Saturday, September 16, 2017

श्राप - मातृका पोखरेल

प्रतिमा पाँच वर्षको सानो छोरालाई हातमा समातेर सडकमा हिंडिरहेकी थिई । सडकको छेउमा एउटा बुढो गोरु घाँस खाइरहेको थियो । गोरुलाई देख्ने वित्तिकै प्रतिमाको छोरोले एउटा सानो ढुङ्गा टिप्यो र प्वाक्क हिर्कायो ।

गोरुले तत्कालै त्यो बच्चातिर फर्किएर सराप्यो – “अर्को जन्ममा तँ कुनै कम्युनिष्ट पार्टीको नेता बन्नू । ” प्रतिमा खुसी हुँदै भनी – “तिमीले सराप देउला भनेर म कस्ती डराएकी थिएँ, कस्तो राम्रो आशिक पो दियौ । साँझमा तिमी मेरो घरमा आएनु । म तिमीलाई मिठोमिठो घाँस ख्वाउँछु । ” 
“यो त मैले आशिक दिएको होइन । सराप दिएको थिएँ । यो के सुन्दै छु म ? ” गोरुले अचम्मित हुँदै भन्यो । 

“मेरो छोरो कम्यूनिष्ट पार्टीको नेता भयो भने पुगिहाल्यो नि । नाम पनि कमाउँछ । सम्पत्ती पनि कमाउँछ । यो कसरी सराप भयो ? ” प्रतिमाले पनि छक्क पर्दै सोधी । 

“म पहिलो जन्ममा कम्यूनिष्ट थिएँ । म कम्यूनिष्ट पार्टीको नेता भएकोले मैले त दःख पाएँपाएँ मेरा परिवारहरुले पनि सारै दुःख पाए । मैले त्यतिबेला पाएको दुःख वर्णन गरेरै साध्य छैन । त्यसैले यसले पनि दुःख पाओस् भनेर मैले कम्यूनिष्ट पार्टीको नेता होओस् भनेर श्राप दिएको हुँ । ” गोरुले उनीहरुतिर हेर्दै भन्यो । 

“त्यो पहिलेको कुरो होला । अहिले जमाना वेग्ले भैसक्यो । तिमीलाई धेरै धेरै धन्यवाद । ” प्रतिमा आफ्नो छोरालाई डोर्याउँदै परसम्म पुगिसकेकी थिई । 

गोरु पनि छक्क परेर उनीहरुलाई हेरिरहेको थियो ।

www.theliteraturetime.blogspot.com  मा प्रकाशित 









No comments:

Post a Comment