कुरामा प्रताप अझ बढी सचेत हुन्थ्यो ।
“अब पार्टीको काममा जोडिनुपर्छ”, एकिदिन बिहानै कमरेड प्रतापले मलाई झक्झक्यायो ।
“पार्टीले पठाएको पत्र मैले जिल्ला पार्टी कार्यालय, उदयपुरमा दर्ता गराइसकेकी छु । हामीलाई यही क्षेत्रको जिम्मेवारी दिने कुरा भएको रहेछ”, मेरो कुराले ऊ खुसी भयो । 
पहिलेजस्तो थिएन पार्टीको अवस्था । शान्ति प्रक्रियापछि पार्टीको विस्तार अभुतपूर्व रुपमा भयो । हिजो प्रतिक्रियावादी शक्तिका मतियार भनेर हामीले नै कारबाहीको योजना बनाएका मानिसहरुमध्ये कैयौं हाम्रै पार्टीका कार्यकर्ता भइसकेका थिए । त्यसमध्ये कोहीकोहीले त जिम्मेवार ठाउँ नै हात पारिसकेका थिए ।
“यी मानिसहरुले पार्टीलाई कहाँ पु¥याउलान् हँ ?”, एकदिन बेलुका मैले कमरेड प्रतापसँग छलफल गर्न खोजें ।
“पार्टीमा लागेपछि यिनीहरु पनि परिवर्तन भइहाल्छन् नि”, उसले ढुक्क भएर कुरा ग¥यो ।
“यिनीहरु परिवर्तन हुन्छन् कि यिनीहरुले पार्टीलाई परिवर्तन गर्छन् ?”, आफूभित्र बारम्बार उठिरहेको प्रश्नलाई मैले जोड दिन खोजें । 
मेरा कुरा सुनेपछि प्रताप फिस्स हाँस्यो । केही पनि बोलेन ।
“हिजो प्रतिक्रियावादी शक्तिको आडमा हुन्जेल यिनीहरुको व्यवहार जस्तो थियो, अहिले पनि त्यस्तै छ”, म कमरेड प्रतापलाई छलफलमा उतार्न चाहन्थें ।
“यो चिन्ता पार्टीभित्र धेरैतिर उठिरहेको छ”, उसले यति भनेर आफ्नो कुरालाई सिध्याउन खोज्यो ।
कमरेड प्रतापको स्वभाव नै यस्तै हो । गम्भीर विषयहरु उठेका बेला पनि ऊ ‘रिजर्भ’ बसिदिन्छ । छलफल र बहसहरुमा सक्रिय भएर भाग लिन ऊ तत्पर देखिँदैन ।

झमक्क साँझ परिसकेको थियो । दिनानाथ बिरालोले चाल मारेरझैं आए । मलाई उनको स्वभाव सानैदेखि थाहा थियो । उनी कुनै नयाँ कुरा लिएर आएका छन् भन्ने मलाई लागिसकेको थियो । उनी नेपाली काङ्ग्रेसको तर्फबाट यसै ठाउँको दुईपटकसम्म गाविस अध्यक्ष पनि भइसकेका मानिस हुन् । त्योभन्दा पहिले पञ्चायतमा पनि उनी प्रधानपञ्च थिए । शान्ति प्रक्रियापछि दिनानाथ हाम्रो पार्टीमा प्रवेश गरे । उनीसँगसँगै उनका नजिकका मानिसहरु पनि पार्टी प्रवेश गरे । दिनानाथ त्यसका अगुवा थिए । त्यही भएर पार्टीले उनलाई उदयपुर जिल्ला कमिटीमा राखेको थियो र उनी यस क्षेत्रको ‘इन्चार्ज’ पनि थिए ।
हाम्रो आगमनले दिनानाथ चिन्तित भएको कुरा साथीहरुले हामीलाई आएर सुनाउने गर्थे । पार्टीका लागि सङ्कटको घडीमा दुःखकष्टका साथ काम गरेका साथीहरु क्रमशः छेउ लागिरहेका थिए । पार्टीका पुराना साथीहरु हाम्रो आगमनले खुसी थिए । 
दिनानाथ हामीसँग केही कुरा गर्न खोजिरहेका छन् भन्ने उनको भावभङ्गीमाबाट राम्रैसँग बुझ्न सकिन्थ्यो । तर, कुरा सुरु गर्न सकिरहेका थिएनन् ।
“यति साँझमा केका लागि आउनुभयो, काका ?”, उनलाई कुरा गर्न सजिलो होस् भनेर मैले बाटो खोलिदिन खोजें ।
“नानीहरुसँग एउटा जरुरी कुरा गर्नु थियो । त्यसैले आएको”, मनभित्रको एक कुनामा विषथैलो लुकाएर बाहिर मिठो बोले उनले ।
“के हो भन्नुस् न ?”, मैले उनलाई अझै आग्रह गरें ।
“करुणा नानी, तपाईंले दलितसँग विवाह गरेकोमा मलाई धेरै खुसी लागेको छ । तर, हाम्रा साथीहरुको समान चेतना छैन । फेरि तपाईंहरु दुवैजना पार्टीको जिम्मेवार मान्छे । बरु हामी यो गाउँपार्टीबाट आर्थिक सहयोग जुराएर तपाईंहरुलाई काठमाडौंमै बस्ने व्यवस्था मिलाउँछौं । म तपाईंहरुसँग त्यही प्रस्ताव राख्न आएको”, आफ्नो कुरा राखेर उनी हाम्रो प्रतिक्रिया बुझ्न एकछिन रोकिए ।
दिनानाथले यसो भनिरहँदा मेरो टाउको फुट्लाजस्तो भइरहेको थियो । नजिकै बसिरहेको कमरेड प्रतापतिर हेरें मैले । ऊ कुनै गहिरो विषादभित्र डुबिरहेको थियो । हामीनजिकै उभिइरहेकी थिई जिज्ञासा । उसको अनुहार फुट्न लागेको ज्वालामुखीजस्तो देखिएको थियो ।
“त्यसो भए पार्टी अब शोषक, फटाहाहरुको पोल्टामा पुगिसक्यो ?”, जिज्ञासाले एकाएक आक्रोश पोखी ।
“त्यसो होइन, चुनाव आउन लागेको छ । चुनावलाई प्रभाव पर्ला भन्ने चिन्ता हो हाम्रो”, पराजित स्वर ओकल्यो दिनानाथले ।
“त्यसो होइन । तिमीहरुको चेतना नै त्यस्तो हो । दलित विवाहलाई त झन् प्रोत्साहित गर्नुपर्छ । तिमीहरु यो क्रान्तिकारी पार्टीलाई भ्रष्ट बनाउने तत्वहरु हौ । यस्तो भनाइ क्रान्तिकारीहरुको हुनै सक्दैन । फेरि चुनावमा के परिणाम आउँछ भनेर क्रान्तिकारीहरुले समाजरुपान्तरणको अभियान रोक्दैनन्”, जिज्ञासा कड्कँदै थिई ।
वरिपरि मानिसहरु झुम्मिन थाले । विस्तारै भीड बढ्दै गयो ।
“यस्ता मानिसहरु पसेर पार्टी बिग्रँदै गयो”,’ भीडभित्रैबाट फेरि कसैको आवाज आयो ।
मानिसहरुबाट आएको प्रतिक्रिया सुनेर दिनानाथको अनुहार कालो बादलले ढाकेको आकासजस्तै भयो ।
“पार्टी सदस्य हुनेवित्तिकै उसको चेतना प्रगतिशील हुन्छ भनेर ठान्नु हुँदैन”, फेरि अर्को आवाज । 
“पार्टीलाई वदनाम करुणा र प्रतापले गरेका होइनन् । उनीहरुले पार्टीको इज्जत बढाएका छन् । तिमीहरुजस्तो राजनीतिलाई व्यापार बनाउनेहरुले पार्टीलाई वदनाम बनाएका हौ”, खड्का बाजे दिनानाथतिर फर्केर औंला उठाइरहेका थिए ।
खड्का बाजे अर्थात् पदमबहादुर खड्का । यो क्षेत्रको पुरानो कम्युनिस्ट कार्यकर्ता । उहाँले धेरै जेल, नेल र हण्डर खानुभयो । त्यही कारण पारिवारिक र आर्थिक अवस्था पनि डावाँडोल भयो । यस क्षेत्रमा कम्युनिस्ट आन्दोलन स्थापित गर्न उहाँको पहिलो भूमिका थियो । 
भीडबाट आएका कुराहरु सुनेर दिनानाथको छटपटी बढिरहेको थियो । उनीप्रतिको आक्रोश झन्झन् फैलिने क्रममा थियो ।
“दिनानाथ काका, भोलि भेटेर कुरा गरौंला”, मैले स्थिति उत्तेजक बन्ने डरले सामान्यीकरण गर्ने प्रयत्न गरें ।
मेरो कुरा भुइँमा झर्न नपाउँदै उनी लुसुक्क बाटो लागे ।

“मैले हिजो भनेको कुरालाई तिमीले गम्भीरतापूर्वक लिएका थिएनौ नि”, मैले राति कमरेड प्रतापसँग अघि भएको घटनाको समीक्षा गर्न खोजें ।
“अन्ततः प्रतिगामी चिन्तन कमजोर हुन्छ भनेको थिइनँ त मैले”, ऊ आफ्नो कुरा माथि पार्ने प्रयत्न गर्दै थियो । 
आजको घटनाले मलाई एउटा उत्साह थप्यो । हजुरआमालाई बोलाएँ । उहाँ निदाइसक्नुभएको रहेछ । दुई तीन. दिन देखि परिरहेको पानीझरी आज दिउँसो मुसलधारे पानी परेपछि रोकियो । पानी पर्न सुरु भएपछि गाउँका मानिसहरु खेत रोपाइँ गर्न पाइने आशामा खुशीले गदगद थिए । 
“पार्टीलाई दक्षिणपन्थी हुनवाट वचाउन हामी पनी कमला नदीमा आए जस्तै वाढी वन्न र पार्टी भित्रको फोहोरलाई वगाउन जरुरी छ ।” प्रतापलाई म यो विषयमा सचेत वनाउन चाहन्थे तर उ मौन वसेर मेरा कुरा सुन्यो मात्र ।
“बाढी त ठुलै आए जस्तो छ १” प्रतापले अँध्यारोमा झ्यालबाट पश्चिमतिर हेर्दै भन्यो । कमला नदीमा आएको बाढीको आवाज यहींसम्मै सुनिएको थियो ।

No comments:

Post a Comment