Friday, November 10, 2017

नयाँ आँधीको स्वागतमा - मातृका पोखरेल

उसले सूचना दिए लगत्तै
केही फूलहरू टिपें र माला गाँसें
पुराना थैलीहरू खोतलेर
केही पैसाहरूको जोहो गरें
र रातो अबिर किनें,
रातो मसीले लेखें
भर्खरै किनेको एउटा नयाँ डायरीमा
भोलिको भविष्य,
मेरा साथीहरू संगसंगै पर्खिएँ
स्वागतका लागि
आउंदै छु भनेर
सूचना पठाउने
एउटा नयाँ आँधीलाई ।


समयले निरन्तर बजाइरहेको छ
कर्कश शोकधून
हल्ला गरिरहेका छन् -
समाचारपत्रहरू
रेडियोहरू
टेलिभिजनहरू
'आँधी खुट्टा टेकेर उभिएको छ
टाढा कतै क्षितिजतिर'
यो हल्लामा बस्तीहरू शोकाकूल छन्
म पनि उनीहरूसँगै  शोकविह्वल छु
तर पनि उभिइरहेको छु
केही फूल र मालाहरू बोकेर
केही अभिरका पोकाहरू च्यापेर
खुट्टाहरू फालेर उड्ने
एउटा आंधीको स्वागतका लागि
उनीहरू संगसंगै
फेरि पनि उभिइरहेको छु ।


खुट्टाहरू टेकेर बस्नु होइन
आँधीको काम,
सुस्ताएर बस्नु होइन
आँधीको काम,
हामीलाई देखाउन
केही पाइला सारेजस्तो गर्नु पनि होइन
आँधीको काम, आँ
उसले आफ्नो शरीरमा
खुट्टाहरू जोडेपछि
वरिपरि गनाइरहेका फोहोरहरू
मित्रता गाँस्न खोजिरहेका छन्
कुनै भ्रममा परेर
फोहोरहरूसँग मित्रता गाँस्नु पनि होइन
आँधीको काम
आँधी उड्नु हो जमिन छोएर आकाशमा
आकाश छोएर जमिनमा ।

केही फूल र मालाहरू बोकेर
केही अबिरका पोकाहरू च्यापेर
उनीहरूसँगसँगै
फेरि पनि पर्खिरहेको छु
खुट्टाहरू नटेकेको एउटा आँधीलाई ।

                       000


शारदा मासिक, वर्ष - ३, अङ्क - २ , पूर्णाङ्क - १९ भदौ २०६६ 

No comments:

Post a Comment