Monday, January 22, 2018

नेवार माल्दाइलाई नभेटेको भए ... - मातृका पोखरेल

संस्मरण 


कटारी पढ्दाको कुरा हो ।

ओहो, त्यस दिनको घटना सम्झँदा अहिले पनि कताकता डर फर्केर आउँछ । महिना त थाहा छैन । २०३७ सालको दशैँ तिहार पछिको समय हुनुपर्छ । यारी खोलाको तीनसय बेसीमा धान थन्क्याउने र कुनिऊँ लगाउने याम थियो । त्यसैले पनि मंसिर महिनातिरको समय हुनुपर्छ भनेर लख काट्छु म ।

सैँतीस साल भनेपछि मेरो उमेर चौध, पन्ध्र वर्षको रहेछ । एक्लै आवतजावत गर्न सक्थेँ कटारी । नाममात्र हिंड्नको हुन्थ्यो कुदिन्थ्यो बेसरी । दिदीको घर थियो कटारीको पूर्वपट्टि बर्मझियामा । म दिदीको घरमा बसरे कटारी स्कुलमा पढ्थेँ ।

एउटा सानोतिनो बिदामा घर आएको थिएँ । शायद दुई चार दिनको मात्र बिदा थियो । कटारीबाट थामखर्क आइपुग्न एकदिन पनि लाग्दैनथ्यो त्यो समय । मरूवा खोला, आहाले, बरपानी, राउतखर्क, लिम्पाटार, स्वरूङ खोलो छिचोल्दै थामखर्क पुग्दा पनि घाम अस्ताउदैनथे । अहिले त सम्झँदा पनि अत्यास लाग्छ ।

म आउँदा पिताजी घरमा हुनुहुन्नथ्यो । प्रायजसो पिताजी घरमा कमै र बाहिरै बढि रहनुहुन्थ्यो ।

घरमा पिताजी नभएको बेला हामीलाई एउटा चाडपर्व जस्तै लाग्थ्यो । पुरै फुक्काफाल । आमालाई हामी कोही टेर्दैनथ्यौँ । खेती, लगानी आदितिरै पिताजीको बढि समय बित्थ्यो । पिताजीको अघिल्तिर बस्दा कडा अनुशासनको अनुभव गथ्र्यौँ हामी । हामी परिवारका सदस्यहरूलाई मात्र होइन, गाउँ टोलका अरू किशोर युवाहरू समेत त्यो अनुभव गर्थे । कडा अनुशासनमा बस्न नचाहने हाम्रा लागि पिताजीको अनुपस्थिति खुबै रमाईलो हुन्थ्यो । पिताजी घरमा हुनु भनेको ज्योतिष र संस्कृत साहित्यका श्लोकहरू घोक्नु र टाढाटाढाबाट आउने आफन्तजनहरूको चिना बनाउनु नै हाम्रो प्रमुख काम हुन्थ्यो । हामी प्रायः त्यसबाट सर्वथा मुक्ति चाहन्थ्यौँ ।

घर सानोतिनो गुरूकुल जस्तै थियो । हामी परिवारका सदस्यको मात्र होइन । हामीलाई पढाउन बसेका शिक्षकहरूले पनि पिताजीबाट अनिवार्यजसो ज्योतिष पढ्नु पथ्र्याे । त्यसमाथि ज्यातिष पढ्न भनेर टाढाटाढाबाट आएका अरू पनि भइनै रहन्थे । गुरूकूल भनेर घोषणा नगरिएको तर अव्यवस्थित खालको गुरूकूल जस्तै थियो हाम्रो घर ।

बिदा छोटो भएकाले तुरून्त मैले कटारी फर्कनु थियो । भोलिपल्ट शनिवारको दिन थियो । आमाले शुक्रबारकै दिन पाइतो सरेर ‘आदमारा गएर बस !’ भन्नुभयो । प्रशिद्ध ज्यातिषी भए पनि पिताजीलाई शनिवारको यात्रा ग्राह्य थियो । शनिवारको यात्रा अशुभ हुन्छ भन्ने एकप्रकारको सामाजिक मान्यता जस्तै बनिसकेको थियो । अहिलेसमम पनि त्यो अन्धविश्वास गाउँघर मात्र नभएर शहरको कुनाकानी बाँचीरहेको छ । 

आदमारा गएर बस्नु मेरा लागि खुसीको कुरा थियो । आदमाराको बसाई हाम्रा लागि बनभोज खान गएजस्तै रमाइलो हुन्थ्यो ।

000

आदमाराका हस्त बहादुर पोखरेललाई हामी ‘खत्री माइला बा’ भनेर सम्बोधन गथ्र्याैँ । गाउँतिरका सबैले ‘माइला बा’ भनेरै बोलाउँथे ।

खत्री माइला बा साँच्चैका मम्तराम थिए । उमेरले बुढौली लागे पनि हामी किशोर वयका मानिसहरूसँग उत्तिकै दौँतरीको जस्तो व्यवहार गर्न जान्दथे ।

खत्रिनी माइलेमा साँच्चैकी सोझी र असल थिइन् । उनले मलाई दिएको स्नेह सम्झँदा अहिले पनि भावुक हुन्छु म । आफू सम्पन्न माइतीकी चेली भएको कुरा बारम्बार गर्थिन् उनी । अरूलाई खान दिने कुरामा माइलेमा साँच्चिकै दिलदार थिइन् । उनीहरूको घर हाम्रो दोस्रो घर थियो । अन्नपात राख्ने हाम्रो मूलघर पनि त्यही थियो ।

खत्री माइलाबासँगका सम्झनाका तरेलीहरू खोतल्दा आफैँलाई अझै रोचक लाग्छन् । किशोर र युवा वयका हामीलाई साथी बनाउन सक्ने खुबी थियो उहाँमा । वर्षे धान खेतीका लागि तीन सय बेँसीमा यारी खोलाको पानी अपुग हुन्थ्यो । कुलोमा पानी झुक्याएर आफ्नो खेतमा लाउनेहरूको पनि बिगबिगी हुन्थ्यो । खत्री माइलाबासँग रातरातभर खेतमा गएर पानी लगाउँदा पनि हामी कुनै दुःख झन्झटको महसुस गर्दैनथ्यौँ । रमाइलो लाग्थ्यो । यारी खोलाबाट अनिँदा आँखा बोकेर गोलढुङ्गाको उकालो आदमारा आउँदा एउटा सानो समरमा विजय प्राप्त गरेर फर्केझैँ लाग्थ्यो ।

आफ्नो खेतमा पानी लगाउन पनि मानिसहरू तर्साउने भूत भएको अभिनय गर्थे । त्यस्तै तर्साउने अभिनय गरेर खेतमा एकोहोरो शङ्ख बजाउँथे जतनपुर पुछारघरका साइँलाकाका । हातको मुठ्ठी कसेर दुरूस्तै एकोहोरो शङ्खको आवाज निकाल्थे उनी । अरू सबै भागून् र एकलौटी खेतमा पानी लाउन पाइयोस् भन्ने साइँला काकाको पोल खुलिहालेछ केही समयपछि । पानी लगाउने मान्छेहरूले साइँला काकाको शङ्खको वास्ता गर्न छाडिहाले । तर पनि साइँला काकाले एकोहोरो शङ्ख फुक्न पछिसम्मै छाडेनन् ।

‘धेरै तमासा नदेखा है साइँला !’ शङ्ख फुकेको आवाज नजिकै आएपछि खत्री माइला बा साइँला काकाले सुन्ने गरी जवाफ फर्काउनुहुन्थ्यो ।

‘बरू आइज झुलो चकमक लिएर बिँडी बनाएर खाउँ ।’ माइल बा निम्ता गर्नुहुन्थ्यो ठूलो स्वरले । त्यसपछि हाँस्दै आइपुग्नुहुन्थ्यो पुछारघरे साइँलाकाका । एकछिन पछि फेरि सुरू हुन्थ्यो साइँला काकाको एकोहोरो शङ्ख फुक्ने काम । त्यही शङ्ख फुकेरै पुछारघरे काका रातभरिमा अरूको भन्दा आफ्नो खेतमा बढी पानी लगाउनुहुन्थ्यो । आदमाराको उकालो चढ्दा हामी देख्थ्यौँ– अरूको खेत फुस्रै भएर लडिरहँदा पनि उहाँको खेतमा पानी टिलपिलटिलपिल भएर भारिएको हुन्थ्यो । एकोहोरो शङ्खको सफलता थियो त्यो ।

साँझ परेपछि खत्री माइला बाको आँगनभरि मान्छे जम्मा हुन्थे । गाउँको सानो मेला लागेजस्तै हुन्थ्यो माइला बाको आँगन । माइलाबा दिनभरि जङ्गल गएर रूखका मुढा ल्याउँथे । साँझ नपर्दै आँगनमा धुनी बाली सक्थे । त्यो आँगनमा गाउँमा सबै मान्छेहरू जम्मा हुन्थे र आआफ्ना अतीतका कुरा गरेर समय कटाउँथे । हामी उनीहरूका कुरा सुनेर खुबै रमाइलो मान्थ्यौँ ।

000

‘हिँड जाउँ मुढा लिन ।’ एक दिन बिहानै खत्री माइलाबाले भन्नेबित्तिकै पारी पाखामा मुढा लिन जान म तयार परिहालेँ । बेलुकाको धुनी बालेर आगो ताप्नुको मज्जा नै बेग्लै हुन्थ्यो ।

काठको मुढो खोज्न बुदियाटार पाखामा पुग्यौँ । ढुङ्गैढुङ्गाको एउटा ओडार थियो । कुँककुँककुँककुँक यस्तै एउटा आवाज निरन्तर आइरहेको थियो । पछिल्तिर फर्कँदै मेरा कानमा माइलाबाजेले खुसुक्क भने, ‘यहाँ कालिज लुकेर बसेको रहेछ । यहाँ उभिँदै गर म पक्रेर ल्याउँछु ।’

कालिज खान पाइने आसले फुरूङ्ग थिएँ म । श्वास फेरेको आवाज पनि कालिजले पत्तो नपाओस् भन्ने कुरामा म सजग थिएँ । छेउको ढुङ्गामा अढेस लगाएर बसेँ ।

खत्री माइलाबा ओडारको तल्लो भागमा पुग्नुभयो । कानलाई कोल्टे पारेर कालिजको आवाज सुन्नुभयो । कुँक कुँक कुँक कुँक ... आवाज मसम्मै आइरहेको थियो ।

खत्रीबाले मतिर आँखाको इसारा गर्दै ढुङ्गाको ओडारभित्र फुत्त टाउको छिराउनुभयो । सेतो कमेज र सुरूवाल लगाएको उहाँको शरीरको आधा भाग ढुङ्गाको ठुलो फब्ल्याँटोबाट बाहिरै थियो । निकै समय बितिसक्यो । माइलाबाले टाउको ननिकालेपछि म ओडारको मुखमै पुगेँ । म पुग्नेबित्तिकै माइलाबाले टाउको बाहिर निकाल्नुभयो । उहाँको शरीर पसिनाले निथ्रुक्कै भिजेको थियो । बोल्नै नसक्ने गरी मुख सुकेको थियो । 
‘खै त कालिज ?’ मैले सोधेँ ।

मेरो प्रश्नको उत्तर नदिइकन माइलाबा हतार हतार कुदकुद भन्ने हाते इसारा गर्दै अघि लाग्नुभयो, त्यसपछि  धेरै वर आएपछि लामो श्वास तान्दै भन्नुभयो, ‘केको कालिज हुन्थ्यो, त्यहाँ त अजिङ्गर पो रहेछ । आज धन्न बाँचियो । भगवान्ले हात थापेका रहेछन् ।’

कालिजको मासु खाने धोको त्यसै रह्यो । काठको मूढो पनि नबोकीकन हामी घर फक्र्यौं त्यसदिन । 

000

पाइतो सर्नका लागि आदमारा गएर बस्ने कुरा मेरो लागि खुसीकै कुरा थियो । खत्री माइलाबाको निस्फिक्री खालको स्वभाव र खत्रिनी माइलेमाको मायालु व्यवहारले परिवारका हामी सबै सदस्य त्यहाँ जान खुबै रूचाउँथ्यौँ ।

पाइतो सर्न आदमारा गएँ । म पुगेपछि उसैगरी खुसी भए खत्री माइलाबा र माइलेमा । साँझ उस्तै रमाइलो भयो । आँगनमा माइलाबाले उसैगरी धुनी सल्काउनुभयो । चन्द्रबहादुर खड्का, शेरबहादुर खड्का, दुर्गबहादुर खड्का, भरतबहादुर खड्का, नेत्रबहादुर पोखरेल, चक्रबहादुर खड्का आदि गाउँमा सबैसबै मान्छे आए । धुनी ताप्दै भर्खरै भिœयाएको धानको कुरा भए । सधैँ हुने कुराहरू भए । नयाँनयाँ प्रसङ्गहरू पनि थपिए ।

‘भोलि बिहानको फजेरीमैं बाटो लाग्नु ! हामीलाई पनि हिँडेको थाहा नदिनू नि !’ सुत्ने तरखर गर्दै माइलेमाले पनि आगो निभाउँदै भन्नुभयो ।

म पनि गाउँमा सबै मानिसहरू बिदा भइसकेपछि सुत्न छेउको कटेरोमा चढेँ ।

एकछिन राम्रैसँग झकाएछु मात्र । आफैलाई रातभरि निदाएको भ्रम पर्ने गरी झकाएछु । आँखा खुलेपछि हेर्छु । मिर्मिरे उज्यालो सर्वत्र फैलिएको छ ।

‘लौ बर्बादै भयो । उज्यालो पो भइसकेछ’ मनमनै आत्तिएँ । लिम्पाटारको उकालोमा घामले पोल्ने डर थियो । सखारै लिम्पाटारको उकालो छिचोल्ने योजना भत्किए जस्तै लाग्यो ।

कसैले थाहा नपाउने गरी झोला समातेँ र मतानबाट भुइँमा ओर्लिएँ । माइलेमाले खोकेको आवाज आयो । हिजो सुत्ने बेलैमा भन्नुभएको थियो, ‘बिहान हामीलाई थाहा नदिइकन हिँड्नु है ।’

उहाँहरू मलाई परिवारकै सदस्य जस्तो ठान्नुहुन्थ्यो ।

सुस्तरी तगारो खोलेँ र गल्लीमा निस्किएँ । उज्यालो यति चहकिलो थियो कि दक्षिणतिरको महाभारत, पश्चिमतिर देखिने स्वरूङ् र लेखानीको डाँडो, उत्तरतिरको भुङ्जु पर्वत छ्याङ्गै देखिन्थे ।

‘अब ढिलो गर्नु हुँदैन । छिटो गर्नुपर्छ ।’ मनभरि सोच्दै ओरालो लागेँ । यारी खोला तरेर निबुवाटारको तेर्सो लाग्दा पनि उज्यालोको मात्रा उस्तै थियो । खुसी नै लाग्यो । बेलैमा कटारी पुग्ने लोभ थियो ।

निबुवाटारका कृष्णबहादुर श्रेष्ठ गाउँ समाजमा नेवार माइला भनेर प्रसिद्ध थिए । उनी ग्रामीण भेगका परिचित व्यापारी थिए । गाउँ टोलमा सज्जन मान्छेका रूपमा चिनिन्थे । उनीसँग पनि हाम्रो परिवारको अत्यन्तै निकटको सम्बन्ध थियो । उनको घर मूलबाटोको मुन्तिर थियो । घरको अघिल्तिर खोलाको डिलमा गाईगोठ थियो । म पुग्दा उनी गाईवस्तुलाई घाँस हाल्दै रहेछन् ।

‘नानी, यो राती कता हिँडेको ?’ मलाई देखेर छक्क परे माल्दाइ ।

‘कटारी हिँडेको दाइ !’ मैले पनि सहजै भनेँ ।

मेरो कुराले उनी झन् छक्क परे । ‘रातीको दश बजेकै छैन होला । यस्तो समयमा कहाँ हिँडेको ।’ उनको कुराले म खङ्ग्रङङ भएँ ।

‘म त बिहान भएर हिँडेको पो भन्ने ठानेको ।’

मैले सबै कुरा माल्दाइलाई बताइदिएँ ।

जूनको उज्यालो मलाई बिहान भएको भ्रम परेछ । यो कुरा थाहा पाएर एकपटक आफैँ अतालिएँ ।

आधा रातमा स्वरूङ खोलाभित्र पुगेको भए ... यही सोच्दासोच्दै रातभर पनि डर लागिरह्यो ।

स्वरूङ खोलो एक्लै हिँड्न दिउँसै पनि डरलाग्दो थियो । वरिपरिको ढुङ्गे पहरोले आफैँले बोलेको प्रतिध्वनि एकछिन पछि फेरि आफ्नै कानमा गुञ्जिन आइपुग्थ्यो । पहराका थाप्लामा बसेर कहिलेकाहीँ बाँदरले ढुङ्गा लडाइदिन्थे र खोलामा हिँड्ने यात्रीहरूमा आतंक मच्चिन्थ्यो । खोलामा बाढी आएको बेलामा उस्तै आतंक । खोलाको वल्ला छेउ, पल्ला छेउ दुवैतिर पहरो । कतै भाग्ने ठाउँ छैन ।

‘मलाई नभेटेको भए स्वरूङ खोलामा आज भुतले खान्थ्यो’ माल्दाइले ठट्टा गरे । 

‘हो, नेवार माल्दाइलाई त्यो राती नभेटेको भए !’

त्यो घटना सम्झँदा अहिले पनि डर लाग्छ ।

उज्यालो भएको प्रस्ट ठम्याएपछि मात्र म बाटो लागेँ । माइली भाउजूले दिएको चिया खाएर मनभरि डर उमारेर त्यसदिन घाम नअस्ताउँदै म कटारी पुगेँ ।

अहिले पनि सम्झँदा डर लाग्छ । ‘त्यस रात नेवार माल्दाइलाई नभेटेको भए ... ।’

                                                                     0

No comments:

Post a Comment