Saturday, September 16, 2017

म नास्तिक थिएँ - मातृका पोखरेल

म नास्तिक थिएँ 


त्यस दिन म कसरी मरें मलाई पनि थाहा भएन । बाढी आएको नदीको छेउमा हिंडिरहेको याद छ ,शायद त्यही नदीमा परेर मरेको हुनसक्छु । म ब्यँुझदा नर्कलोकमा पुगेको रहेछु । मेरो अगाडि यमराज थियो र ऊ मलाई हेरेर हड्बडाइरहेको थियो ।
“यसलाई किन ल्यायौ ?” उसले आफ्ना सीपाहीहरूलाई क्रोधित हुँदै भन्दै थियो । “किन र महाराज ! यसको आयु पूरा भैसकेकै थियो ” सीपाहीहरु विनयशील भएर विन्ती चढाइरहेका थिए ।
“ए विस्तारै बोल,मनुष्य लोकबाट आएकाहरुले यसका कुरा सुने भने फेरि हाम्रा बिरुद्धमा आन्दोलन गर्छन् । ” यमराजले आफ्ना सिपाहीहरुलाई सचेत गरायो ।
“यसलाई हामीले केही पनि गर्न सक्दैनौ । यो हामीसँग डराउँदैन पनि । यो पुरै नास्तिक हो नास्तिक । ” यमराज सानो स्वरमा तर हड्बडाएर कराइरहेको थियो । “ए ! तँ नास्तिक होस् ?” सिपाहीहरु पनि मलाई देखेर छक्क परे ।
मसँगै लगिएका अरु मानिसहरुले पनि मेरो कुरा ध्यानपूर्बक सुनिरहेका थिए र एकआपसमा कानेखुशी गरिरहेका थिए ।
यमराज र उसका सिपाहीहरू डराएको देखेर म पनि उत्साहित हुँदै गएँ र सगर्व ठूलो स्वरमा भनिदिएँ “हो म नास्तिक हूँ । इश्वरको सत्तासँग मलाई अलिकति पनि विश्वास छैन । ” “यसले हाम्रो सत्तालाई धावा बोल्ला । अरुलाई उक्साएर बिद्रोह गर्न सक्छ । यसलाई उसकै लोकमा पु¥याइदेऊ । ” यमराजले सिपाहीहरुलाई आदेश दियो । मानिसहरुको भीडबाट यमराजका सिपाहीहरुले मलाई छुटाएर लान लागे ।
“हामी पनि नास्तिक हौं । तिमीहरुको सत्तासँग हामीलाई पनि विश्वास छैन । ” भीडबाट ठूलो आवाज आइरहेको थियो । त्यही आवाजले म झल्यास्स निद्राबाट ब्युझिएँ । त्यसपछि म कसरी बाँचे मलाई राम्ररी थाहा छैन ।

000




No comments:

Post a Comment