Friday, December 20, 2024

किन्नरहरूको रामायण - महेश पौड्याल

 


जहाँको पो होस्, माछो ठिमीमा आएपछि ‘जनकपुर’को भइहाल्छ । अझ ‘जलकपुर’ भनिहाल्ने पनि भेटिन्छन् विक्रेता ।

सुन्तोला जहाँको पो होस्, बजार छिरेपछि ‘गोर्खा’को भइहाल्छ । कुरा बुझ्दै लाँदा फर्फिङतिरबाट आउँदो रैछ ।

मातृका पोखरेल सरले कुरो आजसम्म खस्काउनुभएको छैन र बाँचेको छु । एउटा घटना । ढाकाबाट फर्कने दिन । किनमेल गर्ने गर्ने भन्दाभन्दै भ्याउँदै भ्याइएन । कमसेकम चकलेट त ल्याउनू भन्लान् तर भ्याइएन । काठमाडौँ झरेपछि आइडिया लगाइयो । ‘फुर्यो’ भनुम् न । दुर्गा डिपार्टमेन्टल स्टोरमा छिरियो । बाहिरको खोलमा उर्दूका क-याङकुरुङ अक्षर लेखेका चकलेट किन्यौँ, दुर्गा डिमार्टमेन्टल स्टोरको स्टिकर हटायौँ र घर लग्यौँ । खूब मिठो मानेर खाए घरमा । छरछिमेकमा पनि बाँडे । भनेँ पनि— ‘क्या दाम्मी हुँदोरछ बाइ बङलादेशको चकलेट !’

एकजना प्राध्यापकले काठमाडौँ विश्वविद्यालयमा आमन्त्रित प्राध्यापकको रूपमा बोल्दै भने— ‘अमेरिका इज मेड इन चाइना ।’ एकछिन त कुरो बुझिएन ! पछि दृष्टान्त दिए । अमेरिकाबाट ‘अमेरिकन वस्तु’ भनेर विश्वभरि पठाइने ब्रान्डेड सामानजति सबै चीनमा बनेका हुँदा रहेछन् ।

थकाली भान्साघरका साहुजी नै ‘बाहुन’ परेजस्तो ।

नसकिने भो बाबै !

जनकपुरका माछा, गोर्खाका सुन्तोला, बङ्लादेशको चकलेट र अमेरिकी गिफ्ट — यिनको मिलनविन्दु मैले लैङ्गिकताको विमर्शमा भेट्टाएको छु । यो कुमालकोठीको जरो अथवा सञ्जीवनीको बुटी भेट्टाएजस्तो भयो कि भएन?

लेखकलाई काम लाग्न सक्छ । नलाग्न पनि सक्छ ।

अचेल फेसनमा छ ‘लैङ्गिकता’ । सिर्जनात्मक लेखनमा मात्रै हो र? सैद्धान्तिक तथा अनुसन्धानात्मक लेखनमा पनि आइरहन्छ । यो आएपछि अलि मोडर्न हुँ भन्न पनि सजिलो ।

— सांस्कृतिक अध्ययनको ताँदो समात्न लैङ्गिकता ।
— मानव अधिकारको ताँदो समात्न लैङ्गिकता ।
— राजनैतिक तथा सामाजिक सशक्तीकरणका लागि लैङ्गिकता ।
— शरीर राजनीतिको अध्ययनका लागि लैङ्गिकता ।
— नारीवादका लागि लैङ्गिकता ।
— पुरुषवादका लागि लैङ्गिकता ।
— सबाल्टर्न विमर्शका लागि लैङ्गिकता ।
— हुँदाहुँदा मार्क्सवादको अध्ययनका लागि लैङ्गिकता ।

जुन जुन नाम दिइए पनि कुरो फेरि नारीवाद वा पुरुषवादकै भासमा पु-याएको देखेको छु । माछा जनकपुरकै । सुन्तला गोर्खाकै । चकलेट…भो, सुगर बढ्छ !

गाउँतिर खन्यूँको रुख खूब हुन्थ्यो । चोप आउने । बेलुका ढुङ्गाले हानेर चोटैचोट पार्थिम् हामी । बिहान जाँदा चोटबाट निस्केको चोप जमेर चुइगमजस्तै हुन्थ्यो । अनि त्यो चुँडेर देशी चुइगम खान्थिम् र फुर्ति लाउँथिम् । साना मान्छे हुँदैनथिम् । निकै तन्किन्छ त्यो चुइगम । लैङ्गिकता पनि त्यस्तै, इलास्टिक । जता तान्दा पनि हुने । चुट्टिइरहन्छ । तै पनि… हुँदा हुँदा धर्म–दर्शनको अध्ययनमा पनि लैङ्गिकता । सबाल्टर्नको अध्ययनमा पनि लैङ्गिकता । एकजना मित्रले त काँक्राको बेलो पनि भाले र पोथी हुने ठहर गरे । फेसकुबमा आयो ।

कुरो बुझ्दै लाँदा आलुजस्तो रहेछ लैङ्गिकता — जता पनि मिल्ने ।

कि पानीजस्तो पो?

हो, पानीजस्तो । तरल । ठोसता नभएको । लोटा — पिँध नभएको ।

कुरो बुझिएन ।

कुरो अब बुझिन्छ । बुझिने बेला भइगयो । एक सेकेण्ड ।

विषय जेसुकै दिएर हामीलाई अल्मल्याइएको होस्, लैङ्गिकताको अध्ययन भनेर हामीलाई धेरैजसो अवस्थामा नारीवादकै कुरा सुनाइन्छ— पुरुष, पुरुषसत्ता, थिचोमिचो, शास्त्र, सत्ता, शक्ति । अथवा पुरुषवादको कुरा— मसल, म्याचो म्यान, सिक्स प्याक, भिरिलिटी…
शरीर राजनीति भनिएको हुन्छ, कुरो फेरि पुरुष—महिला द्विचरको । थिचोमिचो । असमानता ।

लैङ्गिक विषय छुने जुनै विषय पो होस्, गाँठीगुँठी कुरो लप्सीकै फेदमा पुग्छ । पु-याइन्छ । घुमाइफिराइ माछा जनकपुरकै । सुन्तोला गोर्खाकै । चकलेट ?

अलमल्याउन बानी परेका बेमानहरू !

यसमा समस्या के छ र?

छ समस्या । छ । तर देखिँदैन पनि । मान्न पनि तयार छैनन् मानिसहरू ।

समस्या (क) — महिलाले महिला हुनुका कोणबाट बढी सोच्छन् । पुरुष दोषी ।

समस्या (ख) — पुरुषले पुरुष हुनुको कोणबाट बढी सोच्छन् । महिला दोषी ।

समस्या (ग) — अधिकारकर्मीले पद र डलरको कोणबाट बढी सोच्छन् । लालच दोषी ।

समस्या (घ) — नेताले भोटको कोणबाट बढी सोच्छन् । पद दोषी ।

लैङ्गिकताको परख, लेखन र अध्ययनले महिला र पुरुषको कुरा गर्दैन भन्ने होइन । बाजा बजाएर गर्छ । तर नारीकै मात्र कोणबाट कुरा गर्न त नारीवाद छँदैछ त । पुरुषकै कुरा गर्न पुरुषवाद छ नि । मिसमास पारेर अचेल ‘फेमिनिन म्यास्कुलिनिटी’ भन्ने एउटा वर्णशङ्क सिद्धान्त पनि आएको छ । म आफैँचाहि त्यस्तो वर्णशङ्करको निर्माणभित्र पनि लैङ्गिक असमानताको पुट देख्छु ।

जो जे हो, त्यसलाई आफ्नो प्रकृतिप्रदत्त शरीरलाई उत्सवमय बनाउने प्रेरणा हामीले दिएनौँ । फ्रान्सेली चिन्तक लुसी इरिग्यारीको कुरा बुझौँ — ‘शरीर लेख । शरीर लेख ।’ उनको भनाइ ।

जस्तो छ शरीर, आवरण र स्वभावमा, त्यसको उत्सव मनाउन सिक्नु–सिकाउनु जरुरी । अर्काको शरीर आवरण र स्वभावमा जस्तो छ, त्यसलाई स्वीकार गर्नु, सम्मान गर्नु जरुरी छ ।

यो अनिवार्य छ तर जटिल हामीले बनायौँ । युगौँ पो भयो त !

यो लैङ्गिकताको अध्ययन किन चाहियो र?

कुरा गम्भीर ।

यसरी पनि सोचौँ न—

‘संसारमा दुई जात — पुरुष र महिला !’ हामीले यसो भनेको शताब्दिऔँ भयो । अझ भनौँ, यसो भनेर हामीले हिंसा गरेको शताब्दिऔँ भयो । यी दुई जातको विमर्शका बीच कतिपय कुरा किचिएका छन् । तिनमा दृष्टि जानुपर्छ ।

यो पुरुष र महिलाको विमर्शका बीच कोको किचिए ?

— आवरणमा पुरुष, स्वभावमा महिला । ती किचिए ।
— आवरणमा महिला, स्वभावमा पुरुष । ती किचिए ।
— आवरणमा पुरुष । स्वभावमा कहिले महिला, कहिले पुरुष । ती किचिए ।
— आवरणमा महिला । स्वभावमा कहिले महिला, कहिले पुरुष । ती किचिए ।
— आवरणमा महिला । स्वभावमा न महिला, न परुष । रुचिमा पनि । ती किचिए ।
— आवरणमा पुरुष । स्वभावमा न महिला, न पुरुष । रुचिमा पनि । ती किचिए ।
— आवरणमा न पुरुष, न महिला । ती झनै धेरै किचिए ।
— जन्मँदै आवरणमा, एउटै शरीरमा एकभन्दा बढी जनेन्द्रिय भएका । ती किचिए ।
— घटना, परिघटाना, दुर्घटना, रोग, व्याध वा विविध कारणले यौनिक क्षमता वा इच्छा गुमाउन पुगेका नरनारी । ती किचिए ।
— शल्यक्रिया अथवा होर्मोन थेरापी गरेर लिङ्ग परिवर्तन गरेका । ती किचिए ।
दृष्टि नगएको होइन । लेखकहरूको दृष्टि गएको हो । तर हामीले आफ्नो अध्ययनमा त्यसलाई प्रेमपूर्ण तरिकाले समेटेनौँ । अथवा अनुमोदन गरेनौँ । टेरेनौँ ।

धेरैजसो सन्दर्भमा त यतातिर दृष्टि जानुपर्छ जस्तो नै लाग्दैन हामीलाई । आआफ्ना दम्भको पर्दाभित्र हामी मस्ताराम । हामी श्रेष्ठ । हामी । हामी मात्र । अरू? आवश्वकता र इच्छाअनुसार विपरीत लिङ्गीलाई मान्ने । आवश्यकता र इच्छा पूरा भएपछि फेरि उही डम्फु — चौभिनिज्म । हामी श्रेष्ठतम लिङ्गी । अरूको नकुरा अरम अहिले ।

‘संसारमा मान्छेका दुई जात’ भन्ने वाक्यांशले गरेको हिंसा काहालीलाग्दो छ । लेखनमा पनि त्यसको ग्रहण खग्रास बनेर पल्टेको छ । यस्तो ग्रहण, जसलाई जुन राशीका मान्छेले हे-यो, उसैलाई जलबिन्दु । हैट !

कुरो हो । अन्याय भयो । संसारमा मान्छेका दुई जात मात्रै छैनन् लैङ्गिकताका हिसाबले । सबै माछा जनकुरकमा भन्दिँदा नुवाकाटेका ट्राउटको के हुन्छ? कोशीका भोटीको? हिलोमा भेटिने बाम माछाको? लोपुन्मुख मागुरको? राराका असलाको? हैट ।

सुन्तोलाको? मौसमै सकियो, कुरा नगरौँ ।

लेखनमा यी दुई ध्रुवका बीचमा किचिएका मान्छेको कुरा आएन । तिनले आफैँ पनि कम लेखे । लेखिहाले भने पनि वास्तविकता लुकाएर लेखे । डराए । जो घोषित रूपमै पुरुष वा महिला हुन्, तिनले कि आफ्नै डङ्का बजाए, कि त यथार्थको नाममा ‘सहानुभूति’ लेखे । अझ थपौँ— कि ‘कठैबरा’ भनेर लेखे, कि जिब्रो टोकेर ‘आम्मै नि, त्यसो पो’ भनेर लेखे ।
पाठकले चाहिँ ‘होइन होल्ला….’ भन्दै पढे ।

तर हो ।

एउटा तर्क आउला — यो फरक लैङ्गिकताको कुरा, जो आफ्नो अनुभवमा छैन, त्यो कसरी लेख्नु?

उत्तर — अम्लेट खानलाई अण्डा पार्नैपर्ने हुन्छ र?

उत्तर अलि हल्का भयो । विषय गम्भीर ।

स्वर्ग लेख्ने मिल्टन स्वर्ग पुगे र? नर्क लेख्ने दाँते, नर्क पुगे र? ‘तीन गँजेडीको चन्द्रलोक यात्रा’ लेख्ने शिवकुमार राई चन्द्रलोक कहिले पुगे? मोहनराज शर्मा वैकुण्ठ पुगेको खै कसले देख्यो । अँ नाचिकेता जिउँदै यमलोक पुगे । कसले माग्यो र भिजा–पासपोर्ट ?करिब करिब स्वर्गै पुगेर फिर्ता ल्याइन् सत्ववान्लाई सावित्रीले ।

कमल रिजालको उपन्यास आयो ‘सुकर्म’ । निकै चर्चा कमायो । हराएको साथी सुकर्मको खोजी गर्दै उसको साथी सुभद्र पृथ्वी सकेर चन्द्रलोक, मङ्गललोक, बुधलोक, बृहष्पतिलोक हुँदै सप्तर्षिलोक पुग्छ । कल्पनाशीलताले पु-याउन सक्छ नभोगेको लोकमा पनि । त्यसलाई लोकहितमा प्रयोग गर्न सक्छ लेखकले । कल्पना भनेको, साहित्यमा, केवल ‘मास्टरबेशनल फ्यान्टसी’ हुनु भएन । यसको प्रयोजनलाई लोकहितकारी बनाउन सकिन्छ नि !

कल्पनाशीलता । सिर्जनाशीलता । थपौँ— ती ‘वर्जित’ मानिएका क्षेत्रमा अनसुन्धान गर्न पसौँ । ‘आउट अफ द बक्स’ सोचौँ न । परानुभूति भन्ने कुरा पनि छ नि । इम्पेथी भन्छन् क्यार । त्यो लेखकहरूको गहना हो । गहना लगाऔँ न !

हामीले शास्त्रलाई पनि एकाङ्गी तवरले, पुरुष वा महिला हुनुको कोणबाट मात्रै पढ्यौँ अथवा व्याख्या ग-यौँ । लेख्नेले पनि सायद उसै गरी लेखे । तर बुद्धि पु-याएका लेखक पनि छन् । हामीले लिङ्गकै बलले तिनलाई दबायौँ ।

उदाहरणका लागि, रामायण । राम वनबास जाँदा उनलाई पम्पा नदीसम्म साथ दिए अयोध्यावासी नर, नारी र किन्नरले । नर र नारी त घर फर्किए, किन्नर फर्किएनन् । त्यहीँ बसिरहे । बसिरहे । एक दिन, दुई दिन हो र? चौध वर्ष । रामसीता फर्केर आउँदा पनि त्यहीँ थिए । साथै आए अयोध्या ।

यो कुन तहको समर्पण हो? भक्ति हो? प्रेम हो?

भनिन्छ— रामले नै यिनलाई विशेष पर्वहरूमा जनसाधारणलाई आशीर्वाद दिने अधिकार दिएका रे !

यी किन्नर रामायणमा नायक त के, महत्त्वपूर्ण पात्रमा पनि गनिएनन् । दोष रामायणका रचयिताको त्यति होइन यसमा । दोष व्याख्याताको । ‘पण्डित’ हरूको हो । पाठकको हो । हाम्रो हो । ‘किन्नर रामायण’ लेख्नुजस्तो नि !

जोडदार सिफारिस— अर्चना थापाको कथासङ्ग्रह ‘कठपुतला’ । यसका केही कथाले ‘पुरुष’ र ‘महिला’ को महला लगाएकाहरूलाई सोच्न बाध्य पार्छन् पार्छन् । सोच्न लगाउँछन् — मर्द त थाहा भो, यो ‘विमर्द’ भनेको को हो?

कमला दासले एउटा कविता लेखिन्— ‘द डान्स अफ द युनक’ । यानि, हिजडाहरूको नाच । ‘हाहा’ गर्न सजिलो होला, यो कविताको मित्री मर्म बुझेर आँखामा आँसु रोक्न गाह्रै पर्छ ।

कुमार ज्ञवालीको कथा छ ‘नियोग’ । पुरुषमा पुंशत्व छैन । चाहिएको छ सन्तान । श्रीमतीले बच्चा जन्माउँछिन् छिमेकीका । भाडामा ल्याइयो भनौँ न । ‘नियोग’ विधि । शास्त्रमा उल्लेख छ नियोगको । पंशुत्वको प्रश्न समाजमा थिएन भने शास्त्रले नियोगको विधि किन लेख्यो?

हामीले हिजडामा ‘अमान्छे’ देखेको शताब्दिऔँ भयो । तिनीभित्रको मानवता कहिल्यै नदेखेको ठिक साँचो हो । कतिपय पुराना कथा वा शास्त्रले यस्तो विभेदको बिउ रोपे । हामीले व्याख्या पनि उस्तै ग-यौँ । उदाहरणमा जाऔँ न ! देउताका राजा जियस पनि कस्ता पापी । कसैलाई क्रूर सजाय दिनुपर्दा ‘नपुंशक हुनू’ भनेर दिए । उदाहरण छँदैछन् बूढा ग्रिसेली द्रष्टा टाइरेसियस । लिङ्गविहीन । पुंशत्वविहीन । हुन त त्यस्तो श्राप लिएर तिनलाई गाडेका हुन् माटोमा राजाले । थाहा छ । तर, माटोमा गाडिएको त्यो मानिस ‘बिउ’ थियो, उम्रियो । फैलियो ।

अर्जुनकै कुरो पनि श्रापकै कुरा हो । उर्वशीको ‘अनैतिक’ आग्रह नमान्दा उनले पुंशत्व गुमाउनु परोस् भनेर श्राप दिएको कुरा हामीले पढेकै हौँ । त्यसले उनलाई पनि बृहन्नला बनायो ।

कुरा नि, शास्त्रले जे भन्यो त्यही ब्रह्मसत्य मान्दिदा कुरा बिग्रिन्छ । शास्त्र पनि हामीजस्तै अग्रही मान्छेले लेखेको हो । त्यसमाथि प्रश्न गर्नुपर्छ ।

एउटा पुरुष बृहन्नला भयो । यसलाई ‘श्राप’ को उपज मान्नु गलत हुने छ । कुनै फरक किसिमको लैङ्गिकतालाई श्रापको उपज मान्ने दम राख्छ कोई माईबापले आजको मितिमा ? शास्त्रको पुनर्व्याख्या गरौँ । भनौँ— अर्जुनभित्र थियो बृहन्नला हुनुको गुण । जब उपयुक्त वातावरण आयो, प्रकटित भयो । बस् !

वैवस्वत मनु र उनकी श्रीमती श्रद्धालाई सन्तान पाउने तीव्र इच्छा थिएछ । मनुलाई छोरा चाहिएको, श्रद्धालाई छोरी । श्रद्धाकै इच्छाअनुसार छोरी इला जन्मिछिन् । यसबाट राजा त्यति खुसी भएनछन् । त्यो बुझेर गुरु वशिष्ठले हरिको विशेष आराधना गरेर इलालाई ‘सुद्युम्न’ नाम गरेको पुत्र बनाइदिए ।

वशिष्ठको यो विशेष आराधना भनेको के हो ? शल्यचिकित्सा ? त्यो बेला थियो प्रविधि ?
कथाकारको आलङ्कारिक लेपन हो त्यो खासमा । कुरो ट्रान्सजेन्डरको हो । व्याख्या हामीले गर्नुपर्छ । गरौँ न !

कथा अगाडि पो रोचक छ यो । घोडा चढेर शिकार खेल्न निस्केका सुद्युम्न, अलि पर जङ्गलमा शिवपार्वतीले वनविहार गर्दैगरेको ठाउँमा पुगेछन् । शिवपार्वतीलाई देख्नासाथ उनी पनि महिला भए रे, उनको घोडा पनि घोडी भयो रे ! हैट् !

यसरी वनमा घुम्दै गरेकी सुन्दरीलाई देखेर चन्द्रपुत्र बुध आकर्षित भए रे ! अनि तिनी दुईको समागमबाट पुरुरवाको जन्म भयो रे !

आफ्नै तरल लैङ्गिकताबाट अचम्मित भएर सुद्युम्नले गुरु वशिष्टलाई पुकारेछन् । वशिष्ठले शिवलाई गुहारेछन् । शिवले विधि सञ्च्याएछन् — ‘एक महिना पुरुष, एक महिना महिला बनाएर संसार घुमाइदिन्छु ।’

ती घुम्दै हिँड्ने पुरुरवा हामी हौँ । हामी नै हौँ । अथवा, हामी पुनि हुन सक्छौँ ।

भागवत् पुराणको नवौँ स्कन्ध ।

आज अलिकति पँणित्याइँ पनि छाँटियो ।

हाम्रै भूगोलसँग जोडिएको अर्को एउटा रमाइलो कथा छ । इन्द्रलाई ब्रह्मापुत्री अहिल्या सारै मन पर्ने । ब्रह्माले भने अहिल्यालाई गौतम ऋषिसँग बिहे गरिदिए । इन्द्रलाई उखरमाउलो ! गौतम नभएको बेला आएछन् र सुटुक्क अनैतिक कार्य गरेछन् । ऋषिले थाहा पाए, र श्राप दिए । इन्द्रका जिउभरि हजार योनि । पछि पनौतीमा तपस्या गर्दागर्दा शिव–पार्वती प्रकट भएर पार्वती–स्वरूप रुद्रावती, पद्यमावती र लीलावती नदीको सङ्गमका नुहाउन लगाएछन् । श्राप चट् । योनि गायब । इन्द्र सकुशल । छुमन्तर । पनौतीमा मेला आजपर्यन्त जारी छ ।

इन्द्रकै शरीरमा योनि बोक्ने प्रावधान छ । हराउने प्रावधान पनि छ । लैङ्गिकता तरल ।
यस्ता शास्त्रीय कथालाई कसरी व्याख्या गर्ने, त्यसमा नवीनता चाहिएको छ । नयाँ दृष्टि निर्माण गरौँ । अलि संवेदनशील हुनु जरुरी छ । केवल नारीवाद र पुरुषवादको दुन्दुभिले पुग्दैन । विषय फरक हो ।

पुरुषको पुरुषत्व ठोस हो वा होइन? नारीको नारित्व नि?

हाहा, यसमा पनि बहस गर्नुपर्ने दिन त आए नि बाबै । कसैले नसोचेका दिन हुन् यी ।
तर यो सोच त आयो, आयो । फैलियो त विश्वभरि । साहित्यभरि । चलचित्रभरि । चित्रकलाभरि ।

मान्छे मान्न बाध्य भए — लैङ्गिकता तरल कुरा हो । यो ठोस मात्रै हुँदैन ।

मान्छे मान्न बाध्य भए— मान्छेका दुई जात मात्रै छैनन् । अरू पनि छन् । र यो धरती तिनको पनि हो ।

हामीले ‘आम्मै नि’ भन्नु चैँ आवश्यक छैन । यो फरक पहिचान त्यसैगरी टाँसिएको हुन्छ, जसरी पुरुष वा महिलामा पुरुष वा महिला हुनुको पहिचान टाँसिएको हुन्छ । कतिपय तेस्रो लिङ्गीहरू कल्पनामै पनि पुरुष वा महिला हुन पाए हुन्थ्यो भनेर सोच्दैनन् । कैलाश श्रेष्ठका रूपमा जन्मेका (जन्मेकी) भूमिका श्रेष्ठले एउटा अन्तरवार्तामा भनेकी छन्— साथीहरूले अर्को जन्ममा छोरा वा छोरी के भएर जन्मन चाहन्छौ भनेर सोध्छन् । ‘म त अर्को जन्ममा पनि तेस्रो लिङ्गी नै भएर जन्मन पाऊँ,’ उनको भनाइ ।

यसलाई समान्य भनाइ मान्नुको विकल्प छैन । नमानी सुक्खै छैन ।

स्वाभाविक हो । पुरुष हुनु वा महिला हुनु भनेको के हो भन्ने जसले अनुभव नै गरेन, उसलाई पुरुष वा महिला हुनुमा के मोह हुन्छ र?

गोरुको जस्तो महला लगाएकाहरूका लागि मात्रै यो भनाइ ‘अचम्म’ को भनाइ हो ।
मित्र चन्द्रप्रकाश पाण्डेसँग मेरो भेटवार्ता नै भयो केही वर्षअगाडि । गहन छलफल । प्रसङ्ग थियो— फरक लिङ्गीबारे उहाँले निर्माण गरेको नाटक — ‘जिउँदो आकाश’ ।
२०७५ सालको कुरा होला । आठौँ अन्तर्राष्ट्रिय ओलम्पिक ड्रामा फेस्टिवलमा देखाइएको यो नाटक नेपालभित्रै पनि धेरै सहरहरूमा दर्जनौँपटक देखाइयो । नाटकले फरक लिङ्गीलाई पुरुष र महिलासरह अधिकार दिनुपर्ने वकालत गरेको छ । आँट र सोचलाई सलाम ।

एउटा सिफारिस छ— अरुन्धी रायको उपन्यास ‘मिनिस्ट्री अफ अटमोस्ट हेप्पिनेस’ । पाइन्छ नेपालमा । कथा मूलतः अन्जुम नाम गरेको एउटा ‘हिजडा’ को हो जो समाजका अन्य पक्षमा वर्जित छ, तर कतिपय पर्वमा अपरिहार्य छ । समाजको दोहोरी नीति? उपन्यासको सार यति सरल र सपाट कुराले मात्रै चाहिँ समेट्दैन । एक ठाउँ त ‘हिजडालाई मार्दा पाप लाग्छ’ भनेका कारणले ठूलो धार्मिक दङ्गामा पनि ऊ बाँच्छ । हुन त लेखकले हिजडा हुँदा यसरी बाँचिन्छ भनेर वकालत गरेकी होइनन्, तर हिजडा हुनुको पनि एउटा विशिष्ट पहिचानको धरातल हुन्छ भन्नेचाहिँ पक्कै हो ।

के गर्न सक्छन् त पुरुषले र महिलाले यस प्रश्नमा?

फरक लिङ्गीलाई तिनले फेर्न र आफूजस्तै बनाउन सक्छन्? सक्दैनन्? र, जुन काम मान्छेले गर्न सक्दैन, त्यसमा उसको कानुन लाद्न पनि मिल्दैन । विलियम बटलर यिट्सले उनको एउटा नाटक ‘पर्गेटरी’ मा देखाएका छन्— यी पातकीको वंश नै नाश गरिदिएर स्वर्ग सुधार्छु भन्ने एउटा सन्काहाले बाउ पनि मार्छ, छोरो पनि । तर पनि, जागित्रको छाया आउन छोड्दैन । अन्त्यमा हार खाएर भन्छ— मान्छेको संसारभन्दा परको कुरामा मान्छेले केही गर्न सक्दैन । ‘म्यान क्यान डु नथिङ’ ।

यी फरक लैङ्गिकताका सन्दर्भमा पुरुष वा महिलाले शारीरिक अथवा मनोवैज्ञानिक प्रश्नमा केही गर्न सक्दैनन् । केही पनि गर्न सक्दैनन् ।

गर्न के सक्छन् त?

— उनको पहिचान स्वीकार गर्न सक्छन् ।
— उनको अधिकार सुरक्षित गर्न सक्छन् ।
— तिनको सशक्तीकरण गर्न सक्छन् ।
— तिनलाई सम्मान गर्न सक्छन् ।
— तिनलाई निर्बाध रूपमा तिनकै इच्छाको जीवन बाँच्ने वातावरण बनाइदिन सक्छन् ।
— तिनका बारेमा बोल्न सक्छन् । लेख्न सक्छन् । कानुन बनाउन सक्छ । पैरवीगर्न सक्छ ।

यसो हुँदा के हुन्छ?

धेरै हुन्छ । धेरै नै ।

१. लिङ्मा टाँसिएर बसेको अनावश्यक घमण्ड र अभिमान धुलिट्याम हुन्छ ।
२. पुरुष र महिला हुनुका बीचतिर विद्यमान अर्को एउटा संसारले आकार लिन्छ । स्वरूप लिन्छ । सास फेर्न पाउँछ ।
३. सन् १९९८ मा समलिङ्गी भएको आरोपमा, अमेरिकाजस्तो उदार भनिएको देशमा पनि मेन्यु वेन सेफर्ड नामक युवकलाई योमिङ विश्वविद्यालय हाताभित्र मरणासन्न हुने गरी पिटियो । उनको ६ दिनपछि निधन भयो । यस्ता घटना घटने थिएनन् ।
४. सन् २०१४ मा समलिङ्गी भएको आरोपमा आईएसआईएसले सिरियामा ढुङ्गा हानेर दुई पुरुषलाई मा-यो । त्यस्ताले बाँच्न पाउँछन् ।
५. जुन २०२२ मा महिला समलिङ्गी भएको आरोपमा दक्षिण अफ्रिकामा ढुङ्गाले हानेर मारिएकी जिम्बावेकी महिला ‘रुथ निक्की चिगोवे’ जस्ता महिलाले बाँच्न पाउँछन् ।
५. सन् २०२२ एप्रिलमा यस्तै आरोपमा किनियामा मारिएकी शिला लुमुम्बाले मर्नु पर्दैन ।
७. ब्रुनाइ, साउदी अरब, यमन, सुडान, मोरितानिया, नाइरेजियाका केही भाग तथा सोमालियाजस्ता देशमा सामलैङ्गिक सम्बन्ध कानुनी अपराध हो, र यस्ता मानिसलाई ढुङ्गाले हानेर मार्ने चलन आजपर्यन्त छ । यी देश, यस्ता कानुन परिवर्तन गर्न बाध्य हुनेछन् ।
८. समाजको भाषा फेरिनेछ । लिङ्गविभेदी शब्दावली हट्नेछन् । कतिपय उखान–टुक्काको जग हल्लिनेछ ।
९. अरू धेरै धेरै कुरा हुने छ । धरती सही अर्थमा साझा हुने छ ।
यी सम्बन्धको घुमाउरो वकालत गरिएको होइन । सत्यलाई स्वीकार गरौँ भनिएको चैँ पक्कै हो ।

मान्छेको प्रकृतिप्रदत्त स्वभावलाई कानुनले परिवर्तन गर्न सक्दैन । त्यसको अस्तित्व स्वीकार गर्नु, र त्यसको व्यवस्थापनका लागि स्वस्थ वातावरण निर्माण गर्दिनु सभ्य समाजको दायित्व हो । होइन र ?

000

https://sahityapost.com बाट साभार 

Friday, December 13, 2024

ताराकान्त सर ! मुक्तिनाथ साँच्चै टाढा छ - मातृका पोखरेल

सोचिरहेको छु, प्रा.डा. ताराकान्त पाण्डेयको  बारेमा लेख्न कहाँबाट सुरू गरौं ? केही घटनाहरू जुलुशजस्तै बनेर एकाएक अघिल्तिर आउँछन् । दिनहरू बित्दै छन् । उहाँसँगको पहिलो भेटको सम्झना गर्न खोज्छु । तर यही बेलामा भएको थियो पहिलो भेट भनेर ठम्याउन सक्दिन । प्रतिभा - प्रवाहका आरम्भका दिनहरूमा फर्किन्छु । उहाँ उद्घोषण गरिरहनु भएको, कविता सुनाइरहनु भएको , समीक्षा गरिरहनु भएको पातलो शरीरको झझल्को आइरहन्छ । त्यो भन्दा पहिले पनि उहाँलाई भेटेजस्तो लाग्छ ।  उहाँको ढल्कोपाखाको कोठाको याद खुबै आउँछ । एउटै सानो कोठामा बसेको परिवार ।  उहाँकी छोरी तितिक्षा सानी थिइन् । शिलाजी तीनताक सक्रिय कवि हुनुहुन्थ्यो । त्यही सानो कोठामा स्टोभमा चिया पकाएर खाएको घुर्मैलो सम्झना छ ।  पक्कै नजिकको सम्बन्ध भएपछि मात्र नियमित कोठामा गइन्छ । त्यसैले ढल्कोपाखाको भेट पनि पहिलो होइन जस्तो लाग्छ । जे होस् , उहाँसँगको भेट पञ्चायतको समयमैं अर्थात ०४४ / ४५  सालतिरै भएको थियो । त्यसपछि उहाँको निधन नहुन्जेल कहिले पातलो र कहिले बाक्लो सम्बन्धले हामी एक-आपसमा नजिक भयौं । 

ताराकान्त पाण्डेय र मेरा बिचमा कहिले नजिकजस्तो कहिले टाढाकोजस्तो एकप्रकारको  सम्बन्ध रह्यो । त्यस्तो सम्बन्ध हुनुको पछाडि नेपालका कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूमा हुर्किने  गरेको मनोवैज्ञानिक प्रभाव थियो । जुन प्रभाव हाम्रा वरिपरि निरन्तर नचिरहन्थ्यो र अहिले पनि नाचिरहेकै छ । त्यही प्रभावमा थियौं हामी । वामपन्थी आन्दोलनका हामी कार्यकर्ताहरूलाई नजिक वा टाढा बन्न र बनाउन हाम्रो स्वभाव अनि व्यवहारमात्र जिम्मेवार हुँदैनथ्यो । म संलग्न पार्टी नेतृत्वले ताराकान्त सर संलग्न पार्टीसँग कस्तो व्यवहार देखाउँछ , हाम्रो नजिक टाढाको सम्बध त्यसैले निर्धारण गरिदिन्थ्यो । हामी हाम्रो दिमाग खियाएर नजिक वा टाढाको कस्तो सम्बन्ध बनाउने भन्ने कुरामा कमै प्रयत्नशील हुन्छौं भन्ने मेरो बुझाइ छ । कहिलेकाहीँ हामी हाम्रो वामपन्थी आन्दोलनले हुर्काएको त्यही मनोवैज्ञानिक प्रभावको सिकार हुन्थ्यौं । यही मनोवैज्ञानिक प्रभावबाट सिर्जित एउटा घटना म बारम्बार सम्झिरहन्छु । वि.सं. २०४७ सालमा नेकपा (चौम) , नेकपा (मशाल) र सर्वहारावादी श्रमिक संगठनको बीचमा एकता भएर नेकपा (एकता केन्द्र ) को निर्माण भयो । ताराकान्त पाण्डेय नेकपा (मशाल) को कार्यकर्ताको रूपमा र म नेकपा (चौम) को कार्यकर्ता भएर एकताकेन्द्रमा जोडिन आइपुग्यौं । एकताकेन्द्र बनेपछि धेरै जनवर्गीय संगठनहरूको एकता भइसकेको थियो तर नेकपा (चौम) समार्थित इन्द्रेणी सांस्कृतिक समाज र नेकपा (मशाल) समर्थित अखिल नेपाल जनसांस्कतिक सङ्घका बिचमा एकता हुन सकेन । पार्टी नेताहरूले एकता गराउन ठुलै प्रयत्न गरेको हामी बुझ्थ्यौं । तर पनि एकता हुन सकेन । इसासको मूल नेतृत्व पारिजात दिदी र रायन दाइले गर्नुभएको थियो । रायन दाइ एकताको विपक्षमा मुखर रूपले प्रस्तुत हुनुभएको थियो भने पारिजात दिदीको चाहना पनि यी दुई संगठनको बिचमा एकता नहोस् भन्ने थियो अरे भनेर  भित्रभित्र गाईंगुईं सुनिन्थ्यो । तर रायन दाइको जसरी पारिजात दिदीको मुखर धारणा कतै प्रकट भएन । यसैबिचमा अखिल नेपाल जनसांस्कृतिक सङ्घले २०४८ सालमा कीर्तिपुरमा एउटा राष्ट्रिय भेलाको आयोजना  गऱ्यो । कविद्वय कृष्ण सेन र आहुतिसँगको विशेष निकटताको कारणले मलाई पनि अखिल नेपाल जनसांस्कृतिक सङ्घको राष्ट्रिय भेलामा जान भनियो । इन्द्रेणी सांस्कृतिक समाजसँग आबद्ध अन्य कसैलाई पनि उक्त राष्ट्रिय भेलामा बोलाइएको थिएन । भेला हुनुभन्दा एकदिन अघि कृष्ण सेन र आहुति मेरो कोठामा आउनुभएको थियो । तपाईंले भेलामा प्रतिनिधि बन्न जरूरी छ भन्नुभयो । शायद , मलाई भेलामा उपस्थित गराउन आहुतिजीले कृष्ण सेनलाई  प्रेरित गर्नुभएको हुनसक्छ । त्यसरात उहाँहरू दुवै मेरै कोठामा बस्नुभयो । हामीले रातभर छलफल गऱ्यौं । दुवै सांस्कृतिक संगठनको एकता गर्नुपर्छ भनेर एउटै बिचार प्रकट गऱ्यौं । म इन्द्रेणी सांस्कृतिक समाजको सामान्य कार्यकर्ता मात्र थिएँ । भोलिपल्ट सेनजी र आहुतिजीसँगै  म पनि कीर्तिपुर गएँ । भेलास्थलमा पुगे पछि मेरो उपस्थितिलाई लिएर केही साथीहरुले मूलत : कृष्ण सेनसँग असन्तुष्टि प्रकट गर्नुभयो । त्यो असन्तुष्टि प्रकट गर्नेमा ताराकान्त पाण्डेय पनि हुनुहुन्थ्यो । विचार र व्यवहारमा त्यति फराकिलो सोच भएको उहाँजस्तो मान्छेले कसरी त्यो ढङ्गले सोच्नुभयो भनेर म भित्र अहिलेसम्म प्रश्न उठिरह्यो । हामीलाई हाम्रो आन्दोलनले यसैगरी हुर्किन प्रेरित गऱ्यो । जसलाई हामीले चिर्न सकेनौं र खोजेनौं पनि । हाम्रो सम्बन्धमा बेलाबेलामा यो प्रभावले प्रसस्तै भूमिका खेल्यो । हामीले पनि त्यसलाई भत्काउन सकेनौं ।

२०५६ सालतिरैको कुरा हो । सहयात्री त्रैमासिक पत्रिकाले म लगायत आठ नौ जना त्यसबेला कविता लेख्ने  साथीहरुसँग कविताबारे एउटा अभिमत लिएको थियो । त्यो अभिमतमा मैंले नेपाली कवितामा तीनवटा प्रवृत्ति रहेको कुरा औंल्याएको थिएँ । त्यसमध्ये एउटा यथास्थितिवादी धारा , अर्को क्रान्तिकारी धारा र अर्को जडसूत्रवादी धारा भनेर मैले समकालीन नेपाली कविताका प्रवृत्तिहरूलाई औंल्याएको थिएँ । मैले त्यो अभिमतमा  "मोटामोटी रूपमा जडसूत्रवादी प्रवृत्तिले  क्रान्तिकारी भावनालाई नै मुखरित गर्छ। तर पनि नेपालको प्रगतिवादी कविता लेखनमा यो केही फरक विशेषताका साथ देखा परेको छ। यो प्रवृत्तिले कलालाई राजनीतिको प्रचार प्रसार गर्ने साधनको रूपमा मात्र स्वीकार्छ। यो प्रवृत्तिले कवितामा यथार्थलाई बढाइ चढाई प्रस्तुत गर्ने र वस्तुगत यथार्थलाई वेवास्ता गर्ने गरेको छ ।" भनेको थिएँ र यतिमात्र भनेको थिएँ । मैले माओवादी आन्दोलन र त्यो आन्दोलनका स्रष्टाहरुको कतै उल्लेख गरेको थिइनँ ।   तर ''क्रान्तिप्रतिको निष्ठालाई जडसूत्र भन्न पाइँदैन'' भनेर उहाँले मेरो भनाइको त्यसबेला खुबै प्रतिरोध गर्नुभयो र आफ्ना कृतिहरूमार्फत यो विचारलाई सार्वजनिक गर्नुभयो । मेरो यो सामान्य धारणाप्रति आफ्नो ठाउँबाट उहाँले निकै प्रतिरोध गर्नुभयो । त्यसरी प्रतिरोध गर्नुको पछाडि उहाँभित्र सांगठनिक प्रतिबद्धताले काम गरेको हुनुपर्छ । नत्र त्यो प्रवृत्ति नेपाली प्रगतिवादी साहित्यमा नभएको होइन । कुनै न कुनै रूपमा अहिले पनि छँदै छ ।  तर त्यसबेलाको माओवादी जनयुद्धलाई हेर्ने दृष्टिकोणमा यो भनाइले नकारात्मकता पैदा गर्न सक्छ भन्ने उहाँलाई लागेरै खण्डन गर्नुभएको थियो । यसले संगठनात्मक प्रतिबद्धताप्रति उहाँको सचेतनता प्रकट हुन्छ ।

प्रा.डा. ताराकान्त पाण्डेय नीजि फाइदाका लागि आफ्नो वैचारिक मूल्यलाई दाउमा नराख्ने स्वाभिमानी व्यक्तित्व हुनुहुन्थ्यो । मानिसहरूले व्यक्तिगत फाइदाका लागि विचार परिवर्तन गरेका, पार्टी परिवर्तन गरेका  कैयौं दृष्टान्तहरू हाम्रा अघिल्तिर छन् । मूलत : यो समस्या वामपन्थी पार्टीहरूका कार्यकर्तामा सबैभन्दा बढी देखिने गर्छ । एउटा नियुक्ति र अवसर प्राप्त हुने भयो भने विचार र पार्टी छोड्ने वा परिवर्तन गर्ने उदाहरणहरु हाम्रो आन्दोलनमा मनग्ये भेटिने गर्छ । यो संदर्भमा प्रा.डा. ताराकान्त पाण्डेयलाई फरक र उच्चस्थानमा राखेर मूल्याङ्कन गर्नु पर्छ भन्ने मलाई लाग्छ । उहाँले चाहेको भए उहाँका अघिल्तिर थुप्रै अवसरहरू थिए । आफू हिंडिरहेको बाटोको कुइनेटोलाई अलिकति मात्र मोड्नु भएको भए उहाँलाई प्रज्ञा प्रतिष्ठानका ठुलठुला पदहरू स्वागत गर्न तयार थिए । उहाँका अघिल्तिर थुप्रै सम्भावना र अवसरहरू अरू पनि प्रसस्तै थिए । उहाँले कतै तिर पनि आँखा लगाउनु भएन । प्रा. डा. ताराकान्त पाण्डेयलाई यहाँनेर बाट यतिबेला हामीले मूल्याङ्कन गऱ्यौं  भने उहाँसँग सहकार्य गरेका साथीहरूको भीडमा उहाँको वास्तविक व्यक्तित्व र उचाइ  देखापर्छ । उहाँ विचारप्रति प्रतिबद्ध हुनुहुन्थ्यो भन्ने यो एउटा सानो  उदाहरण मात्र हो । नैतिक मूल्यका दृष्टिले समकालीनहरूको भीडमा उहाँको व्यक्तित्व वास्तवमैं अग्लो थियो ।

प्रा.डा. ताराकान्त पाण्डेय स्वास्थलाई अत्यन्तै ख्याल गर्नुहुन्थ्यो । अतिततिर  फर्किएर उहाँलाई सम्झँदा ०५० / ५१ सालतिर मास्क लगाएर कलंकीको बाटो हिंडेको झल्झल्ती याद आउँछ । त्यसबेला हाम्रो बिचमा मास्क लगाउने चलन चलेकै थिएन । माक्स लगाएर हिंडेकोमा हामी उहाँलाई जिस्क्याउँथ्यौं । उहाँ हाँसेर टार्नुहुन्थ्यो । स्वास्थलाई ख्याल गरेको उहाँको अर्को घटना पनि म यतिबेला सम्झिरहेको छु । हामी एकपटक प्रगतिशील लेखक सङ्घको आयोजनामा दाङको घोराहीमा हुने कार्यक्रममा भाग लिन काठमाण्डौबाट निनु चापागाईँ, रूद्र खरेल, कृष्ण सेन 'इच्छुक', ईश्वरचन्द्र ज्ञवाली, ताराकान्त पाण्डेय र म गएका थियौं । साझा बसमा गरिएको त्यो यात्राले हाम्रा बिचमा केही रोचक स्मृतिहरु छाडेको छ । भालुवाङ नपुग्दै कालाकाटे भन्ने ठाउँ पुगेपछि कृष्ण सेन इच्छुकले त्यहाँको ऐतिहासिकताबारे बताउनुभयो । इच्छुकको इतिहाससम्बन्धी गहिरो रूची रहेछ । भारतमा भएको सिपाहीँ विद्रोह पछि बिद्रोहमा सामेल सिपाहीँहरुलाई हत्या गरिएको हुनाले त्यो स्थानको नाम कालाकाटे रहेछ । त्यहाँ पुग्दा खाजा खाने समय भइसकेको थियो । ताराकान्त सर केही खाउँ भनेर जोड गर्दै हुनुहुन्थ्यो । तर कृष्ण सेनले म तपाईंहरुलाई लमहीमा विशेष कुरा ख्वाउँछु भन्नुभएपछि हामी सबै त्यही विशेष कुरा खान लमही पुग्न तयार भयौं । 'लमहीको विशेष कुरा मलाई थाहा छ । म चाहिँ खान्न ।' भन्दै तारा सरले एउटा ग्लुकोज बिस्कुट किनेर झोलामा बोक्नुभएको मलाई याद छ । लमहीमा  ठुलो फलामको तावामा राखेर चटपटे बनाइँदो रहेछ । सेनजीले त्यसैलाई विशेष कुरा भन्नुभएको रहेछ । त्यो चटपटे निकै स्वादिलो थियो । हामीले थपीथपी खायौं ।  त्यो चटपटे बनाउँदा आगोमा राखिएको ठुलो तावामा चटपटेको कच्चा पदार्थ हालेर फलामको सानो हाते वस्तुले हिर्काउँदा  एउटा आवाज निस्कँदो रहेछ । रूद्र खरेल सरले त्यसलाई 'संगीतात्मक चटपटे' भनेर नाम राख्नुभयो । हामीले त्यो चटपटे खाइरहँदा तारा सर छेउमा उभिएर बिस्कुट खाइरहनु भयो । उहाँले त्यो  'संगीतात्मक चटपटे' खानुभएन । घोराही पुग्ने वित्तिकै हामी सबैजसो क्रमश : विरामी पर्न थाल्यौं । काठमाण्डु फर्क्युन्जेलसम्म हाम्रो स्वास्थ ठिक भएन । फर्किंदा लमही आएपछि ताराकान्त सर हामीलाई जिस्क्याउँदै हुनुहुन्थ्यो - ' फेरि 'संगीतात्मक चटपटे' नखाने ? स्वास्थमा उहाँ कति सचेत हुनुहुन्थ्यो भन्ने मैले एउटा घटनामात्र यहाँ प्रस्तुत गरेको हुँ ।

आखिर संयोगहरू पनि कस्ता आश्चर्य लाग्ने ? त्यही ठाउँ नजिकै भालुवाङमा उहाँको दुर्घटनामा निधन हुन पुग्यो ।

प्रा.डा. ताराकान्त पाण्डेयलाई उहाँको निधन पछि समालोचकका रूपमा र अझ भन्ने हो भने मात्र समालोचकका रूपमा चर्चा गरियो । त्यो पूर्ण सत्य थिएन । समालोचक बाहेक नेपाली कविताको क्षेत्रमा पनि उहाँको अत्यन्तै महत्वपूर्ण योगदान छ । सिर्जनाको यो पाटोलाई उहाँको कर्मबाट बाहिर राखेर मूल्याङ्कन गरिनु हुँदैन भन्ने मलाई लाग्छ । चालीसको दशकमा उहाँ समकालीन कवितामा प्रतिनिधि कवि हुनुहुन्थ्यो । 

हाम्रो बीचको उमेर झण्डै आधादशक जसो फरक थियो । अर्थात् उहाँ म भन्दा उमेरले अग्रज नै हुनुहुन्थ्यो । संगठन र सिर्जनामा पनि उहाँ अग्रज नै हुनुहुन्थ्यो । तर हामीले समकालीन जस्तै भएर काम गऱ्यौं ।

भालुवाङमा उहाँको निधन भएको समाचार जव एकाविहानै सुन्नेवित्तिकै फेसबुकमा एउटा टिप्पणि लेखेको थिएँ । उहाँको निधन विचारधारात्मक निर्मितिका लागि अपूरणीय क्षति हो । मेटिन निकै गाह्रो पर्ने साँच्चैको अपूरणीय । उहाँको निधनलाई  मैले अपूरणीय भन्नुको एउटा कारण थियो ।  गैरप्रगतिवादी शिविरमा प्रगतिवादी शिविरभित्रबाट लेखिएका समालोचनाहरू मध्ये रुचीका साथ समालोचक गोविन्द भट्ट पढिनुहुन्थ्यो । त्यो स्थान त्यसपछि ताराकान्त पाण्डेयले लिनुभएको थियो । उहाँका समालोचनाहरू विचार र कलात्मक लेखनका सुन्दर संयोजन थिए । त्यसैले मानिसहरू उहाँका समालोचनाहरू रूचीकासाथ पढ्थे । त्यहीकारण पनि मलाई उहाँको निधन विचारधारात्मक निर्मितिका लागि अपूरणीय क्षति हो भन्ने लागेको थियो । 

प्रा.डा. ताराकान्त पाण्डेयको चालीसको दशकमा प्रकाशित एउटा कवितांश राखेर उहाँलाई पुन : श्रद्धाञ्जलि अर्पण गर्दछु ।

सँगै हिंडिरहेका एक हुल यात्रीहरू
अहिले यात्रा रोकिरहेछन् 
अगाडि मुक्तिनाथ झैं लाग्ने 
कुनै पहाडको काखमा 
एउटा कुण्ड देखिएको छ 
उनीहरू त्यसैलाई मुक्तिनाथ भनिरहेछन् 
आफ्नो महान् यात्रा रोकिरहेछन् ।

मित्रहरू ! 
म कसरी भनूँ सहयात्रीहरूलाई 
यो मुक्तिनाथ हुँदै होइन 
मुक्तिनाथ आएकै छैन, 
मुक्तिनाथ पुग्ने यात्रीहरू ! 
किन रोक्ने हाम्रो महान् यात्रा ! 
लम्कनु पर्छ फेरि उकालो 
मुक्तिनाथ धेरै-धेरै माथि छ 
भ्रम र जालका यी थुम्का र डाँडाहरूदेखि धेरै-धेरै उँचाइमा छ । 

  - यात्रा नरोकौ /ताराकान्त पाण्डेय

कवि पाण्डेयले आफूले लेखेको कविता जस्तै जीवन बाँच्नुभयो । थकाइ मार्ने कुराप्रति पनि उहाँ कहिल्यै  सहमत हुनुभएन । सहयात्रीहरुको यात्रा रोक्ने योजनाप्रति उहाँले बारम्बार खबरदारी गरिरहनु भयो । 

000