Friday, November 10, 2017

बूढो घोडा - मातृका पोखरेल

तिमी जतिसुकै छडीले हिर्काउ
जतिसुकै लगाम खैंचेर
घोडाको पेटमा खुट्टाले ठोक
यो जिर्ण कालो घोडा
रातो लुगा लगाएको मान्छेलाई बोकेर
सभ्यताको उकालो चढ्न पटक्कै मन पराउँदैन ।

सम्भवत : धेरै पटक हिर्काएपछि
केही पाइला हिंडेजस्तो पनि गर्ला
लगाम तानेर घिस्याएपछि
केही अघि बढेजस्तो पनि गर्ला
यतिले तिमी भ्रममा नपरे हुन्छ
यो जीर्ण बूढो घोडाले
कहिल्यै मन पराएन
तिमीले पुग्नुपर्ने उँभोको सगरमाथा ।

जब बाटो तेर्सैतर्सो हुन्छ
सजिलै हुन्छ
तिमीलाई बूढो घोडा चढेर हिंड्न
जब बाटो कठिन हुन्छ
नाक ठोकिने उकालो आउँछ
त्यसबेला तिमी चढेको घोडा हिनाहिनाउँछ
पछाडिका दुवै खुट्टाहरू फाल्छ
तिमीले जतिनै लगाम ताने पनि
जतिनै छडीले कुटे पनि
त्यो बूढो घोडा उकालो चढ्नै मान्दैन
कि यो घोडाले तिमीलाई लडाउँछ
कि यो घोडा आफैं थचक्क बस्छ
ए, रातो लुगा लगाएको मान्छे
तिम्रो आस्थाको शिखर
यो बूढो घोडा चढ्नै सक्दैन ।

रातो लुगा लगाएको मान्छेसँग
युगौं देखिकै हो यसको तर्सने बानी
कालै लुगा लगाएको सवार खोज्छ यसले
यो जीर्ण घोडालाई राम्रैसँग थाहा छ
कालो लुगा लागाएको मान्छे
उँभोउँभो उकालो चढ्दैन भन्ने कुरा
सभ्यताको नयाँ शिखर
आरोहण गर्न मन पराउँदैन भन्ने कुरा
कालो घोडालाई राम्रैसँग थाहा छ
धेरै बलजफ्ती नगरे हुन्छ
यसले ठाउँठाउँमा तिमीलाई लडाउँछ
ठाउँठाउँमा तिमीलाई घाइते बनाउँछ
ए, रातो लुगा लगाएर शिखर चढ्ने मान्छे
यो घोडाले नयाँ मान्छे मन पराउँदैन
जीर्ण भइसकेका छन्
यसका अंगप्रत्यंगहरू
मात्र यो घोडाले
अशक्त मान्छेहरू मन पराउँछ
अस्वस्थ मान्छेहरू मन पराउँछ
ए, रातो मान्छे
तिमीले नयाँ यात्राको लागि नयाँ घोडा खोज्नुपर्छ ।

                               000

शिवपुरी सन्देश, स्वर्णअङ्क, वर्ष-१६, अंक-५०, कार्तिक-पुष २०६७  

No comments:

Post a Comment