Friday, November 10, 2017

लेख्नै बाँकी छ - मातृका पोखरेल

सूर्य बोकेर हिड्नेहरू
सूर्यलाई पुर्न खाडल खन्दैछन्
म उनीहरूलाई
अँध्यारो गुफातिर लुक्न
खोजिरहेको देख्दै छु
उनीहरूको बारेमा लेख्न पुगेकै छैन
लेख्न अझै धेरै बाँकी छ ।


झुपडी झुपडीहरूमा
निरर्थक सपनाको दुन्दुभी फुकेर
कालो सिसा लागाएको पजेरोमा
बेतोडसँग दौडिरहेका छन् साथीहरू
उनीहरू पनि लेख्नै पर्ने विषय हुन्
लेख्न अझै बाँकी छ ।

आजकै समाचारपत्रमा
भरखरैमात्र पढेको थिएँ
आफ्नै बाबुले श्रीमती र छोरी बेचेको घटना
हामी बाँचेको युगको एउटा चित्र
त्यो पनि कवितामा आउने बाँकी छ
हामीले सोच्न पनि नसकेका
कुरुप सम्भावनाका सिंढीहरू
लगातार चढिरहेकाछन् शाषकहरू
उनीहरूले आफ्नी आमालाई बेचेको खबर
कुनैदिन विदेशी समाचारपत्रहरूले छाप्नेछन्
त्यो युगको त्रासद कविता
काँपिरहेका हातहरूले लेख्न अझै बाँकी छ ।
त्यो कविता लेख्नुपर्ने
अभागी कविहरूको सूचीमा
म पनि पर्न सक्छु
तपाईं पनि पर्न सक्नुहुन्छ
अझ लेख्न धेरै बाँकी छ ।


म अँध्यारोमा बाँचेको मान्छे
उनीहरूले उत्तरतिर
मलाई एउटा नयाँ सूर्य देखाए
म पनि उनीहरूसँगै हिंड्न खोजेँ
उनीहरूले मलाई बिस्तारैबिस्तारै उत्तर तिर देखाउंदै
दक्षिणतिर दौडाउन खोजे
विचार स्खलनको एउटा त्रासद अध्याय
यो पनि लेख्नै  बाँकी छ ।

धेरैधेरै कुराहरू लेखिन बाँकी छन्
म नियमित लेख्ने छु
मेरा कविताहरूमा
म बाँचेको युग
अझै धेरै लेख्नै  बाँकी छ
साथसाथै हिंडिरहेका साथीहरू
यात्रा रोक्न खोज्दै छन्
लेख्न अझै धेरै बाँकी छ ।

              000

अभिनव, वर्ष-१३, अङ्क-२३, वैशाख २०७१  

No comments:

Post a Comment