Sunday, December 28, 2025

वर्गसंघर्षको विश्वविद्यालयमा ३ वर्ष’ परिचर्चा तथा लोकार्पण सम्पन्न

 



जनयुद्धकालीन जेल जीवनका संघर्ष र पीडाको सजीव दस्तावेज सार्वजनिक

जनयुद्धकालीन संघर्ष र जेल जीवनका अनुभवलाई समेटिएको कृति ‘वर्गसंघर्षको विश्वविद्यालयमा ३ वर्ष’ को परिचर्चा तथा लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। जनप्रचार तथा प्रकाशन प्रा.लि.को आयोजनामा सम्पन्न कार्यक्रम २०८२ पुष १२ गते घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठान, काठमाडौंमा सम्पन्न भएको हो । कार्यक्रमको व्यवस्थापन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जिल्ला समिति भक्तपुरले गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव कमरेड विप्लव सी रहनुभएको थियो। कार्यक्रममा अतिथि वक्ताका रूपमा राम कार्की, मातृका पोखरेल, लेखनाथ न्यौपाने अनिल शर्मा (विरही) ले आफ्ना धारणाहरू  राख्नुभएको थियो।

लेखक कृष्णहरि सैंजुकृत लिखित उक्त कृति जनयुद्धकालीन जेल जीवनमा आधारित डायरीबाट तयार गरिएको हो। पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा घाइते भई गिरफ्तार पर्नुभएका लेखकको भर्खरै विवाह भएको श्रीमतीसँगको बिछोड, तीन महिनाकी छोरी र किशोर युवा कृष्णहरिको तीन वर्षको जेल जीवनसँग जोडिएका संघर्ष, पीडा र भावनालाई पुस्तकले मार्मिक ढंगले चित्रण गरेको छ।

कृतिमा जेलभित्र लेखिएका डायरी, कविता तथा अन्य सामग्री समेटिएको छ। क्रान्तिका लागि होमिएको एक सिपाहीले परिवारको दुःख–पीडा भुलेर पार्टी र क्रान्तिको निम्ति कसरी आफ्नो जीवनको परवाह नगरी अगाडि बढ्छ भन्ने उदाहरणका रूपमा पुस्तकलाई लिइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महासचिव विप्लव सीले लेखक कृष्णहरि सैंजुलाई धन्यवाद दिँदै पुस्तकले जनयुद्धका दिनहरूको स्मरण गराएको अनुभूति व्यक्त गर्नुभयो। उहाँले यो कृति एक वास्तविक योद्धाको अनुभवमा आधारित भएकाले सबैले पढ्नुपर्ने उल्लेख गर्नुभयो। साथै जनयुद्ध तथा एकीकृत जनक्रान्तिमा सहभागी सबै कमरेडहरूले पनि आफ्ना डायरी वा कृतिहरू लेख्नुपर्ने सुझाव दिनुभयो।

महासचिव विप्लव सीले पार्टीको धारणा राख्दै जेन–जी आन्दोलनपछि बनेको सुशिला कार्कीको सरकारलाई विदेशी कठपुतलीको सरकारको संज्ञा दिँदै त्यसको विघटन गरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्नुभयो। उहाँले पार्टीले सञ्चालन गरेको जनकम्युनमा सरकारले प्रहरी र सेना पठाएर छापा मारेकोप्रति कडा आपत्ति जनाउनुभयो ।

सरकार चुनाव गराउनेभन्दा पनि देशलाई द्वन्द्वतर्फ धकेल्ने दिशामा अघि बढिरहेको जिकिर गर्दै विभिन्न बहाना बनाएर जनताको घरघरमा प्रहरी पठाएर छापा नमार्न सुझाव दिनुभयो। यस्तो गतिविधि दोहोरिए त्यसको परिणाम राम्रो नहुने चेतावनीसमेत दिनुभयो।

कार्यक्रममा अतिथि वक्ता तथा नेता राम कार्कीले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेकोले हामी गम्भीर बन्न जरुरी रहेको धारणा राख्नुभयो । अर्का अतिथि वक्ता साहित्यकार मातृका पोखरेलले माओवादी जनयुद्धले नयाँ संस्कृतिको निर्माण गर्न नसकेको धारणा राख्नुभयो । अतिथि वक्ता एवम् पूर्व विद्यार्थी नेता लेखनाथ नेउपानेले पुस्तक माओवादी जनयुद्धको महत्वपूर्ण अभिलेख रहेको विचार राख्नुभयो । माओवादी नेता अनिल सीले पुस्तकमा समेटिएका महत्वपूर्ण फौजी कारवाही आफ्नै नेतृत्वमा भएको भन्नुहुँदै लेखक जिम्मेवार र प्रतिबद्ध कार्यकर्ता हुनुहुन्थ्यो भन्नुभयो । सम्पूर्ण अतिथि वक्ताहरूले  कृतिको प्रशंसा गर्दै लेखकलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँहरूले पुस्तक जनयुद्धका सिपाहीको जेल जीवनको डायरी भएको उल्लेख गर्दै जेल परेका योद्धाहरूले आफ्नो जीवन कसरी संघर्षमा बिताउँछन् भन्ने यथार्थलाई कृतिले स्पष्ट रूपमा उजागर गरेको धारणा राख्नुभयो।

कार्यक्रमले जनयुद्धकालीन इतिहास, संघर्ष र बलिदानलाई नयाँ पुस्तासम्म पुर्‍याउने महत्वपूर्ण योगदान दिएको सहभागीहरूको भनाइ थियो ।

००० 














No comments:

Post a Comment