Saturday, September 16, 2017

इतिहासको चिहानमाथि उभिएर- मातृका पोखरेल

सदरमुकाम गाईघाटबाट केन्द्राध्यक्ष तोकिएको पत्र बुझेर उही दिन साँझमा म उदयपुरगढी आइपुगेको थिएँ । उदयपुरगढी मेरा लागि कुनै नौलो ठाउँ थिएन । उदयपुरको रूपाटारमा घर भएको हुनाले सानै उमेरमा नून बोक्न दुईचार पटक बाबुको पछि लागेर यही बाटो हुँदै लहान बजार पुगेको राम्रैसँग सम्झना छ । अब त यो ठाउँमा पाइला नटेकेको पनि धेरै वर्ष पुगिसकेको रहेछ । अझ नयाँ कुरो त यस पटक गाईघाटबाट नेपालटार हुँदै गाडी चढेर म यहाँ आइपुगेको थिएँ ।
उदयपुरगढी आइपुग्नेबित्तिकै मलाई बस्ने ठाउँको प्रबन्ध गर्नु थियो । कच्ची बाटोमा गाडीको लामो यात्रा । म प्रशस्तै थाकेको थिएँ ।
मभन्दा पहिलापहिला आउने कैयौँ केन्द्राध्यक्षहरू स्थानीयवासीहरूकै घरमा आश्रय लिन्थे । तर मलाई भने त्यो सौभाग्य प्राप्त हुने सम्भावना थिएन । म दलित पृष्ठभूमिको मान्छे थिएँ । उदयपुरगढीमा दलित पाहुना पाल्ने हैसियत राख्दैनथे । अलिअलि हुनेखाने दलित समुदायका मानिसहरू पनि बसाइँ सरेर त्यहाँबाट अन्यत्रै गइसकेका थिए ।
म आइपुगेको जानकारी पाउनेबित्तिकै शिक्षक साथीहरू भेट्न आइपुगे । सामान्य भलाकुसारीका साथ हामीले एकएक कप चिया पियौँ । मलाई त्यही होटेलमा एक रात बास बस्ने व्यवस्था मिलाएर उनीहरू मेरा लागि कोठाको खोजीमा निस्किए ।
बेलुका खाना खाएर त्यही होटलको एउटा कोठामा म सुत्ने तर्खर गर्दै थिएँ । होटलवाला खुशीको खबर सुनाउन आएझैँ हतारिँदै अचानक कोठाभित्र बस्यो ।
“सरलाई यहीँ हाम्रो होटेल नजिकैको घरमा कोठा मिल्यो । त्यो घरमा परीक्षा दिन आएका अरू विद्यार्थीहरू पनि बस्छन् । तपाईंलाई पनि सजिलो । हाम्रै होटेलमा खाना खाए भइहाल्छ ।” उसले एकै पटकमा सबै कुरा भन्न खोज्यो ।
होटेलवालाको कुरा मैले बुझिसकेको थिएँ । ऊ मेरो लागि कोठा पाइएकोमा खुशी भएको नभएर आफ्नो होटेलको व्यापार बढ्ने देखेर खुशी भएको थियो । एउटा व्यापारीले त्यति कुरा चाहनु अन्यथा पनि थिएन ।
“ठिकै भएछ नि !” मैले पनि उसलाई ढाडस दिँदै भनेँ ।
होटेलवाला सँगसँगै अर्को मानिस पनि आएको थियो । ऊ अघिदेखि मसँग झनै नजिक हुन खोजिरहेको थियो । होटेलवालाले बोलेको कुरालाई समर्थन गर्ने नाममा झन् धेरै कुरा बोल्न भ्याइसक्थ्यो । त्यो अर्को मान्छे होटेलवालाकै भाइ हुनुपर्छ भन्ने मैले लख काटेँ ।
“लौ त सर, राम्ररी आराम गर्नुस् है ।” होटेलवाला दाजुचाहिँ सिँढी ओर्लेर झरिसकेपछि ऊ मबाट बिदा भयो ।

उदयपुरगढी पहिले उदयपुरको सदरमुकाम । २०२८ सालदेखि सदरमुकाम यहाँबाट गाईघाट सारियो । यस ठाउँका मानिसलाई पत्तै नदिईकन सारियो । पच्चीस(छब्बीस सालतिर मोटरबाटो पुगेको ठाउँ र अहिले हेर्दा अरू गाउँसरह नै पिछडिएको देखिन्छ । त्यसबेलाका अड.डा अदालतका पुराना भग्नावशेषहरू अझै पनि यत्रतत्र छरिएको देख्न पाइन्छ ।
दिनभरि उदयपुरगढीका केही महŒवपूर्ण ठाउँ घुमेँ र विद्यालयमा गएर एस.एल.सी. परीक्षा सञ्चालनसम्बन्धी केही कामहरू गरेँ । साँझमा होटेलमा खाना खाएपछि होटेलवालाको भाइ मलाई नयाँ कोठा देखाउन अघि लाग्यो ।
मलाई कोठासम्म ल्याइदिने मान्छे निकै रसिलो र फस्र्याइलो रहेछ । जतिबेला नि हाँसेरै कुरा गर्ने । मनमनै सोचैँ, यो मान्छेको कारणले पनि करिब दुई हप्ताको बसाइ निकै रमाइलो हुने भयो ।
“दाइको घरचाहिँ कता हो नि ?” उसको फस्र्याइलोपन देखेर मलाई बुझ्ने उत्सुकता जाग्यो ।
“मेरो घर यहीँ तल चुलाढुङ्गा हो । घर भन्नु मात्रै हो नि सर ! म त पक्का सर्वहारा ।” खितितिति हाँस्दै मैले सोधेभन्दा बढ्ता जबाफ फर्कायो उसले ।
“त्यत्रो होटेल र घर भएको मान्छे केको सर्वहारा ?” म ऊसँग अरू गफिन चाहन्थेँ ।
“त्यस्तो होटेल मेरो कहाँ हुनु सर ! त्यो होटेलवाला मेरो मामाको छोरो हो । कसैकसैलाई त होटेल मेरै हो भनिदिन्छु ।” ऊ फेरि खित्का छाडेर हाँस्यो ।
“तपाईंका परिवारचाहिँ कहाँ छन् नि ?” म ऊसँग झन् खुलेर कुरा गर्न चाहन्थेँ ।
“विवाह गरेको पाँचै महिनामा स्वास्नी पोइल हिँडी । त्यसपछि विवाह गर्न मनै लागेन । बाबु म सानै हुँदा बितेका रे ! मैले देख्नै पाइनँ । मैले थाहा पाउने भए पछि आमा पनि बितिन् । मामाकै घरमा बसेर हुर्किएँ । म त यहाँका कम्युनिस्ट भन्दा पनि धेरै सर्वहारा हो क्या सर !” ऊ फेरि मैले खोजे बढ्तै उत्तर दिएर आफ्नै शैलीमा खितखितायो ।
“ए ! सर पनि कम्युनिस्ट नै हो अरे भन्ने सुनेको थिएँ !” मतिर हेरे बिर्सिएको कुरा सम्झिएजस्तै ग¥यो उसले ।
“कहाँ सुन्नुभयो तपाईंले ?” मलाई उसको कुरा झनै रमाइलो लागिरहेको थियो ।
“सर आउनुभन्दा धेरै पहिला हल्ला पुगेको थियो ।” उसले फेरि आफ्नो शैली दोहो¥याउँदै हाँस्यो ।
“ढोका खोलेर नसुत्नुहोला नि सर ! राति तर्साउला !” मसँग बिदा भएर ऊ बाहिरिन लाग्दै थियो । म उसलाई रोकेर केही अरू कुराहरू गर्न चाहन्थेँ । उसको कुराले मलाई मौका थपिदियो ।
“केले तर्साउँछ ?” मैले उसलाई कोठाभित्र आउन आग्रह गर्दै भनेँ ।
“यो घरमा राति सुतेको बेला भूत आएर पलङ नै बाहिर लान्छ भन्छन् ।” मलाई डर देखाएझैँ गरेर फेरि हाँस्यो ऊ ।
“मलाई यस्तो भूतघरमा किन कोठा खोजिदिनुभएको त ।” मैले कुरालाई तन्काउन खोजेँ ।
“सरलाई डर लाग्यो कि क्या हो ? डर मान्नु पर्दैन । यहाँ हाम्रो होटेलमा खाना खाने धेरै विद्यार्थी भाइहरू डेरा लिएर बस्छन् । म पनि राति यही पल्लो कोठामा सुत्छु नि सर ।” ऊ मलाई सँगसँगै ढाडस पनि दिन खोज्थ्यो ।
घर साँच्चै पुरानो थियो र ठूलो पनि । यहाँका घरवालाहरू नेपालटारतिर सुविधा र सुगमता खोज्दै झरिसकेका थिए । चालीसौँ वर्षअघि जिल्लाको प्रमुख प्रशासनिक केन्द्र रहेको बेलाको चहलपहलमा बनाइएको घर रहेछ यो । जिल्लाको सदरमुकाम यहाँबाट गाईघाट सारिएपछि उदयपुरगढीको रौनक सँगसँगै यो घरको रौनक पनि सिद्धिदै गयो । अझै पनि यो ठाउँको त्यसबेलाको चहलपहलको इतिहास बूढापाकाहरूको मुखबाट सुन्दा कुनै काल्पनिक कथा सुनेजस्तै लाग्छ ।
“म भूतसँग विश्वास नगर्ने मान्छे । विश्वास नगर्नेलाई त भूतले तर्साउँदैन नि !” मलाई ऊसँग छलफल रोचक लागिरहेको थियो त्यसैले ऊसँगको कुरा म अझ लम्ब्याउन चाहन्थेँ ।
“सरले जस्तै पहिलेपहिले आउने सबैले त्यसै भन्छन् । तर पछि भूतले दुःख दियो भनेर गुनासो गर्छन् ।” ऊ आफ्नो कुरालाई प्रभावकारी बनाउने तर्क गर्दै थियो ।
“मलाई त भूत हेर्ने ठूलै इच्छा छ । यहाँ पाइन्छ कि क्या हो ?” भूतको कुरा निकालेर ऊसँग मलाई मजाक गर्न मन लाग्दै थियो ।
“सरको इच्छा अब पूरा हुने भयो ।” उसले आँखीभुइँ तन्काउँदै भन्यो र फेरि एक पटक जोडले हाँस्यो ।
“बसेर कुरा गरौँ न ।” मैले नजिकैको कुसी देखाउँदै भनेँ ।
म बरु खाना खाएर आउला नि सर !” मसँग कुरा गर्न उसलाई पनि रमाइलै लागेको मैले लख काटेँ ।
“यतिका कुरा गरिसकियो, दाइको नाम त मैले सोध्नै बिर्सेछु ।” म अघि नै देखि उसको नाम जान्न चाहिरहेको थिएँ ।
“मेरो नाम भोजराज निरौला हो सर ! तर सबैले भोजु निरौला भनेर चिन्छन् ।” प्रत्येक पटक केही कुरा गरिसकेर हाँसिहाल्ने उसको स्वभाव यस पटक पनि छाडेन ।
“म खाना खाएर आउँछु है सर !” ऊ मसँग बिदा हुँदै बाहिर निस्कन्न खोज्यो ।
“हुन्छ, तर आउनुहोला है भोजु दाइ ।” मैले उसलाई भोजु दाइ भनेर सम्बोधन गर्न शुरू गरेँ ।

निद्रा लाग्ने बेला भएकै थिएन । मैले झ्यालबाट चकमन्न अँध्यारोमा टाढासम्मै हेरेँ । टेबुलमाथिको टुकीबत्ती अघिदेखि नै एकनाशले मधुरो बलिरहेको थियो । टुकीको उज्यालोले पढ्न पुग्दैनथ्यो । म भोजु दाइलाई पर्खिरहेको थिएँ ।
टाढैबाट चप्पल पड्किएको आवाज आयो । आवाजसँगै मैले अड्कल गरिसकेको थिएँ, ऊ आइपुग्न लाग्यो ।
“सर, सुत्नु त भएको छैन नि !” उसले विस्तारै ढोकाबाट चियाउँदै भन्यो ।
“म त तपाईंलाई नै पर्खिरहेको छु नि !” मैले उसलाई नजिक बनाउने शब्दहरू खोजेँ ।
मलाई सुत्नका लागि उसैले तयार पारिदिएको खटियाको एउटा छेउमा सङ्कोच मानेझैँ गर्दै ऊ बस्यो ।
रात छिप्पिँदै गइरहेको थियो । जूनको उज्यालोमा वरिपरिका पहाडहरू भर्खर जोतेको बारीमा गोबर मलको थुप्रो घोप्ट्याएजस्तै देखिन्थे । एस.एल.सी. परीक्षा दिन आएका तल्लो तला र पल्लो कोठामा बस्ने विद्यार्थी हरूले पढेको आवाज झन् चर्को हुँदै गइरहेको थियो । मैले भूतको कुरा उठाएर ऊसँग फेरि बाँकी समयलाई रमाइलो बनाउन खोजेँ ।
“सरलाई भूतको डर लाग्यो कि क्या हो ?” ऊ पनि मसँग छलफल गर्न तम्सियो ।
“उः त्यो दुम्किलो छ नि ! हो त्यहाँ एउटा चिहान छ । त्यहाँ उहिल्यै मरेकी आमासँग जिउँदो बच्चा गाडिएको थियो रे ! त्यसैले यहाँ बारम्बार बच्चा रोएको आवाज आउँछ भन्छन् मान्छेहरू ।” भोजुले झ्यालबाट औँलाले देखाउँदै भन्यो ।
“तर सरले भनेजस्तै मैले पनि अहिलेसम्म भूत देखेको छैन ।” उसले फेरि तुरुन्त थप्दै भन्यो ।
“जिउँदो बच्चा कसरी गाडिएछ त हँ ?” उसको कुराले मलाई थप सोधीखोजी गर्न मन लाग्यो ।
“सरलाई थाहै होला, यो ठाउँ पहिले उदयपुर जिल्लाको सदरमुकाम थियो । अस्ति मात्र हामीले थाहा पाउँदै २०२८ सालमा रातारात यहाँबाट सदरमुकाम गाईघाट सारियो । त्योभन्दा पनि धेरै पहिलेको घटना हो यो । दुई हजार चार(पाँच सालतिरको घटना । यसै जिल्लाको उत्तरतिर रूपाटार भन्ने एउटा गाउँ छ रे ! त्यहीँ गाउँकी एउटी आइमाईको घटना हो यो ।” ऊ भन्दै थियो ।
एकमनले मेरो घर पनि रूपाटारर नै हो भनिदिऊँ कि जस्तो लाग्यो । तर फेरि मनमनै त्यो कुरा अहिले नै भन्न हतार नगर्ने निर्णय गरेँ ।
“सर पनि विश्वकर्मा, त्यो भूतको कथा पनि विश्वकर्मासँगै जोडिएको छ ।” कथा भन्न छाडेरर ऊ बीचबीचमा यस्ता कुराले रोमान्चित बनाउन खोज्थ्यो ।
म प्रत्युत्तरमा मात्र हाँसिदिएँ ।
“त्यो ठाउँका एक जना ब्राह्मण युवकसँग एउटी विश्वकर्मा महिलाको प्रेम भएछ । त्यसबेला जातिपातिको भेदभाव कति डरलाग्दो । अहिले त यस्तो भेदभाव बाँकी छ । महिला गर्भवती भइछ । त्यसबेलाको कानूनमा दलित महिलाले कथित माथिल्लो जातको पुरुषसँग सम्बन्ध राख्यो भने दलित महिलाको गल्ती देखिँदो रहेछ ।” भन्दाभन्दै ऊ एकछिन रोकियो र झ्यालबाट बाहिर हे¥यो ।
“कति बज्यो सर ?” मेरो हातको घडीतिर इशारा ग¥यो उसले ।
“किन ? तपाईंलाई हतार छ क्या हो ?” म उसलाई केही समय बसिदिओस् भन्ने चाहन्थेँ ।
“मलाई हतार छैन । आज यहीँ पल्लो कोठामा बस्ने विद्यार्थी भाइहरूसँग बस्ने योजना मिलाएको छु । बरु सरलाई पो निद्रा लाग्यो कि ?” यति भनेर पल्लो कोठामा बस्ने विद्यार्थी भाइहरूको आवाज ढोकामा गएर कान थापेर सुन्यो ।
ऊ कथाजस्तै लाग्ने वास्तविक घटना सुनाउँदै थियो । म त्यसबेला सानैमा सुनेको एउटा कुरा सम्झिएर झल्याँस्स भएँ । उसले सुनाइरहेको यो कथा आफ्नै कथाजस्तो लाग्यो ।
“तेरो बाउकी दिदी झ्यालखानामै मरेकी रे ! बाइस दिनको बच्चालाई पनि उसैको चिहानमा जिउँदै पुरिदिएका रे ।” सानैमा आमाले अगेनाको अघिल्तिर बसेर मकै भुट्दै भनेको कुरा सम्झेँ ।
मलाई भोजु निरौलाले भन्दै गरेको कथा सुन्न कौतुहलताको आँधी चल्यो ।
“केही समयसम्म ब्राह्मण केटालाई पनि समाजले बहिष्कार ग¥यो । त्यसको केही समयपछि ब्राह्मण परिवारले एउटा सामूहिक भोजको आयोजना गरेर त्यो केटालाई चोख्याउने काम गरियो । दलित महिलालाई ब्राह्मणसँग सम्बन्ध राखेको आरोप लगाएर जेल पठाइन्छ । जेल ल्याउँदा त्यो महिला गर्भवती रहिछन् । जेलमै छोरी जन्माई उसले । गर्भवती महिलाले जेलभित्र के सुविधा पाइहोला र ! त्यसमाथि अझ कामीकी छोरी ! बच्चा जन्मिउको बाइस दिनमा त्यो सुत्केरी मरिछ । बच्चा ज्यूँदै थियो अरे ! तर कसले त्यो बच्चालाई स्याहार्न आँट गर्ने ? उः त्यही ठाउँमा त्यो महिलाको लासलाई गाडेपछि त्यहीँमाथि श्वास फेरिरहेको ज्यूँदो बच्चालाई पनि राखेर माटो हालेर पुरिदिएछन् ।” उसले झ्यालबाट बाहिर औँलाले देखाउँदै भन्यो ।
उसले देखाएको ठाउँमा मैले कोठाबाटै भर्खर पूmलहरू फक्रिँदै गरेको एउटा आरुको बोट जूनको प्रकाशमा प्रस्ट देखेँ । आँखा भरिएर आए । उसले नदेखीकन पछिल्तिर फर्किएर आँसु पुछेँ ।
“रोइरहेको ज्यूँदो बच्चा गाडेको देखेर धेरै महिला मुर्छा परेछन् । त्यो ठाउँलाई अझै पनि मानिसहरू नेपी कमिनीको चिहान भनेर चिन्छन् । त्यो घटनापछि मानिसहरूले यहाँ राति मध्यरातमा बच्चा रोएको आवाज सुन्ने गरेको बताउँछन् । कोहीकोही त बच्चा बोकेर नेपी कमिनी भूत बनेर तर्साउन हिँड्छे पनि भन्छन् ।” भन्दाभन्दै भोजु निरौला पनि गम्भीर भयो । पहिले पहिलेको जस्तो उसको अनुहारबाट मीठो हाँसो हराएर गयो ।
“फेरि मलाई त भूतसँग विश्वास लाग्दैन नि सर !” ऊ हाँस्न त फेरि हाँस्यो तर अँध्यारो अनुहारमा उसको हाँसो पहिलेपहिले जस्तो सुहाएन ।
“सरको अनुहारमा अघिको जस्तो खुशी एकाएक हरायो नि ! सरलाई भूतसँग डर लाग्यो कि के हो ?” उसले मेरो अनुहारतिर नियाल्दै भन्यो ।
“होइन, होइन ।” मैले भक्कानो छुट्न लागेको घाँटीबाट सहज रूपमा यति मात्र बोल्न सकेँ ।
“सरलाई डर लाग्यो भने म छँदै छु नि । यहीँ तल भुइँमा ओछ्यान लगाएर सुत्छु ।” ऊ मलाई ढाडस दिन खोज्दै थियो ।
एकमनले त उसलाई नेपी कमिनी मेरो नाता भनिदिऊँ जस्तो लाग्यो । तर मनमनै हतार नगर्ने निर्णय गरेँ ।
उसलाई थाहा नदिईकन त्यो चिहानको माटो एक पटक छुन मन लाग्यो । दलितको नाममा गरिएको त्रूmर जातीय अपराधको यो घटनाले मभित्र विद्रोहको एउटा लप्का उर्लिरहेको थियो ।
ऊ मसँग बिदा भएर पल्लो कोठातिर गयो । त्यही मौकामा म पनि हतारिँदै तल झरेँ र उसले देखाएको चिहानको दुम्किलोमा पुगेर उभिएँ । रूखमा बास बसेका एकजोडी चराहरू भुर्र उडेर कतैतिर लागे । भर्खरर कोपिला हालेका आरुका पूmलहरू टिपेँ र मेरो आफ्नै इतिहासको चिहानमा चढाएँ । चिहानको माटो उठाएर अलिकति निधारमा लगाएँ । जूनको उज्यालोमा परपरसम्म हेरेँ । तल दक्षिणतिरको वैद्यनाथ खोला सर्पको हिँडाइजस्तै पश्चिमतिर तन्किरहेको थियो ।

००

No comments:

Post a Comment