Saturday, September 16, 2017

उज्यालोको प्रतीक्षा – मातृका पोखरेल

“म त राजनीति गरेकी मान्छे । के मेरो स्वतन्त्रतालाई उसले सम्मान गर्न सक्छ ?” आफ्नो बाबु लेखराजले राखेको प्रस्ताब भुइँमा झर्नै नपाई रम्भाले सोधेकी थिई ।
“ऊ पनि प्रजातन्त्रवादी मान्छे हो, राजनीतिक परिवारमै हुर्किएको हो”, लेखराजले पनि त्यो मान्छे उपयुक्त भएको जिकिर गर्दै भनेका थिए ।
“राजनीति गर्छु भनेर मात्रै कहाँ हुन्छ र, मैले राजनीति गर्छु भन्नेको जीवन पनि देखेकी छु । उनीहरूको घरभित्रको स्वतन्त्रता कति कमजोर र दयनीय हुन्छ भन्ने कुरा धेरै ठाउँमा तपाईंले पनि देख्नुभएकै छ नि ।” रम्भा अझै प्रस्ट हुन खोजी, “राजनीतिलाई फुर्सदको साधन मात्र बनाएको हो कि जीवन परिवर्तनको माध्यम पनि बनाएको हो, यो पनि त बुझ्नुप¥यो ।”
“पुस्तैनी राजनीति गरेको परिवारमाथि त्यसरी अविश्वास गरिहाल्नु हुँदैन ।” छोरीलाई सहमत गराउन लेखराजलाई निकै गाह्रो प¥यो ।
रम्भा भर्खरै मात्र समाजशास्त्रमा एमएको परीक्षा दिएर आफ्नो घर सुनसरीको इटहरी फर्किएकी थिई । कलेजमा पढ्दा दुई कार्यकालसम्म विद्यार्थी युनियनको सभापति पदमा अत्यधिक मत ल्याएर निर्वाचित भएकी थिई । विद्यार्थी राजनीतिमा ऊ निकै लोकप्रिय थिई । काठमाडौंमा उसका व्यस्तताका सूचीहरू निकै लामा थिए तर पनि बुबाको ‘चाँडै घर आउनू’ भन्ने खबरका कारण इटहरी आएकी थिई । उच्च
शिक्षा अध्ययनका लागि काठमाडौं गएपछि रम्भाको व्यक्तित्व निकै माथि पुग्यो । चर्चित विद्यार्थी नेतृमा गनिई ऊ । काठमाडौंबाहिर मोफसलमा हुने सभाहरूमा पनि वक्ताका लागि उसको माग हुन थाल्यो । पार्टी र सङ्गठनभित्र मात्र होइन, बाहिरबाट पनि कुशल वक्ताका रुपमा उसले प्रशंसा बटुली ।
“म एकपटक ऊसँग कुरा गर्छु, अनि निर्णय दिउँला ।” राम्ररी हृदय नखोलिएको ठाडो जवाफ फर्काएकी थिई रम्भाले ।
लेखराजलाई रम्भाको स्वभाव अनौठो लागिरहेको थियो । रम्भाले यसरी रुखो उत्तर दिएको उसलाई पहिलोपटक अनुभूति भयो । आफ्नो सल्लाहलाई सधैं सकारात्मक र सहज ढङ्गले लिने छोरीको यो भनाइले लेखराजको स्वाभिमान एकपटक चसक्क चिमोटियो । कदाचित रम्भाले अस्वीकार गरी भने पुरानो साथीका अघिल्तिर कसरी मुख देखाउने ? धेरै पुरानो चिनजान र मित्रता भएको साथीको छोरो हो अनुप । अनुपको बाबु पनि पुराना राजनीतिक नेता हुन् । राजनीतिक कामकै सिलसिलामा उनीहरुको मित्रता बढेको थियो । राजनीतिक काम लिएर उनी प्रायः गाउँ घुमिरहन्थे । लेखराजले पुराना कुराहरू सम्झिए । अनुपको बाबुको विश्वासपात्र भएकाले पहिलेपहिले लेखराजको चुरीफुरी निकै बढेको थियो । त्यही पुरानो सम्बन्धको जगमा उभिएर अनुप र रम्भाको विवाहको प्रसङ्ग चलेको थियो । लेखराजलाई एकातिर यति पुरानो सम्बन्ध बिग्रेला भन्ने चिन्ता भने अर्कोतिर त्यति सम्पन्न परिवार फेरि नपाइने पो हो कि भन्नेसम्म थियो । त्यसैले पनि रम्भालाई उनी अरु दिनको भन्दा बढी नै सम्झाउने प्रयत्न गर्दै थिए ।

0                                   0                                0

“राजनीति त उसको गफ गर्ने विषय मात्र होजस्तो छ । सिद्धान्तलाई जीवनमा लागु गर्ने चेतना भएको मान्छे चाहिं होइन रहेछ”, अनुपलाई भेटेर आएपछि रम्भाले लेखराजलाई सुनाई ।
रम्भाको कुराले लेखराज फेरि एकपटक झस्किए । आफ्नोतर्फबाट अनुपको बाबुलाई बचन दिइसकेको कुरा सम्झिए ।
“तिमीले अझै राम्ररी बुझ्न सकिनौ”, छोरीतिर फर्किएर लेखराजले अनुनय गरे ।
“तपाईंहरूले भनेपछि स्विकार्छु तर भित्रैदेखि मेरो मन चाहिं प्रसन्न भएको छैन ।” रम्भाको जवाफमा रुखोपन थियो ।
अनुपसँग भेटेपछि रम्भा सन्तुष्ट हुन सकिन । भेटमा अनुपले रम्भासँग केही उडन्ते र हावादारी कुराहरू ग¥यो । रम्भाले गर्ने राजनीतिमा आफू कतै बाधक नहुने कुरा ग¥यो र आफू पनि राजनीतिक जीवन बिताउने कुरा ग¥यो । चुनावको कुरा ग¥यो । आफ्ना प्रशस्तै पकेट मतहरू भएको कुरा ग¥यो । पार्टीबाट टिकट पाएमा आगामी चुनावमा आफूलाई कसैले हराउन नसक्ने कुरा पनि ग¥यो । अनुपको कुरा सुनिरहँदा रम्भालाइ एउटा अज्ञानी पुरुषको प्रवचन सुनिरहेकी छु भन्ने लाग्यो । राजनीतिक विचार र व्यवहारबीचको सम्बन्धबारेमा अनुपले कुनै कुरा गरेन, जुन कुरो रम्भाले अनुपसँग चाहेकी थिई । अनुपको वैचारिक स्तरसँग ऊ पूर्णत निरास भई । अनुपलाई भेटेर फर्कंदा राजनीतिको नाममा उसले बुझेको अज्ञानताको पहाड रम्भाको अघिल्तिर झल्झली आइरह्यो । बाटोबाटै उसले आफ्ना नजिकका साथीहरूलाई फोन गरी र सल्लाह मागी ।
“त्यो केटाको बुझाइ तेरो विचारअनुकूल छैन । भविष्यमा पछुताउनुभन्दा अहिले नै पछि हट्नु राम्रो हुन्छ”, स्ववियुकी सचिव नर्मदाले हतारमा निर्णय नगर्न सल्लाह दिई ।
रम्भालाई धेरै साथीहरूले यस्तैयस्तै सल्लाह दिएका थिए । यी सल्लाहहरूसँगसँगै उसको अघिल्तिर आफ्नो बाबुको उदास चेहरा नाचिरह्यो । बाबुको इच्छा कुल्चने मन पनि उसलाई भएन । सबै कुरा जोडघटाउ गरी र बाबुको इच्छालाई स्विकार्ने निर्णय गरी ।
छोरीको मन प्रसन्न हुन नसकेको देखेर लेखराज पनि सन्तुष्ट हुन सकेनन् । बल्लबल्ल इज्जत जोगिएको कुराबाट उनी खुसी नै देखिए । उनीभित्र रम्भाले अस्वीकार गर्छे भन्ने त्रास थियो । छटपटी थियो । त्यसबाट उनी मुक्त त भए तर छोरी रम्भाको अरुचीपूर्ण जवाफले उनको मनको भित्री कुनाबाट असन्तुष्टिको बादल पूर्ण रुपमा हट्न सकेन । अनुप र रम्भाको विवाहले त्यसबेला निकै ठूलै चर्चा पाएको थियो ।

0                                   0                                0

अनुपको मूलघर विराटनगर भए पनि सुनसरीको मधुवनमा उनीहरूको ठूलो मौजा थियो । प्रायः थोरै समय मात्र उनीहरूको परिवार विराटनगर बस्थ्यो । नत्र उनीहरूको बसाइ मधुवनमै हुन्थ्यो । सयौं बिघाको उनीहरूको जिमिन्दारीमा तत्कालीन राजा महेन्द्रको भूमिसुधारले पनि कुनै चोटपटक लगाएन । सत्र सालअघिका चर्चित काङ्ग्रेसी नेता थिए अनुपका पिता बोधराज । सत्र सालपछि पञ्चायतलाई समर्थन गर्ने सर्तमा उनको जमिनमा भूमिसुधारको कुदृष्टि परेन । पञ्चायतकालमा उनी जिल्ला पञ्चायत सभापति हुँदै राष्ट्रिय पञ्चायत सदस्यसम्म भए । पञ्चायतकालमा बोधराजले आफ्नो छोरो अनुपलाई राष्ट्रवादी विद्यार्थी मण्डलको जिल्ला नेता बनाएका थिए । २०४६ सालको आन्दोलनपछि उनी फेरि आफ्नो मातृपार्टी नेपाली काङ्ग्रेसमा प्रवेश गरे । बाबुसँगसँगै छोरो अनुप पनि राष्ट्रवादी विद्यार्थी मण्डलबाट नेपाल विद्यार्थी सङ्घमा रुपान्तरित भए । अनुप नेपाल विद्यार्थी सङ्घको केन्द्रीय नेतृत्व तहसम्म पुगे ।
खैरो रङ्गको कुर्था, पाइजामा, लेदरको चप्पल, जेल लगाएको कपाल भएको अनुप यो सानो बजारको पर्यटकजस्तै देखिन्थ्यो । वैचारिक र शारीरिक श्रमबाट ऊ धेरै टाढा थियो । विवाह गरेर आउनेवित्तिकै देखि रम्भाले अनुपको यो जीवनशैलीप्रति आक्रोश पोख्न थालेकी थिई ।
विहानै चिया खाएर बजारतिर निस्किएपछि राति अबेर जाँडरक्सीले चुर भएर घर पुग्नु अनुपको नियमितताजस्तै थियो ।
“तपाईंको दिनचर्या र जीवनशैलीलाई राजनीतिक जीवन भनेर बुझ्ने हो भने मलाई राजनीतिप्रति नै घृणा जागिसक्यो”, विवाह भएको केही समय नबित्दै रम्भाले अनुपसँग प्रतिवाद गर्न थालेकी थिई ।
“तिमीले बुझेको राजनीति सहरको हो, गाउँको राजनीति धेरै फरक हुन्छ”, अनुप आफ्नो पक्षमा तर्क गथ्र्यो ।
“के गाउँका मान्छेलाई राजनीतिको नाममा भ्रम मात्र छरिन्छ र शोषण गरिन्छ ? उनीहरूलाई चेतना दिने काम गर्दैन राजनीतिले”, रम्भा उसलाई परिवर्तन गर्न सकिन्छ कि भनेर प्रयत्न गर्थी ।
“तिमीले गाउँको राजनीति बुझेकै छैनौ”, रम्भाको तर्कसँग ऊ यतिकैमा उम्किन खोज्थ्यो ।
“राजनीति भनेकै यही मात्र हो भनेर जनतालाई झुक्याउनु ठूलो पाखण्ड हो”, रम्भा ऊसँग अझै बढी बहस गर्न गर्थीे । रम्भाको बौद्धिक तर्कसँग अनुप आफूलाई धेरै कमजोर महसुस गथ्र्यो र बहसबाट भाग्न खोज्थ्यो ।

0                                   0                                0
 
अनुपकी बहिनी रोसालाई लिएर रम्भा तरकारी किन्न मधुवनको बजार गएकी थिई । बजारको मुखैको होटलमा अनुप बाहिरको कुर्सीमा बसिरहेको थियो । रम्भाले नदेखेजस्तै गर्न खोजी । उसलाई घेरेर अरु दुईतीनजना मानिसहरू पनि बसिरहेका थिए । एकजनालाई रम्भाले राम्रैसँग चिनेकी थिई, जो अनुपलाई ‘हाम्रो नेताजी’ भन्दै बारम्बार घरमा आइरहन्थ्यो । बारम्बार पैसा मागेर लग्थ्यो । अनुप धेरै रक्सीले मातेको बेला घरसम्मै पु¥याउन आउँथ्यो । त्यो मान्छे पनि त्यसैगरी मातेको हुन्थ्यो । जति मागे पनि अनुप उसलाई पैसा दिन्थ्यो । उसले कहिलेकाहीं रक्सी खानै भनेर हाक्काहाक्की पैसा माग्थ्यो । कहिले तास खेल्ने भनेर माग्थ्यो । ऊ कहिलेकाहीं राजनीतिक प्रतिद्वन्द्वीहरूलाई तह लगाउनका लागि भनेर पनि माग्थ्यो । तर, अनुप उसलाई जति मागे पनि सजिलैसँग पैसा दिन्थ्यो । रम्भाले त्यसो गर्नु हुँदैन भन्दा राजनीतिक आधार नै तिनीहरू हुन् भन्थ्यो । अनुप र अनुपको समूह राजनीतिको नाममा आपराधिक क्रियाकलापमा संलग्न हुन सक्ला भन्ने रम्भा कहिलेकाहीं अनुमान गर्थी । त्यो होटेलमा अनुपवरिपरि बस्ने अरु दुईजनालाई उसले पहिलोपटक देखेकी थिई । उनीहरू पनि अुनपका कार्यकर्ता होलान् भन्ने लख काटी उसले । एकमनले यस्तो सोच्दासोच्दै रम्भाको मनमा अर्को प्रश्न जन्मियो, “यिनीहरूलाई कसरी राजनीतिक कार्यकर्ता भन्ने ? यी त गाउँटोलका लफङ्गा, गुण्डाहरू हुन्, अनुप यिनै गुण्डाहरूको नाइके । आफू गुण्डाको नाइकेकी जीवनसाथी ।” आफ्नै जीवनलाई मन भित्रभित्रै धिक्कारी ।
अनुपलाई नदेखेजस्तो गर्न खोजी रम्भाले । अनुपले पनि रम्भाले आफूलाई नदेखोस् भन्ने चाहेको थियो ।
“अनुप दादा प्रायः दिनभरि त्यहि होटलमा बस्नुहुन्छ । साँझ परेपछि रक्सी खान अर्को होटलतिर सर्नुहुन्छ । रक्सी खाएपछि उहाँलाई केटीहरू पनि चाहिन्छ अरे”, भाउजूसँग बजार आएकी अनुपकी सानी बहिनी रोसाले नजिकैको अर्को होटलतिर औंल्याउँदै भनी ।
रम्भालाई रिंगटा लाग्लाजस्तै भयो । आफू उभिएको जमिन फनफनी घुमेजस्तो लाग्यो । टाउको भतभती पोल्न थालेजस्तो भयो । सँगसँगै हिंडेकी सानी अबोध बालिका रोसासँग अन्य कुरा सोध्न र प्रतिक्रिया व्यक्त गर्न आवश्यक ठानिन । नहेरुं भन्दाभन्दै पनि रोसाले देखाएको अर्को होटलतिर उसका आँखा पुगे । होटलभित्रबाट हिन्दी सङ्गीतको मधुरो धुन बाहिर सडकसम्मै आइरहेको थियो । झ्यालका केही भागहरूबाट भित्र कोठामा विभिन्न प्रकारका रङ्गिन बत्तीहरू बलिरहेका देखिन्थे । उसका आँखा अनुप बसेको होटलमा पुगे । अनुप आफ्ना साथीहरूसँग गफमा व्यस्त थियो ।
राति ११÷१२ बजे ऊ यही होटलबाट मात्तिएर घर पुग्थ्यो । जथाभावी बोल्थ्यो । केही दिनअघिदेखि त कुटपिट गर्नसमेत अघि सथ्र्यो ऊ । ‘उसले बुझेको राजनीति पनि यहि त हो ।’ सोच्दासोच्दै रम्भालाई फेरि रिङ्गटा लाग्लाजस्तो भयो । आफ्नो भविष्यको अघिल्तिर पहिरो झरेर बाटो सबै भत्किएजस्तो लाग्यो । रम्भाले अनुपसँगको सहयात्राका कारण जीवन अब पूरै खण्डहर हुने निक्र्यौल निकाली । ऊ बजारबाट फर्कंदा जीवनलाई नयाँ बाटोतिर हिंडाउने निर्णय बोकेर फर्किई ।
‘लामो समयसम्म द्वन्द्वमा अल्झिनु पनि ठूलो पीडा हुँदो रहेछ ।’ अनुपलाई त्याग्ने निर्णय गरेपछि ऊ यसैगरी सोचिरहेकी छे । तर, हिजोअस्तिभन्दा मन प्रफुल्ल भएको अनुभूति भयो उसलाई । केही समयअघि नै निर्णयमा पुग्ने कोसिस नगरेकी होइन उसले । यति चाँडै त्यस्तो निर्णयमा पुगिहाल्नु हुँदैन भन्ने धेरैतिरको सल्लाहसुझाव थियो । विवाह भएको ६ महिना पनि नपुग्दै सम्बन्धलाई तोडिहाल्नु नहुने सुझाव धेरैतिरबाट आए । पहिलेपहिले विवाह गर्न नहतारिन भन्ने साथीहरूबाट पनि त्यस्तै सल्लाह आयो । तर, अब सम्बन्ध अघि बढाउनु आत्मघाती काम हो भन्ने ठहरमा ऊ पुगी । यो निर्णय गर्दा कसैसँग सल्लाहसुझाव माग्न उसलाई मन भएन । ‘त्यस्तै भयो भने आफैं विचार गर्’ भनेकै थिए आमाबाबुले । आज आफैंले आफ्नो निर्णय गरेको दिन आफैंलाई हलुका भएजस्तो लाग्यो रम्भालाई ।
बजारबाट फर्किनेवित्तिकै आफ्ना कपडाहरू झोलामा हाली र कुनामा थन्क्याई । भर्खरै साँझ प¥यो । भान्साको काममा लाग्न आवश्यक देखिन । टाउको दुखेको छ भनेर टारी, एक पन्ना कागज र कलम खोजेर ओछ्यानमा बसी । अनुपलाई सम्बोधन गरेर दाम्पत्य जीवन अघि बढाउन नसकिने कारणहरूसहितको एउटा पत्र लेखेर खाममा हाली । खाम बिछ्यौनामुनि राखिदिई ।
“काम गर्नको अल्छी पो त, के को टाउको दुखेको हुन्थ्यो”, तल भान्सामा सासूले भनेको पातलो आवाज उनको कानमा ठोकियो । सासुका यस्ता शब्दहरूले पहिलेपहिले ऊ खुबै विचलित हुन्थी । आज उसले सासूका यी शब्दहरूप्रति सरोकार राखिरहन आवश्यक ठानिन । घरमा काम गर्न राखिएका दुईजना सहयोगीहरूलाई बोलाई र खुसुक्क हातमा पाँचपाँच सय रुपैयाँ राखिदिई र विहानको उज्यालो भुइँमा नखस्दै आफूलाई इनरुवा पु¥याइदिन अनुरोध गरी ।
रोसाले भान्साबाट खाना खान बोलाई । तर फेरि पनि उस्ले टाउको दुखेको छ भनेर टारी । खानाभन्दा उसलाई भोलि विहानैको उज्यालोको प्रतीक्षा मीठो लागिरह्यो ।

                                                                             0

No comments:

Post a Comment